कथा: हिसाबै छैन

उद्घोषकले भनि रहेका थिए – यी नानीहरुको बाबालाई बलजफत पग्रियो || बाबाले छोरीहरुलाई फोन गर्दा गर्दैको अवस्थामा लगिएको थियो | उहाँले फोनमा छोरीहरुलाई राम्रो झोला र जाली चप्पल ल्याइ दिने भन्नु भएको थियो रे | छोरीहरुको मनमा यो आवाज अहिले पनि गुन्जि रहेको होला | दिदीले बाटोमा खानको लागि गुणपाप्री राखि दिनु भएको रहेछ | तर त्यो पनि खानु भएको रहेनछ | सायद छोरीहरु बिना खान रुचेन होला | उहाँले छोरीहरुलाई डक्टर पढाउने भन्नु हुन्थ्यो रे | सपना वीचैमा भत्कियो | बिना कसुर होटलमा पस्केको खाना समेत खान दिइएन —-आदि|

विद्यार्थीहरु सिमसिम पानीमा भिच्दै लाइनमा उभिएका थिए | आफ्ना साथीहरु रोएको देखेर केहि छात्राहरु सुक्क सुक्क गर्दै आँसु खसालि रहेका थिए | पि टि शिक्षक हातको लौरो देखाउदै भनिरहेका थिए – चुप लाग ! के को सुक सुक | ध्यान दिएर सुन | तिमीहरुलाई रुन कसले भन्यो ?
कक्षा छ र सातमा पढने रोशनी,चमेली र तिनीहरुकी आमा देउकलीलाई सानो मन्चको छेउमा उभाइएको थियो | तीनै जनाको आँखाबाट आँसु झरि रहेको थियो | देउकलीका खुट्ठा र कपडा मा पनि हिलो पोतिएको देखिन्थ्यो |

एउटा गैर सरकारी विकासे संस्था र महिला विकास कार्यालयको आयोजनामा त्यो समारोह विद्यालयमा भएको थियो | ती छोरीहरुका बुबालाई व्दन्दकालमा सेनाबाट पक्राउ गरिएको थियो | पछि उनको नाम लापत्ताको सुचिमा चडेको थियो | पिडितमा परेका छोरीहरुलाई शैक्षिक सामाग्रि र नगद प्रदान गर्न त्यो कार्यक्रम भएको थियो | सभाध्यक्षले सभा विसर्जन गर्नु अघि भाषणकै क्रममा आमा र छोरीहरुलाई त्यो सहयोग संयुक्त रुपमा हस्तान्तरण गर्ने तालिका थियो |

सभाध्यक्षले उठेर मन्तव्य राखे – हाम्रो कार्यक्रम सफल भएको छ | हामीले पारदर्शी रुपमा सरोकार सबैको सामुन्नेमा सहयोग वितरण गर्न पाउदा खुसी लागेको छ | उहाँका श्रीमान् अहिलेसम्म बाँचे मरेको थाहा छैन | उहाँलाई कति पीडा भैरहेको होला | हामीले अनुमान मात्र गर्न सक्दछौ | अनुभुति गर्नेलाई यसको गहिराई थाहा हुन्छ | दशैमा नाना चाचा लिन गएका घरको मुल मानिस वर्षौ नफर्कदा यो परिवारको हरेक दशै आँसुको झरिमा गुज्रि रहेको छ | —–आदि | टिकादेवीका बाँकी रहेका आँसु पनि अध्यक्षको भावुक भाषण सुनेर सबै पोखिए |

छोरी र आमाले एकैसाथ छवटा हात थापे | ठूलो क्यामराबाट घुमा घुमाइ भिडियो खिचियो | धेरैका आँखा रसाए | कार्यक्रम समापन गरियो | प्रधानाध्यापकले दाताहरुको टोलीलाई सम्मान गरि बाटोसम्म पु-याउन हिडे | सबै विद्यार्थीलाई आ-आफ्नो कक्षामा पठाइयो | सबै शिक्षक स्टाफ कोठामा पसे | टिकादेवी पनि दुईवटा सानो झोला हातमा झुण्डाएर त्यही कोठामा पसिन् |

‘ठूली छोरीलाई आज विदा दिनुहोस | आमा छोरी भएर आजको मेलो पु-याउनु प-यो |’टिकादेवीले भनिन् ।कक्षा सातका कक्षा शिक्षक उमेशले भने – विदा त दिउँला | दिदी हेर्नुहोस त पैसा र सामाग्रि कति छ ? मैले पनि दुई वर्ष एउटा प्रोजेक्टमा काम गरेको हुँ | रुप ठूलो सार सानो यसको विशेषता हुन्छ | टिकादेवीले झोला खोलिन् । उनले झोलामा चारवटा कपि र सानो जोमेट्रि बक्स र एउटा पहेलो लिफाफा झिकिन् | लिफाफमा ठोकेको पिन उक्काइन् ।त्याहाँ पाँच सयको एउटा नोठ थियो | त्यसपछि उनले झोला उल्टो पारि टकटकाइन् | झोलाबाट केहि झरेन |

एक जना शिक्षकले भने – यी सामानको लागि आते जाते,गाडि भाडा,टि ए डि ए,नास्ता पानी,भत्ता सत्ता गर्दा कम्तिमा पनि एक लाख खर्च भए होला हगि | उमेश सरले भने – कम्तिमा , अझै एक झोला फारम भरि विभिन्न ठाउँमा रिपोर्ट गर्न कर्मचारीलाई एक हप्ताको समय लाग्दछ होला | एक जना महिला शिक्षकले भनिन् – गाह्रो नमान्नु होला अन्टी | हजुरलाई पनि स्कूलले बोलाएर खाटा बसेको घाउ बल्झाए जस्तो भयो | उनी भन्दै गइन् – बाह्रवटा कक्षाको तीन तियाँ गर्दा छत्तीस पिरियडको पढाइ, तीन सय जना घाममा उभिएको क्षतिपूर्ति र बगेको आँसुको त हिसाबै छैन | त्यसपछि सबैले एक अर्कोको मुखमा केहि क्षण हेराहेर गरिरहे |