नहराएको टिपनको खोजीमा

आस्थाका आँखाहरू धमिला भएपछि
इतिहासलाई निचोरेको थिगार बोकी
एउटा लाम हिँडिरहेको छ
समाप्तिको आशामा
एउटा अनन्त यात्रा
हराउँदै नहराएको आफ्नो अस्तित्वको
टिपन खोज्दै
अस्पतालमा प्रसव वेदनामा छ्टपटाइरहेकी आमा
छोरा-छोरीको भविष्य कति छ सुरक्षित
प्रतियोगिताको होडमा कति जोड दिन सके मात्र टिक्न सक्छ उनीहरूको नाउँ?
यी सबै प्रश्नहरू अर्थहीन भएझैँ अनुभव हुन्छ
हराउँदै नहराएको
टिपनको अस्तित्व खोज्नु परेकोमा
आफ्नै चिनाको स्वीकृतिको माग
राख्नु परेकोमा
घरअघिको वेकाबु खोलाको भत्किएको पुल
पुन:निर्माणका सपनाहरू
प्रगतिका सोपानहरू
जीवन जिउने आधुनिक उपकरणहरूका अघि
हराउँदै नहराएको
टिपनको अस्तित्व खोज्नु परिरहेको छ
जीवनका अमूल्य क्षणहरू
बेकाम खर्चिनु परिरहेछ
टिपन हराउनु भावनात्मक कुरा हो
कि यथार्थ हो
अथवा दुवै?
नहराएको टिपन खोज्नु यो हुलको मुख्य मुद्दा हो वर्तमान
भविष्यका सबै सगुनहरूको रूपरेखा त्यही टिपनमा छ
टिपन नभए आउँदैन उसको घरको खाँबो गाड्ने साइत
पेटले घोषणा गर्न भ्याउँदैन भोकको आगमनको समाचार
अब कति जुनी बिताउनु पर्छ यो टिपन खोज्ने हुलले?
कहिलेकाहीँ टिपन खोज्न हिँडेको हुल
कसैको आक्रमणको लक्ष्य बनिदिन्छ
आँसुको ब्रह्मपुत्र बगाउँदै
अघि बढ्छ हुल्
अन्य कतै फेरि उसैका सहोदरलाई
कसैले दिगभ्रमित पारिदिन्छ
सडक छोडेर बधशालाको बाटो लाग्छ
सोत्राम मर्छन् सहयात्रीहरू
गाउँ गाउँ सल्किन्छन्
बस्तीका बस्ती उजाड हुन्छ्न्
तिस्टामा कन्चन पानी बग्दैन
तर पनि,
केही परवाह नगरी
हुल टिपनकै अस्तित्वको तलासमा जुटिरहन्छ
हिँडिरहन्छ
विश्रामको निम्ति
विश्रामहीनताकै यात्रा गरिरहनु परेको छ
मुटुभित्र ज्वालामुखी
अनुद्ग्ररित लाभा बोकेर
हिँडेको छ हुल
‘यसरी हुँदैन’
पुन: मूल्याङ्कन गर्छ
इतिहासको ठेली पल्टाउँछ
तर,
टिपन पाउँदैन
पुरस्कार पाउँदैन
पाउँछ उस्तै लाञ्छना र तिरस्कार
कम्मर कस्दै
फेरि यात्रामा निस्कन्छ
कतिदिन दिगभ्रमित होला हुल
टिपनको डर देखाएर
कतिदिन सेक्ला राजनीतिले रोटी?
समयले पनि समय बदलिन्छ भन्ने कुरोलाई
कसरी विश्लेषण गरेको होला
समयमा समयले खोल्ला के सत्यता लुकाएको
पोको ?