खरसाङका कवि ऋषि राई र रचना अनाकारप्रति सादर समर्पित
फिलहाल म
अन्योल, शङ्का अविश्वास, धोकाका
अलङ्घ्य पर्खाल नाघ्ने
असफल प्रयासमा जुटेको छु
आफ्नो कर्तव्यबाट छुटेर
टाढा टाढा कतै
आफूलाई खोजिहिँडेको छु
मरिचिकाको पछि पछि
यहाँका कुनै ऐना पनि
समतल छैन
कुनै खोलाको पानी नधमिलिएको छैन
जहाँ आफ्नो अनुहार दुरुस्त देखियोस्
बाचा र भाकाहरू लिलाम बजारको सोकेसभित्र झुण्ड्याएर
क्रेताहरू खरिदेका छन् बिक्रेताले
क्रेताले खरिदेका छ्न् झोलाभरि धोकाहरू
डिस्पोजेबल!
सबै डिस्पोजेबल छ
आत्मीयता, सहृदयता, बाचा, आश्वासन
रङ्गीचङ्गी प्याकेटमा भराएर
धमाधम बेचिन्छ
पैसामा बेचिन्छ स्वाभिमान
पैसामा इजम
सहिदलाई विज्ञापनको पोस्टर बनाएर।
धन्न भए सहिद
धन्यवाद सहिद
मुद्दाहरू जिउँदै रहुन्
मानिस सहिद भइरहुन्
सहिदका चितामा रोटी सेकेर बाँचिरहोस् नेताको धुकधुकी
उनीहरूलाई थाहा छ –
हामी माटो मनपराउने मान्छे
माटाका लागि बाटो फोर्यौँ
पुल तोड्यौँ
स्कुल र कार्यालयहरूको दागबत्ती गर्यौँ
त्यतिमा पनि चित्त नबुझेर
भाइ भाइ लड्यौँ
मऱ्यौँ
अनि आफूबिच अंशबण्डा गर्यौँ
नाक हेरी भाग
जुँगा हेरी भाग
आँखा हेरी भाग
बाँदरलाई साक्षी राखेर
एक टुक्रा रोटी
मेरा सपनाहरूको खुल्ला बजारमा डाक भयो
भाउ देखेर मेरो हाँक भयो
रात गयो अग्राख पलायो
क्रान्तिका बिगुल फुक्ताफुक्तै
घाँटी सुक्तै गयो
अनि शत्रुको एक घुड्की राल चुसेर
सत्ताको मिठो बोलीमा लट्ठ परेर
इतिहासलाई गङ्गामा सेलाएर
बगेका हुलसँगै बग्यो
बाजेको दसी
त्यही त,
त्यही त भुल हो
तिम्रो एउटा शब्द नबिक्ने बजारमा
विश्वासको पसल फिँजाउनु
इतिहास दोहोर्याउनु बारम्बार
लिलाम बजारको सामग्री बनेर।




