आनन्दको भाग्यरेखा जन्मदै लिएर आउँछन् कि आउँदैनन् थाहा छैन,
तर पीडाका रेखा अनगिन्ती थपिन्छन् जन्मिएपछि ।
पीडाले कुटाइ कटाइ थिचाइ सबै सहन्छ निर्विकार।
जुत्ता चप्पलले छाला उक्काउनेगरि रगड्छन्
त्योपनि सहन्छ।
जसको जस्तो भाग्यमा छ त्यही बेहोर्नुपर्ने हुन्छ सायद,
तर रत्तिभर गुनासो छैन पीडालाई।
सुकेका बालुवा निचोरेर पानी निकाल्न जान्दछ ऊ,
ऊ बोल्छ पीडितसँग,
आनन्दको कुरा गर्छन्
अचानोले काटिदाँको आनन्द सुनाउँछ,
ओखलीले कुटिएको,
डोरमेटले रग्डिएको,
भोकले पोलेको,
माटो र बाटोले थिचाइको,
आँसुले पिरोलिएको,
अरू यस्तै थुप्रैले सुनाउँछन् ।
पीडाको कुरा कसैले गर्दैनन्।
कसैको शब्दकोषमा ‘ऐय्या’ शब्दनै छैन।
पीडामै आनन्द खोज्नुपनि त एउटा बौद्धिक सिद्धान्त हो।
पीडा प्रतिकमात्र हो।
ऊ छ र त आँसु छ,
ऊ छ र त प्रियको स्पर्श छ,
ऊ छ र त जेनो, प्लेटो र भन फ्रे चिनिए,
ऊ छ र त धन्वन्तरि थिए,
ऊ छ र त आनन्द छ अर्को पाटामा,
ऊ छ र त कथा कविताले रुवाउँछ।
सोचिहेर त पीडाबिना आनन्द अधुरो छैन र ?




