सिङ्गो मानव सभ्यतालाई हल्लाइदिने
जीवनका विशाल विशाल ज्वारभाटाहरू
टाढैबाट देख्न
आखाँहरूले कहिले लगाउने हुन्
विचार र विवेचनाको पारदर्शी चस्मा
अनि हिँड्ने हुन् नि:सङ्कोच
सारा सभ्यतालाई काँधमा भिरेर
युगौंदेखि
एकैठाउँमा उभिएर हेरिरहेको एेनाको
मुटु
शोकाकूल सारङ्गीको तारमा रेटिएको छ
उसले देखेकोछ
भद्रताको अभिनय गर्ने जिउँदा आखाँहरूका
रेटिनाहरू चरचरी चर्किएको
विकलाङ्ग बनेर
अध्यारो कोठामा मातेर लमतन्न सुतेको
चुहिरहेको
तरल आत्मीयता
आफैले बुनेको षडयन्त्रको शृङ्खलाबाट
यो कुनै रङ्गमञ्चको दृश्य होइन
रोगग्रस्त सभ्यताको जीर्ण शरीरको दृष्टि हो
आँखाहरू आँखा भइरहेका छैनन्
चस्माले बदलाइदिएको छ वस्तुको रङ
रङ्गीन ऐनामा प्रतिबिम्बित हुँदैछ उल्टो तस्बिर
सभ्यतालाई बौराउन कुन उपाचार गृहमा
तम्तयार हुने अखडा चलिरहेको छ?




