कागती कसरी हो ?
बीसको पाँच ओटा ।
माक्स लगाएकी थिइन्। कता कता बोली परिचित जस्तो लाग्यो । सोध्न सकिनँ । फेरि सोधेँ- “लिची पनी रहेछ ।” किलोको कति हो नि ? उनी हल्का मुस्कुराउँदै बोलिन्,” राख्नु न दाइ मिलाएर ।” किलोको एक सय चालीस दिनु न ।
छोरी ‘प्राप्ति मुस्कान’ सँगै थिइन् । बाबा इस्ट्रबेरी खान्छु । छोरीले लिचीलाई इस्ट्रबेरी भन्छिन् । साठी रुपैयाँको कागती र एक किलो लिची किनेँ । पैसा तिर्ने बित्तिकै छोरीले डोकोभित्र भएको खरबुजा देखिन् । “अन्ती खरबुजा खान्छु।” उनले डोको बोक्दै थिइन् । डोको बिसाएर ‘खरबुजा खान्छ्यौ ? यी लोऊ सानू । मामुलाई काटी-काटी गर्दिन भनेर खाऊ ल।
म बोल्न भ्याइसकेको थिइनँ । छोरी र उनले पहिला पनि भेट भएको जस्तो बातचित गरिरहेका थिए । म टोलाइरहेको रहेछु । छोरीको ‘बाबा खलबुजा’ भन्ने शब्दले झस्केँ । छोरीले खरबुजा लैजाने सुरसार गरेको देखेर … । जोख्नु न त बहिनी खरबुजा मैले भनेँ । उनले भनिन्- “पर्दैन दाइ।” छोरीलाई मेरो तर्फबाट । मैले फेरि भनेँ, “पैसा त लिनु न बहिनी । हजुरले पनि किनेर ल्याउनु भएको ।”
उनले आफूले लगाएको माक्स चिउँडोतिर तान्दै भनिन्- “दाइले मलाई चिन्नु भएन, नचिनीकन जाऊ भनेको छोरीको मायाले तान्यो । चिनि न मन लाग्यो । म अनिता………. दाइ।
“अनिता शब्दले फेरि झस्किएँ ।” दुई वर्षअगि सभागृह चोक अगाडि पार्किङ उठाउँदै गर्दा अनामिकासँग भेट भएको थियो । त्यतिबेला पार्किङ उठाउने काम गरेकी थिइन् । त्यसपछि फेरि भेट भएन । आज फेरि तरकारी बेच्दै गरेको अवस्थामा भेट भयो । अगिल्लो भेटमा भएका कुराहरू खोतल्न मन लागेन । खाटा बसेको बिगत कोट्याएर के काम ! मैले भनेँ “अनु हिँड कोठामा, चिया खाएर जाउली ।
उनले भनिन् – “भो दाइ ! कोरोना सहज भएपछि बस्ने गरेर आउँछु ।भाउजूसँग दिनभरि बसेर सुखदु:ख साट्न मन छ । अहिले भाउजू ब्यस्त पनि हुनुहुन्छ । भाउजुसँग अस्ति भिडियो कलमा कुरा भएको थियो । छोरीसँग बोल्दै । है प्राप्ति ! तिमी पनि बोलेको है मसँग ।
छोरीले सम्झेजस्तै गरेर “उम्..” भनिन् । म हेरेको हेर्यै भएँ । “ल दाइ ! म जान्छु । मेरो नम्बर भाउजूसँग छ, मागेर लिनुस् । कहिलेकाहीँ फोन गर्नु न है ।अचेल त वास्तै गर्नुहुन्न ।” म बोल्नै सकिनँ ।उनी सरासर बाटो लागिन् ।
कोठामा पुग्नेबित्तिकै फेरि छोरी बोलिन् – “बाबा ! मैले छोरीकै तोतेबोली शैलीमा हजुर भनेँ । फेरि छोरीले भनिन्- “मेरो अन्टी है ?”
मैले भनेँ- “उम् छोरी ! प्राप्तिको अन्टी है ?” फेरि छोरीले भनिन्- “बाबा ! मेरो अन्टी गुड…! म निःशब्द भएँ ।
दुई हप्ताअगि मात्रै गण्डकी प्रदेशका विनाविभागीय मन्त्रीले चिया पान कार्यक्रममा बोलाएको सम्झिएँ । उनैले जनयुद्धमा सङ्गठित गरेकी कमरेड अनामिका कहिले पार्किङ उठाउने, कहिले दोहोरी साँझमा गीत गाउने त कहिले डोकोमा तरकारी बेचेर आफ्नो गुजारा चलाएकी छन् । जनयुद्धमा कम्पनी कमाण्डरसम्म भएकी अनामिका अहिले नेपालको राजनीतिबाट धेरै टाढा छन् ।




