विभूति पार्कमा मदन भण्डारीको शालिक

पोखरा महानगर पालिकाले पोखरा १८ जामुनबोटमा बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्कमा जननेता मदन भण्डारीको पूर्ण कदको शालिक बनाइने भएको छ ।

मदन भण्डारी फाउन्डेसन कास्कीले मदन भण्डारीको सालिक र मदन वाटिका निर्माण गर्न लागेको हो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र फाउन्डेसन गण्डकी प्रदेश संयोजक भीम कार्कीले बुधबार औपचारिक समारो बीच शालिक शिलान्यास गरे ।

जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा फाउन्डेसनले सहिद पार्कका वृक्षरोपणसमेत गरेको छ । कार्यक्रममा विभिन्न जातका १ सय १ बिरुवा रोपिएको फाउन्डेसन कास्की अध्यक्ष माधव बास्तोलाले जानकारी दिए । फाउन्डेसनले गत वर्षसमेत विभिन्न जातका १ सय बिरुवा रोपेका थियो । मदन भण्डारी फाउन्डेसन केन्द्रीय कार्यालय र पोखरा महानगरपालिकाको सहकार्यमा फाउन्डेसनले पुस्तकालयसहित अति विशिष्ट कक्ष बनाउने योजनाअघि सारेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेयर जिसीले जननेता भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरे । पार्टीका केन्द्रीय सदस्य तथा फाउन्डेसन गण्डकी प्रदेश संयोजक कार्कीले जननेता भण्डारीको दर्शन, विचार र योगदानलाई जनतासमक्ष पु¥याउने उद्देश्यले स्थापना भएको फाउन्डेसनले जनस्तरमा वैचारिक प्रशिक्षण चलाएको बताए ।

फाउन्डेसन कास्की अध्यक्ष बास्तोलाले प्रतिष्ठानले १ वर्षे कार्ययोजना बनाएर रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए । समारोहमा पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष तथा पार्क व्यवस्थापन समिति अध्यक्ष रणबहादुर थापा र फाउन्डेसन कास्की महिला विभाग प्रमुख हिरा गिरीले नेपालको कम्युनिस्ट आन्दोलनमा जननेता भण्डारीको योगदानको चर्चा गरेका थिए ।