एउटा अलौकिक कुहिराको देशमा पुगेर
प्रव्रजित भएका चिन्ताहरू सँग रुमलिएर,
कहिले यता कहिले उता
भौँतारी रहन्छ
मान्छेले सीमान्तीकृत गरेको मान्छे।
निरुद्विग्न साधुजस्तै हिँड्छ
ऊ जस्तै देखिने मान्छेको जङ्गलमा।
आधा जिन्दगी आधा मृत अस्तित्व छ उसको।
चिसो बाफिलो हावामा स्वास फेर्छ ऊ
जिन्दगीलाई झुम्रा-थाङ्नामा बेर्छ
अर्धमृतलाई जिउँदैराख्न डस्टबिनमा टाउको डुबाउँछ।
सद्देले देखेको ऊ देख्दैन,
उसले देखेको सद्देले देख्दैन
अरूले उसमा विकृति देख्छन
ऊ आँफुमा रूप परिवर्तन भएको देख्छ।
चिरेर हेर त उसको निरुद्वेग हाँसो
निष्पाप देवाणु भेट्ने छौ।




