धारिला खुँडा र तरवार मात्रहुन्
जल्लादकाऔजार
त्यसैले
मेरा गाउँका जोशिला युवाहरु
कतै जल्लादमा नियुक्त नहुन भन्ने
कामना गर्न थालेको छु
मलाई डर लाग्न थाल्छ
किनकी मन र मस्तिष्कले जल्लादहरु
साङ्गलाले बाँधिएका
निम्छरा सत्य र तथ्यका
गर्धन मात्र देख्न थाल्छन, र
मात्र यौटाआदेश वाइसाराको पर्खाइमा
धारिला खुँडा र तरवार नचाइरहेका हुन्छन्
जल्लादहरु,हुनत–
यथार्थ र इतिहास जस्तै हुन्
जो कठोर र निर्मम हुने गर्छन्
तर फरक–
शासकहरु विवेकहीनभएर
तानाशाहबन्दै गर्दा
यथार्थ र इतिहास
निरीह चुपचाप बसिरहेका हुन्छन्, तर
जल्लादहरु सलबलाइरहेका हुन्छन्, र
धारिला हतियारहरु चम्किरहेका हुन्छन्
यथार्थ र इतिहास दुबैलाई थाहा छ
समयशासकको दास होइन र हुन सक्दैन पनि, तर
मूर्ख शासकहरु
पुरानो लाशजस्तो ह्वास्स गन्हाउनथालेको
आफ्नै स्थूल शरीर पनिविर्सने गर्छन्, र
समयआफ्नै मुट्ठीमा कैद भएको भ्रमपालेर
शासनको स्वर्णजडीत कुर्सीमा
हिराको चकटीभित्र मृत्युलाई थिचेर
सदाबाँचिरहने सपनामा
दिउँसै मस्त निदाइरहेका हुन्छन्
त्यसैले त
यथार्थ र इतिहास दुबै कठोर हुने गर्छन्
जबशासकहरु कमजोर हुन थाल्छन्
निर्मम जल्लाद, र
तिनले बोकेका धारिला हतियारहरु पनि
एकाएक कमजोर र भुत्ते देखिन थाल्छन्
अनि यथार्थका पाटाहरु खुल्नथाल्ने छन्
अनि इतिहासहरु लेखिन र पढिन थालिने छन्
जल्लादका नामहरु बिरलै लेखिन्छन् कथाहरुमा, तर
पशुजस्ता शासक
निकम्मा जनता, र
गतिहीन समाजका कथाहरु
चाखलाग्दा इतिहास बनेर पढिनेछन् र पढिइरहने छन्
किनकी
यथार्थ र इतिहास
जमेको पानी जस्तै
शान्त देखिन्छन्, तर
कठोर र निर्मम हुने गर्छन्
फेरी पनि बुझ्दैनन् शासकहरु
इतिहास पढेको छु भन्छन्, तर
सिक्दैनन् शासकहरु
त्यसैले त
ढल्छन् र ढलिरहनेछन् मूर्ख शासकहरु।।।
सम्झिइनेछ र सम्झनामा रहिरहनेछ
मूर्ख शासकले छियाछिया पारेका समयका डोवहरु, र
हाम्रो दूर्भाग्य
मूर्ख शासकले स्वर्ण समय भष्मपारेर छोडेको
काला अँगारले लेख्नु पर्ने विदीर्ण इतिहास ।




