“डिकुरो फुटि सक्यो, भेटी राख्न मिल्दैन | छोरीभेटीहरुको घिउ र चिनि हुन्थ्यो भने राख्न मिल्थ्यो | चामल मिलेन |” भेटी स्याहार्नेले भने | भेटी बुझाउन जुत्ता काडि ढोका नजिक लाइनमा उभिएका पाँच जना मध्ये एक जना निराश हुदै भने – हाम्ले त आज नौ दिन भएको होला भनेका थियौ | टाढाको यस्तै हुन्छ | अब यो भेटीलाई घर फर्काएर लैजान पनि भएन कोहि फाल्न पनि भएन | जाऔ, जे त होला |
पाँच जना टाढैबाट किरिया पुत्री भेटन आएका थिए | मर्ने मानिसंगको साइनो पनि टाढैको थियो | प्रत्येकले एक एक माना चामल, अदुवा र दुनामा दुई चम्चा जमेको घिउ पलास्टिकको झोलामा झुण्डाउदै लिएर गएका थिए | तिनीहरु त्यो घरदेखि तल दोबाटोमा आएर अल्लमल्ल मनस्थितिसाथ उभिएका थिए | एक जना बटुवाले तिनीहरुको अल्लमल्लपन देखेर भने – भेटी छोडने घर नभेट्टाए जस्तो छ | यो बाटो सीधै पर जानुहोस् | एउटा ठूलो रुख घर जनिक भएको बाटा मुनिको घर त हो आचार्य जिमवालको घर | मानिस जम्मा भएको देखि हालिन्छ भन्दै उनी आफ्नो बाटो लागे | तिनीहरुले आपसमा सल्लाह गरे – घरबाट हिडाएको भेटी बाटोमा फाल्यो भने पनि पिर्दछ भन्दछन् | त्यसैले जेसुकै होस त्यहीँ घरमा छोडौ | बाहुनै रहेछन् क्या रे | कसैले सोधे हजुर बाको पालाको चिनजान हो भनौला |
तिनीहरु भनेको बाटो लागे | पाँच मिनेट हिडे पछि बाटा मुनिको एउटा घरमा मानिस जम्मा भएको तथा पाल टाँगेको देखे | मरेको घर फेला पारेको ठानि तिनीहरु खुसी भए | जब तिनीहरु त्यो घर पुगे, त्यहाँको सिनारीबाट चकित परे | त्यो घरको वृध्द सिकिस्त बिरामी रहेछन् | दस दान र गाई दान गर्न लागिएको रहेछ | गाईको पुच्छर समाउने धेरै जना भएकाले गाईको पुच्छरमा धागो बाँधिएको थियो | त्यो धागो समाउने महिला पुरुष तथा बर्तबन्ध गरेका केटाहरु पनि थिए | त्यसैले धागो समाउनेको लाइन लामै थियो | तिनीहरु फेरि अर्को फसादमा परेको ठाने | अन्नोलको वीचमा एक जनाले अर्कोको कानमा सुझाए – हामी अर्कै घरमा आएछौ | अब हामी बिरामी भेटन आएको भनौ | भेटी पछाडि लुकाऊ | उहाँ हाम्रो टाढैको हजुर बुबा पर्नु हुन्छ भनौ |
तिनीहरु मध्ये पाका चाहीँ बिरामीको नजिकै पुगि केहि झुकेर बिरामलाई सोधे – हजुर बुबा ! मलाई चिन्नु भो ? बिरामीले आँखा खोलेर हेरे मात्र | उनी बोल्न सक्ने अवस्थामा थिएनन् | बिरामीको नजिकै बसेका एक जना कुरुवाले सजिलोको लागि चर्को स्वरले प्रष्टाए – उ नाइटेको छोरो ! त्यसपछि अर्कोले पनि त्यहि प्रश्न सोधे | बिरामीले हेरि मात्र रहे भने उनै व्यक्तिले यसरी चिनाए – उ बाकुन्तेको छोरो ! बाँकी रहेका तीन जनाले सोध्ने साहस गरेनन् | ती बिरामीका नजिक बसेका व्यक्तिले तिनीहरु र तिनीहरुका बाबुहरुलाई समेत राम्रेरी चिन्दा रहेछन् | ती व्यक्ति र बाकुन्ते तथा नाइटेँवीच जार जारको साइनो पर्दो रहेछ | त्यसैले तिनीहरुले बिरामी भेटेको मन परेको रहेनछ साथै अपमान गर्न बाबुहरुको जिस्काउने उपनाम ‘टाइटे’ र ‘बाकुन्ते’ उनले भनेका रहेछन् |
तिनीहरु लज्जित हुदै त्यहाँबाट हिडे | तिनीहरु त्यसपछि मरेको घर खोज्नतिर लागेनन् । तिनीहरु केहि ठाढा एउटा चौपारीमा पुगि बसे | एक जनाले मोबाइल झिकि युटुप च्यानल खोले | एक जना नागरिक उत्पेरक भनिनेले देशको समसामयिक विषयमा बोलिरहेका रहेछन् – देशको तेस्रो ठूलो व्यक्ति बन्न पाऊ भनेर रुखहरु समेत झगडा गर्लान जस्तो देखिने ठाउँमा निवेदन हालेर हुन्छ ? देशको सबभन्दा ठूलो अफिसमा यस विषयमा दिएको निवेदनमा गरेको सहीछाप पूरै नक्कली हो | यो कुरा सार्वजनिक गर्नु पर्दछ | बच्चाले केरा मागे जस्तो हामी सबै आएका छौ दिनुहोस भनेर ठाउँ कुठाउँमा खुट्टा फालेर माग्ने | ठाउँ र समय नचिन्ने, हुल बाँधेर हुन्छ —आदि |
त्यसपछि तिनीहरुले आफुहरुको त्यस दिनको भोगाईलाई निवेदनवालाको नियतीसंग तुलना गरे | एक जनाले भने – तिनीहरु पहिलो अफिसमा गए, हामी मरेको दस दिन भएको घर गयौ | तिनीहरु झगडे अफिसमा गए, हामी बिरामी भएको घर गयौ | अर्कोले भने – झगडालु अफिसमा निवेदन दिन उभिएको लाइन र गाई दानमा गाईको पुच्छरमा बाँधेको धागो समात्नेको लाइन पनि समानै देखिन्छ नि ! तेस्रो व्यक्तिले त्यसैमा थपे – बिरामीको कुरुवाले बोलेको छुद्र शब्दहरु र देशको तेस्रो व्यक्तिले गर्ने सत्तो सरापमा पनि समानता नै देखिन्छ | चौथो व्याक्ति बोले – भेटी छोडदा साइत हेर्न पर्दैन भन्थे | तर आज हाम्रो घरबाट निस्कदा साइतै नपरेको हो | पाँचौ व्याक्तिले निष्कर्षात्मक शैलीमा भने – अरु केहि होइन | सत्यतथ्य, समय, स्थान र नियत मिले सबै राम्रो हुन्छ | यी कुराहरु नमिले क्रियाको डिकुरो जस्तै टाउकाले ठोकेर फुटाल्दछन् | त्यसपछि तिनीहरु ग्लानी र थकित भावले केहि समय एक अर्को मुखमा हेराहेर गरि रहे |




