विवेकको कोठो साँगुरिएपछि
ध्रुवतारा झैं एक्लिदैँ गएको छ चेतनशीलता
श्रद्धा र सद्भावनाको खोलो बग्न नपाउँदै
घमन्डहरूले जाल फिँजाएर
माछा समाउने अथक प्रयास गरिरहेछ्न्
लिलाम गरिरहेका छन्
बेसुरा लय र तालहरू
अवचेतन विवेक त्यही तालमा नाचिरहेको छ
आफूलाई नियन्त्रणमा राख्नुभन्दा
ठुलो कसरत के छ?
आफूलाई बुझ्न सक्ने समय निकाल्नु भन्दा
मूल्यवान समय के छ?
यक्षको जस्तो जटिल र गम्भीर प्रश्न ठडिएको छ आज विवेकको सङ्घारमा
उर्बर मस्तिष्कका अस्थिर परिच्छेदहरू
व्यस्त छन्
आफ्नै मात्र वैभवको पहाड चढ्न
एक्लै क्षितिजपारि पुग्न
चेतनाको आँखा कहिले उघ्रिएला
कहिले शङ्खनाद गर्ला विवेकले
आवेगको विरोधमा?




