कवि सुवेदीको नीलो चरो र अन्य कविता : एक बिहङ्गम दृष्टि

असमेली नेपाली कवितामा समकालीन धारा भित्र्याउने श्रेय अस्मिताका कवि नवसापकोटाज्यू र आदरणीय युद्धवीर राणालाई जान्छ। यो सन् १९८० को कुरा हो। सापकोटा र राणापछि असममा नेपाली कविता लेखेर एक युवा कवि धेरै चर्चामा आएका थिए, उनी हुन् नौगाउँ लङ्काका मोहन सुवेदी। त्यस समय कसैकसैले उनलाई “नानीकवि” को उपनामसम्म दिएका हुन्। सापकोटा र राणाभन्दा केही भिन्न विषय र संरचना लिएर आएका कवि मोहन सुवेदी जातीयतावादको घेरो र परिक्रमाभित्र मात्र नरहेर एक वैश्विक दृष्टिकोण लिएर आएका छ्न् र यही दृष्टिकोणमा लेखिएको “पृथ्वी जसरी भोग्दै छु” कविता सङ्ग्रह(१९८७) त्यसताक निकै चर्चामा आएको हो।

मोहन सुवेदीको जन्म असमको नौगाउँ जिल्लाको लङ्कामा सन् १९६५मा भएका हो। वर्तमान भारतीय जीवन बीमा निगमको तेजपुर कार्यालयमा प्रशासनिक अधिकारी रहेका सुवेदी एक सफल कविका साथै एक परिचित कथाकार र निबन्धकार पनि हुन्। उनका अहिलेसम्मका प्रकाशित कृतिहरूको सूची यसप्रकारको छ –
१. पृथ्वी जसरी भोग्दै छु (कविता सङ्ग्रह, १९८७)
२. माटो मान्छे र माया ( कथा सङ्ग्रह, १९९८
३. केही शब्द र धूवाँ ( कविता सङ्ग्रह, २००४)
४. साहित्य र समीक्षा ( निबन्ध सङ्ग्रह, २००५)
५. मृतकहरूको देशमा ( निबन्ध सङ्ग्रह, २००८)
६. गीतको मूर्च्छना, ( गीत सङ्कलन, २०१२)
७. नीलो चरो र अन्य कविता ( कविता सङ्ग्रह, २०१४)
८. अनुवाद कृति: मोरा (मूल्कराज आनन्द) नेशनल बुक ट्रष्ट, नयाँ दिल्ली, २९९२
९.कविता ( नीलमणि फुकन), साहित्य एकाडेमी, नयाँ दिल्ली, २०१२
१०. सम्पादना: प्रहर, प्रणिपात, हस्ताक्षर, लंकाज्योति, समकालीन नेपाली साहित्य, सम्भार
सम्मान र पुरस्कार: १.स्व. टङ्कनाथ उपाध्याय स्मृति कथा पुरस्कार, २००५
२.स्पन्दन कविता पुरस्कार, २००९
३.विद्या वाचस्पति सारस्वत सम्मान, उज्जैन २०१३.

विभिन्न बिम्बहरू, प्रतीक र मिथकको प्रयोगले कविताहरूलाई नयाँ बान्की दिएको छ, रसमय र मनोग्राही बनाएको छ।

यहाँ सुवेदीका सबै कविताहरू चर्चामा नल्याएर उनको “नीलो चरो र अन्य कविता” ( २०१४)मा मात्र एक बिहङ्गम दृष्टि लगाउन खोजिएको हो।
चर्चित कृतिमा मोठ २७ वटा कविता समावेश गरिएको छ। “पृथ्वी जसरी भोग्दै छु” भन्दा कथ्यमा केही भिन्नता र शैलीमा नवीनता बोकेका सुवेदीका कविताहरूमा समयको आवाजलाई प्राथमिकता दिइएको पाइन्छ। कविताहरूको संरचनामा तीक्ष्णता पाइन्छ। कविताहरू उत्प्रेरक छन्। विभिन्न बिम्बहरू, प्रतीक र मिथकको प्रयोगले कविताहरूलाई नयाँ बान्की दिएको छ, रसमय र मनोग्राही बनाएको छ।
यस कृतिमा रहेका कविताहरू छोटा र मजौला आयामका छन्। तर यिनै छोटा कविताहरूले व्यापक अर्थ बोकेका छन्। कविताहरूलाई विभिन्न बिम्बले बाँधेर काव्यिकतापूर्ण पार्न कविले सक्तो प्रयास गरेको देखिन्छ। जस्तै –
“कैयौं सूर्यको प्रकाशले छुन सकेन
तिमीहरूको आङको उत्साह
बसन्तले डोर्याइल्याउन नसकेको
नियास्रो समयको अलिनो उत्सव”
(हिराकुसाको वेदना)

सुवेदीको काव्यिक चेतना अलिक भिन्न र समाजसचेत देख्न पाइन्छ। कवि सुवेदीले हाम्रो समाज, देश तथा समग्र विश्वलाई हरेक दृष्टिकोणबाट निहालेका छन् भन्ने कुरा उनका कविताहरूले बोली रहेका छन्।
“कहिल्यै नटुङ्गिने एउटा यात्राको सडक हिँडिसकेपछि
समयको बिसाउनीमा एकछिन उभिएर
फेरि आफुभित्र फर्कने आशाहरू बोकेर
अब कुन गोरेटो भएर चाल्नेछौ नयाँ पाइलाहरू?
अभाव र आतङकको हुन्डरी माझ
कसरी फुलोस् आँगनमा बिचरा निर्दोष गुलाब
आफ्नै गाउँबाट निस्केर गएको एक्लो मान्छे
कुनैदिन फर्किने छैन शहरको कोलाहलबीच हराएर”
(असमाप्त पाइलाहरूको पछि)

कवितामा कविले हाम्रो समाजले भोगेका कुराहरूलाई काव्यात्मक रूप दिएर मानिसका भोगाइहरू र जीवनका अनुभूतिहरूलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।

कवितामा कविले हाम्रो समाजले भोगेका कुराहरूलाई काव्यात्मक रूप दिएर मानिसका भोगाइहरू र जीवनका अनुभूतिहरूलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्।

विभिन्न विषयलाई छोटा र छरिता किसिमले प्रस्तुत गरेर कवि सुवेदीले असमेनी नेपाली कवितामा आफ्नो अलग पहिचान बनाएका छन्।
कवि सुवेदीले कवितामा चाहिने तत्त्व, बिम्ब र मिथक आदिको प्रयोगले जीवन्त पारेका छन्।

कुल मिलाएर उनको यो काव्यकृति पठनीय छ, कविताहरू मनोग्राही छ्न्, कविताको शिल्प र कथ्य दुवै पक्ष मजबुत र प्रासङ्गिक छ्न्, समाजमा घटेका विसङ्गति र विकृति सही ढङ्गले उतारिएको छ। तर उनले कतै नारा लगाएका छैनन्।