बिश्वको कुनैपनी देशमा महामारी वा बिपत्ति पुर्व जानकारी दिएर आउदैन । प्रत्येक राष्ट्रले जुनसुकै समयमा बिपत्ति वा महामारी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पुर्व सावधानी र सम्भाबित जोखिम न्यूनीकरण गर्न पुर्वाधारलाई तयारी अवस्थामा राख्ने गर्दछ्न। प्राकृतिक रुपमा सम्पन्न र गर्विलो इतिहास भएको नेपाल राजनैतिक अस्थिरताको कारण सामाजिक र आर्थिक एव बिकाशको स्तरमा समकालिन देशहरुको तुलनामा वर्तमान समयमा निकै पछाडी परेको प्रति ब्यक्ती आय र सामाजिक आर्थिक जिबन स्तरलाइ हेरेर प्रमाणित हुन्छ। पटक-पटकको राजनैतिक परिवर्तन मार्फत राजनैतिक प्रणालीमा परिवर्तन आएतापनी अक्षम राजनैतिक नेतृत्वको कारण देशको बिकाश सगसगै नागरीकको जिबनस्तरमा समय सापेक्ष परिवर्तन आउन सकेको छैन ।
२३, डिसेम्बर २०१९ बाट बिश्वमा देखापरेको कोभिड-१९ को पहिलो चरणले नेपालमा पनि निकै ठुलो सामाजिक-आर्थिक एवं क्षति पुर्याएको थियो । २०७७ फाल्गुनको अन्तिम हप्तातिर हवाई मार्ग एव नेपाल-भारत खुला सीमाबाट लक्षण सहित स्वदेश फर्केका नेपालीबाट कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो चरणमा नेपाल प्रवेश गरेको छ । नेपालमा कोभिड-१९ दोस्रो संस्करणको संक्रमणलाई हेर्दा यो दर निकै डरलाग्दो र नियन्त्रण गर्न निकै कठिन देखिन्छ ।
बैशाख २७, २०७८ सम्म कुल संक्रमितहरुको सख्या ३,९४,६६७ जना रहेका छन् । संक्रमण मुक्त्त हुने ३,०२,७८७ (७६.७ %) जना, कुल संक्रमितहरु मध्ये ८८,१६०(२२. ३%) जना सक्रिय संक्रमित रहेका तथा ३, ७२० (०. ९४%) नेपालीको कोभिड-१९ संक्रमणको कारण दुखद मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ। नयाँ भेरियन्टको कोरोनाको ‘हटस्पट’ बन्दै गैरहेको नेपालमा दैनिक लगभग १०,००० नयाँ संक्रमित थपिनु तथा दैनिक रुपमा करिब ५०-६० जना संक्रमितको मृत्युले पीडा र नया चुनौति थपिएको छ । यो संक्रमणले युवा उमेर (२५-४० वर्ष) चपेटामा पारेको हुदा त्यसको प्रत्यक्ष प्रभाव राष्ट्रीय उत्पादनमा दिर्घकालिन रुपमा समेत पर्ने निश्चित छ । जसका कारण नेपालको स्वास्थ सेवा प्रणालीमा निकै दवाब बढ्दै गैरहेको छ ।
पहिलो चरणले पुर्याएको क्षति भन्दा दोस्रो चरणको महामारीले पुर्याउने क्षति कयौं गुणा धेरै हुने अनुमान गरिएको छ । कोभिड–१९ महामारीका कारण करिब देशभित्र १५ लाख ब्यक्त्तीहरुको रोजगारी गुमेर बेरोजगारीको दर बढेंको छ भने बैदेशिक रोजगारीमा गएकाहरु पनि विभिन्न देशहरुबाट फिर्ता आउने क्रम बढेसगै जिबन कष्टकर हुदा गरिबीको सख्यामा समेत वृद्धि आएको एक सरकारी प्रतिवेदनले उल्लेख गरेको छ । जसका कारण देशको कूल ग्रहास्थ उत्पादन वृद्धिको लक्ष्यको २% मा खुम्चिने विश्वबैंकले प्रक्षेपण गरेको छ ।
कोभिड महामारीको संकट आउनु अगाडी सामाजीक अर्थतन्त्र सबल नभएको नेपाल कोभिड १९ को पछि झन् आर्थिक सकटमा फस्ने निश्चित छ। नेपाल जस्तो बिकासशील देशको अवस्था अझै गम्भीर बनाइरहेको विषय बैदेशिक ऋणको हो । बैदेशिक ऋण तिर्न प्रयोग गर्ने रकम स्वास्थ्य, शिक्षा, बृहद आर्थिक विकास तथा महामारी रोकथाम गर्न एव आवश्यकता पूर्तिमा प्रयोग हुन जादा यसको भार अझै बढ्ने निश्चीत छ। महामारी तथा त्यसले पार्नसक्ने अल्पकालिन एव दिर्घकालिन असरलाई कसरी न्युन गर्ने र आर्थिक शुचाकका लक्षित बृद्दीदर कसरी कायम राख्ने भन्ने सरकारसग स्पष्ट निती तथा योजना रहेको देखिदैन।
कोरोना (कोभिड-१९) स्वदेशमा उत्पत्ती नभएको हुदा यो विदेशबाट फर्केर आएका व्यक्ती (नेपाली वा अन्य) मा सिमित संक्रमण पहिलो चरण हो । उनीहरु मार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण, एउटा परिवार मार्फत अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।
कुनैपनी बिपत्ति र प्रकोपको समयमा नागरिक सुरक्षाको जिम्मेवारी उक्त देशको सरकारको हो। नेपाल सरकार यस मामिलामा अलि कम जिम्मेवार देखिएको हो कि भन्ने आधार उसले गरेका तयारी र राजनैतिक गतिविधिलाई हेर्दा हुन्छ । जनस्वास्थ्य स्वास्थ सुरक्षा र उपचार, नवीनतम स्वास्थ उपचार एवं सामग्रीको ब्यबस्था, कोभिड आइसोलेसन, हस्पिटलको निर्माण, जनशक्ति, उपचार ब्यबस्थापन, कोरोना विरुद्धको खोप खरिद तथा त्यसको ब्यबस्थापन गर्दै बिस्तारै प्रकोप नियन्त्रण गर्न मुलुकमा बन्दाबन्दी गर्नुपर्नेमा सरकार यस प्रति पुर्ण जिम्मेवार नभई सरकार पार्टीको आन्तरिक शक्ति संघर्ष विरुद्ध आएको राजनैतिक प्रतिरोध निस्तेज गर्न मात्रै हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
स्वदेश प्रबेशास्थलमा नै परिक्षणको ब्यबस्था गरि उचित ब्यबस्थापन गर्न नसक्नु सरकारको पहिलो कमजोरी थियो भने दोस्रो चरणको कोभिड-१९ को विश्वकै ‘हटस्पट’ बनेको देश भारतमा संक्रमित बढिरहदा सरकारले यसको जोखिम नेपालमा पनि उच्च हुनेछ भनि समयमै ध्यान नदिएर पूर्वाधार तयारी नगर्नु सरकारको अर्को ठुलो कमजोरी हो । नेपाल अहिले नया सस्करणको कोरोनाको तेस्रो अवस्थामा छ । परीक्षण गरिएका मध्ये ४५ प्रतिशत नमुनामा कोरोना संक्रमण देखिएको स्वास्थ मन्त्रालयले उल्लेख गरेको छ । जुन डरलाग्दो अवस्था समेत हो ।
दोस्रो सस्करणको कोरोना सक्रमणको कारण बिश्वमा सबैभन्दा गम्भीर अवस्था छिमेकी देश भारतमा भएको छ । खुला सिमाना,परिक्षणको अभाव, स्थानीयस्तरमा सक्रमितको पहिचान, बर्गीकरण र ब्यबस्थापन गर्न नसक्दा भारतको भन्दा नेपालको अवस्था जटिल हुनेछ भनी जनस्वास्थविद् एव विश्व समुदायले सरकारलाई संक्रमणकाल छोट्टयाएर नागरिकलाई सुरक्षित राख्न, स्वास्थ्य पुर्वाधारको ब्यबस्थापन गर्न र स्वास्थ सजकता अपनाउन दिएको पुर्व चेतावनी र शुझाबलाई समेत वास्ता र पुर्व साबधानी नअपनाई विभिन्न आन्दोलन, सडक प्रदर्शन, सार्वजनिक एव धार्मिक तथा सास्कृतिक सभा-समारोह आयोजना गर्ने राजनैतीक पार्टीहरु स्वय सरकार नै प्रमुख जिम्मेवार हुन् । यस बिपत्तीबाट नागरिकको जिबनलाई जोखिम मुक्त्त गराई देश बिकाश गर्न र लक्ष्य अनुसारको आर्थिक वृद्धिदर कायम हुने कार्यक्रम र योजनालाई प्राथमिकतामा नराखेर नागरिक प्रति गैरजिम्मेवार भै नागरिक प्रति गैरजिम्मेवार भै राजनैतिक सभा, समारोह, धार्मिक कार्यक्रम एव सडक प्रदर्शन गर्दै पार्टीको आन्तरिक समस्या (गुट) ब्यबस्थापन गर्न तर्फ लागेको देखिन्छ ।
कोरोना विरुद्धको लडाइँमा चुनौति थपिए पनि सरकारले आफ्नो कुटनीति मार्फत अन्तराष्ट्रीय सघ सस्था एव छिमेकी मित्रराष्ट्रहरुसग समन्वय गरी स्वास्थ सामाग्री एव कोरोना बिरुद्दको खोप आयात गरेर नागरिकलाई बिश्वस्त गर्नुपर्नेमा सरकार तिनको खरिद प्रकियामै अल्मलिएर आफ्नो अकर्मण्यता देखाइसकेको छ।
कुनैपनि देशको सरकारले बिपत्ति र महामारी आएको समयमा आफ्ना आन्तरिक समस्याहरुलाई थाती राखेर राज्यका सम्पूर्ण श्रोत र शक्त्तीको अधिकतम परिचालन गरेर बिपत्ति रोकथाम मार्फत नागरिकलाई राहत दिन्छन । न की, नेपालमा जस्तो असान्दर्भिक र बेमौसमी राजनैतिक नौटंकी देखाएर जनतालाई, आहत । यो बिपत्तीलाई समयमै रोकथाम गर्न नसक्दा नेपाल र नेपालीले ठुलो कष्ट भोग्नुपर्ने छ जसको सम्पुर्ण जिम्मा नागरिक स्वास्थ प्रती गैर संवेदनशील रुपमा प्रस्तुत भएको सरकार र सरकारको नेतृत्व गर्ने पार्टीले लिनुपर्छ ।
नयाँ भेरियन्टको कोरोनाको प्रकृति पुरानो कोरोनाको स्वरुप भन्दा अलि बढीनै खतराजन्य हुदैछ छ भन्ने महशुस गरी नेपाल सरकारले आइसोलेसन वार्ड, हाई डिपेन्डेन्सी युनिट (एचडीयू), भेन्टिलेटर सहितको आईसीयू, कोरोना उपचारमा आवश्यक अक्सिजन, औषधी लगायत प्लाज्मा थेरापी सेवा सहितको उपचारको प्रवन्ध हरेक स्थानिय तहमा समेत बन्दोबस्त गर्नुपर्ने हुन्छ ।
हरेक ब्यक्तिको सफल र सबल जिबन जिउने एउटा आधार नै “आशा” हो जसले खुसी समेत ल्याउछ। यस्तो वातावरण निर्माणका लागी सरकारको कुशल शासकीय नेतृत्व, आवश्यक राष्ट्रिय राजनीति र सामाजिक वातावरण नै निर्णायक पक्ष हुन। नेपाल र नेपालीको सन्दर्भमा उल्लेखित पक्षहरुले प्रभाबकारी भुमिका खेल्न नसक्दा जिबनको महत्त्वपूर्ण आधार आशा, असान्दर्भिक राजनैतिक अभ्यास द्वन्द, “नौटंकी र नाटक” को रिहर्सल एवं फ्लप प्रदर्शनले देशको समृद्धि एवं “आशा” निराशामा परिणत हुने देखिदैछ । नागरीकहरुले पनि राज्यबाट मात्रै सम्पुर्ण अपेक्षा नगरी आफु, आफ्नो परिवार र समाजको लागी जिम्मेवार भई सरकार द्वारा निर्देशित निर्देशन, स्वास्थ सचेचता र मापदण्डको कडा रुपले पालना गरी सामाजिक र भौतिक दुरीलाई प्रभावकारी बनाई आफ्नो दैनिकी संचालन गर्नु अहिलेको लागि उत्तम विकल्प हो ।




