कविता : बेहोशी

यसरी नै बाझिइरहे भने
अरुका बिचार र सपनासङ्ग
अरुका स्वाभिमान र सिद्धान्तसङ्ग
तिम्रा लहडहरु – अस्वभाविक उक्साहटहरु
कसैको जुङ्गाको मान राख्नकै निम्ति
परिभाषित भैरह्यो भने अन्धो कानुन पनि
हो – होइन ! होइन – हो ! हुन्छ – हुदैन ! हुदैन – हुन्छ !
छ – छैन ! छैन – छ ! लाग्छ – लाग्दैन ! लाग्दैन – लाग्छ !
कैयौंपटकका यस्तै कर्कस बहसहरुबाट
आजित आजित भएर कुनै दिन
खस्न अभिशप्त हुनेछन्
एकाएक चिस्सिएर पर अस्ताचलतिर
तिम्रै अस्तित्व बचाइरहेका
कैयौं पहारिला घामहरु – शितल जूनहरु
फेरि उही नियतिमा नउम्रने गरि
अर्काअर्का विहानहरुमा – अर्काअर्का साँझहरुमा
तब एउटा चिसो अध्यारोले निल्न आँट्नेछ
तिम्रो अहमहरुलाई
त्यति नै बेला खुल्नेछ तिम्रो होश पनि
न्यानोपनाको खोजीमा
जतिबेला निद्रामा लिन भैसकेका हुनेछन्
वर्तमानका सबैसबै सम्भावनाहरु
एउटा भयंकर ज्वालमुखीको सपना देखेर ।
पौष २५, २०७७ ।