पुस्तान्तरण: हिजो र आज

असी बर्षीय एकल बृद्धको आफ्नो पुरानो मोबाईलमा हप्तौ सम्म फोन आएन। हप्तौ सम्म उनको फोनमा घन्टी नबज्दा उनलाई लाग्यो उनको मोवाईल बिग्रियो किनकी बृद्धलाई घन्टी बज्दा दायाँतिर थिचेर फोन उठाउन र चार्ज गर्न मात्र जानेका थिए। बृद्ध नजिकैको फोन मर्मत पसलमा गए र आफ्नो मोवाईल फोन बिग्रियो लौ न बनाईदेउ बाबु भनि आफ्नो फोन सेट पसलेलाई दिए। पसलेले फोन सेटलाई जाचबुझ गर्यो सबै ठिकै थियो । आफ्नो फोनबाट कल गर्यो तव बृद्धको फोनमा घन्टी गयो। पसलेले बृद्दको फोन सेट फिर्ता गर्दै भन्यो- बाजे तपाईको फोन ठिक छ बिग्रेको छैन। वृद्द आफ्नो फोन फिर्ता लिदै सुक-सुकाएर रुन थाले। वृद्द रोएको देखेर पसले अचम्मित भयो र पसल आस पास भएकाहरु पनि छक्क परे।

आफ्नो फोन नबिग्रिएको खवरले खुशी हुनुपर्ने बृद् झन् रुन पो थाले ? मानिसहरुमा कौतुहलता भयो र बृद्दलाई सोधे तपाईको फोन बिग्रिएको रहेनछ, तपाई त खुशी हुनु पर्ने किन रोएको? यो प्रश्नमा बृद्दको उत्तरले त्यहा भएका सबैका आखा आसुले रसाए। खासमा ती बृद्द्का सन्तानहरु परदेशमा रहेछन र हप्ता-दस दिनमा उनलाई फोन गर्दा रहेछन। जीवनमा उनको बाकी न कुनै लक्ष थियो न त कुनै योजना र सपना मात्र आफ्ना सन्तानको फोनको प्रतिक्षा। त्यही फोन कल उनको जिउने आधार रहेछ। कयौ दिनसम्म पनि उनको फोन सेटमा फोन नआउदा उनलाई लागेको थियो कि फोन सेट बिग्रियो। जव उनले आफ्नो फोन सेट सबै ठिक छ भन्ने सुने तव ती बृद्द्को जिउने आधार पनि हरायो । हप्तौ सम्म पनि उनका सन्तानले उनलाई फोन गरेकै रहेनछन।

उल्लेखित घटना मैले कतै पढेको थिए। यो प्रसंगले मानिस जिउनकोलाई एउटा सानो त्यान्द्रोले पनि कति धरै महत्व राख्दो रहेछ सहजै अनुमान गर्न सकिन्छ। माथिको घटना एउटा प्रतिनिधि घटना हो। देशभित्र बेईमानी, बेथिती, बेतुकका बकम्फुसे बकवास, बिचौलियाको बिगबिगी, राजनैतिक बिचलन र श्रोतमा सिमित व्याक्तिहरुको हाली-मुहाली हुदा एकातिर गरिवी र बेरोजगार युवाहरु बाहिरिन बाध्य छन् भने अर्को तिर गुणस्तरीय शिक्षा र अवसरको लागि युवाहरु बिदेशिएका छन्। यसरी एउटा पुस्ता आफ्नो थात-थलो छोडेर बाहिरीदाको स्थितिले हाम्रो समाजमा र खासगरी बाल-बालिका र वृद्दहरुमा नकारात्मक प्रभाव पारेको छ।

हिजोसम्म आफ्नो गाउ-टोल मात्र होईन छिमेकि गाउको कस्को भैसीले कति दुध दिन्छ सो समेत जानकारी हुन्थ्यो तर आज एउटै घर-धुरी भित्र बस्नेहरु बीच चिनजान, बोलचाल हुदैन।

हामी केटाकेटी हुदा हाम्रा खेल सामाग्री आफै बनाउदथ्यौ। पुरानो मोजा वा फाटेको कपडाको टालोबाट भकुण्डो बन्दथ्यो। हामी खालि खुट्टा बारी काल्नाहरुमा त्यही भकुण्डो खेल्दथ्यौ। अहिलेका ब्राण्डेट भकुण्डा भन्दा हाम्रा टालाका भकुण्डा के कम थिए? तिर्खा लागेमा नजिकैको धारा, कुवा, पधेरा, खोल्सा वा खोलाको पानी घटघटी पिउदथ्यौ। डन्डीबिवो खेल्दा हात वा फिटमा होईन कति काल्ला कटाउने त्यसको हिसाव हुन्थ्यौ। हाम्रो ईम्युनिटि राम्रो हुनुमा एभोकाडो, इस्टाबेरि, ड्रागन फ्रुट, किवी जस्ता फल नहुदा पनि जलुको, निउरो जस्ता तरकारी र खोटे, पानी अमला, खनिया, बेडुला, ऎसेलु, टिमिलो, चुत्रो जस्ता फलहरुले साथ् दिएकै थिए ।

आज भोलीका शहर बजार र बिदेशिएका परिवारका बाल-बालिकाहरु मोवाईल र ल्यापटप आफ्नो संसार ठान्दछन । हजुर वा हजुर आमा संग लाडिने र हुर्कने बाल-बालिकाहरु आज समयान्तर सगै चाईल्ड केयर सेन्टरमा सरणार्थी जस्तो दिन बिताउन बाध्य छन्। आक्कल-झुक्कल सामाजिक संजालबाट भेट हुने हजुर बा हजुर आमा र नाति नातिनी पुस्ताले खै कसरी प्रेमभाव राख्न सक्लान र? “हु ईज दीस ओल्ड म्यान /उमन” भनि नाती नातिनाले भन्दा आज मेरो नाती-नातिनीले म संग कुरा गरे भनि मख्ख हुने हजुर बा हजुर आमा पुस्तालाई के थाहा तिम्रा नाती-नातिनीले तिमीलाई चिन्न समेत छोडेछन।

हामी सानो हुदा खेल्नको लागि न कुनै पार्क हुन्थे न फलामले बारेका खेल मैदान हुन्थे तर पनि साहासिक खेलहरु हुने गर्दथे । बास लिङ्गो नुगाएर हुल्लि खेल्दा के कुनै बन्जीजम्प भन्दा के कम रोमाञ्चक हुन्थ्यौ? बर वा स्वामीको जरा समाएर खेलिने पिङ्ग के अहिलेका पिङ्ग भन्दा कम थिए? खोलाका दह र रहहरुमा पौडी खेल्दा के हामीले कहिल्यै स्विमिङ्ग पुलको खाचो महसुस गर्यौ? लेक बेसी, गोठ-भकारो, हली-खेताला, पर्म, जन्त-मलामी आदि सबै जीवन जिउने कला के अहिले नानि बाबुहरुलाई थाहा छ ? दुध डेरीले दिने, ब्रेड बेकरीले दिने, जुस ग्रोसरिले दिने जस्ता ज्ञानले के हाम्रो भावी पुस्ता आत्म निर्भर हुन् सक्लान ? एनिमेटेट कार्टुनको पात्रलाई आफ्नो आदर्श मान्दा कतै हाम्रो भावी पुस्ता त्यही कार्टुनको एउटा पात्र त बन्दैन? फेसबुकमा बलजफ्ती कृतिम हासो संगका रंगिन फोटोहरु भन्दा हाम्रा वास्तविक स्याम- स्वेत फोटाहरु रंगिन छैनन् र?

नाती-नातिनी पुस्ताले हजुर बा/आमा नचिन्ने बनाउने हाम्रै सासन ब्यबस्थाले गर्दा हो। जीविकोपार्जन र अवसर सिमीत व्यक्ति र भक्तिवालाहरुको खल्तीमा हुदा हिजो सम्म तीन पुस्ता मात्र होईन सबै नाता-पाता, छर-छिमेक, ईष्ट-मित्र, ऎचो-पैचो, सर-सहयोग आदि अन्तर सम्वन्ध र भाईचारा सामाजिक ब्यबस्था भोलि दन्त्यकथामा रुपान्तरण हुने भए। हिजोसम्म आफ्नो गाउ-टोल मात्र होईन छिमेकि गाउको कस्को भैसीले कति दुध दिन्छ सो समेत जानकारी हुन्थ्यो तर आज एउटै घर-धुरी भित्र बस्नेहरु बीच चिनजान, बोलचाल हुदैन। हामीले आफ्ना नानि-बाबुहरुलाई कस्तो सस्कृति हस्तान्तरण गर्दै छौ? सबै कुरा बिस्तारै व्याबहारिकबाट व्यावसायीकरण हुदैछन। एकाघरका दाजु-भाई दिदि-बहिनीहरु आफ्नै बा आमाको मृत्य सस्कारमा समेत सहभागी नहुने तर अंसबण्डामा मात्र भेट हुने यो कस्तो सस्कृति बनाउदै छौ?

फेसबुकको लाईक र कमेन्टमा झुण्डिएको हाम्रो जिन्दगी गाई भैसी नभएको खालि गोठ र घरको भित्तामा झुण्डाईएको ठेकीको सम्वन्ध जस्तो भएको छ।

देश बाहिर बस्नेहरुको पिडा आफ्नै छ। एक पटक कामको सिलसिलामा केहि महिना नाईजेरियाको राजधानी अबुजामा बसेको थिए। आफ्नो सस्कार, सस्कृति, भाषा आदिमा कतै केहि नमिल्ने ठाउमा स्विमिङ्ग पुलसहितको विलासी घर, ड्राईभर सहितको विलासी कार, चौबिसै घण्टा सुरक्षा ब्यबस्था र त्यहा रहदा बस्दाको सबै खर्च कार्यालयले व्यहोर्दा पनि मलाई चैन भएन महसुस। एक पटक एउटा सपिङ्ग मलमा एक जना हिन्दी बोल्ने बिहारी भेट्दा आफ्नै मामा भेटेको अनुभूति भएको थियो। बिदेसिएका हाम्रो दोस्रो पुस्ता आफु जन्मेको मझेरी, हुर्केको पिडि आगन, पानी-पधेरो र हिड्न सिकाएको भनज्याङ्ग चौतारी र आफ्नै जन्मभूमिमा आउदा प्रवेश आज्ञा चाहिने अवस्थाले त्यो पुस्तालाई कति चिमट्दो होला।

हिजो हामीसंग महँगो घडि थिएन तर घामको छायाले निर्धारण गर्ने समय थियो। आफ्ना बा आमा र नानि-बाबुको लागि समय थियो तर आज मिलिसेकेण्ड समय दिने घडि छन तर आफ्नो अगिल्लो पुस्ता र दोस्रो पुस्तालाई दिने समय छैन। बृद्द आमा बाको जीवनका कथा सुनाउने र मनको बह बिसाउने मानिस छैनन्। एकातिर अगिल्लो पुस्ता एक्लीदो छ भने बिदेशिएको पुस्ता एक्लोपन र स्टीरियोटाइप (Stereotype) को जिन्दगी जिउदै छ। सहर र गाउमा मानिसको भिड त् छ तर पनि मानिसहरु छैनन्। फेसबुकको लाईक र कमेन्टमा झुण्डिएको हाम्रो जिन्दगी गाई भैसी नभएको खालि गोठ र घरको भित्तामा झुण्डाईएको ठेकीको सम्वन्ध जस्तो भएको छ।

बढदो भूमण्डलीकरणको प्रभाव र उपभोक्तावादी सस्कृतिको चक्रबाट सबैलाई लपेटिरहेको छ र त्यसमा आफुलाई समायोजन गर्नुको विकल्प छैन।

मैले भन्न खोजेको कुरा हाम्रो पुर्खा र हामी जे जस्तो सामाजिक र पारीवारिक संरचना थियो त्यसैलाई कायम गर्नु पर्दछ भन्ने होईन। देश विदेश जानु, ज्ञान, शिप, शिक्षा लिनु, ब्यापार ब्यबसाय काम गर्दा हाम्रो दक्षता र आर्थिक हैसियत उकास्नु राम्रो हो तर पश्चिमाहरुको हुबहु नक्कल गर्दा हाम्रो सामाजिक संरचनासंग मेल खादैन। गरिव देशका भष्ट्रहरुबाट सासित हाम्रो जेष्ट नागरिकको सामाजिक सुरक्षा, बैकल्पिक दिन गुजार्ने अवसर छैनन जसले गर्दा आफ्नै घरमा निरह भै काल पर्खेर जिउनु परे जस्तो हुदै छ। पाको पुस्ताहरुले पनि आफ्नो सन्तानबाट गरिने अपेक्षाहरु न्यूनीकरण गर्नु पर्दछ। बढदो भूमण्डलीकरणको प्रभाव र उपभोक्तावादी सस्कृतिको चक्रबाट सबैलाई लपेटिरहेको छ र त्यसमा आफुलाई समायोजन गर्नुको विकल्प छैन।

हाम्रा पुर्खाबाट हस्तान्तरित हुदै आएका राम्रा पक्षहरु भावी पुस्तामा पनि हस्तान्तरण गरिनु पर्दछ। सबभन्दा उत्तम नेपालमै सामाजिक, सास्कृतिक एव आर्थिक रुपान्तरण सहितको लोक कल्याणकारी राज्य ब्यबस्था हो । नेपालमै उच्च स्तरको स्वास्थ्य, शिक्षा, रोजगारी एव ब्यबसायको अवसर सृजनाले नै पुस्तान्तरणको दुरीलाई घटाउन र हाम्रो सामाजिक एव पारिवारीक बिग्रहको बिकृतिलाई ठेगानमा ल्याउन सक्दछ।