अहिलेको मोबाइल व्यापार

मित्र जगदीश लामिछानेले बिहानै चिया पिउन बोलाउनु भयो ।भेटघाट नभएको पनि धेरै भएको रहेछ । भेटघाट पनि हुने र बिहानीको समय भलाकुसारी गरेर पनि बित्ने हुनाले चिया पिउन गएको थिएँ । उहाँ बस्ने घरको तला उक्किदै गर्दा कापीको पन्ना भेटे । त्यही कापीको पन्नामा राम्रो अक्षरमा यी शब्दहरु उतार्नु भएको रहेछ । पढ्दा हल्का रमाइलो लाग्यो । जस्ताको त्यस्तै हजुरहरु समक्ष प्रस्तुत गरे ।

एउटा ग्राहक विभिन्न पसलहरु डुल्छ । मूल्य बुज्छ । अहिले त झन सजिलो, इन्टरनेटमा पनि मुल्य हेर्छ । त्यसमाथी अनलाइनमा पनि हेर्दछ । कहाँ कम्तीमा पाइन्छ भन्दै बुझ्न थाल्छ । बुझी सकेपछि यसो सोच्छ फलानो को त मोबाइल पसल छ उस्ले मलाइ अझै मिलाएर दिन्छ कि भन्ने आशा राखेर पुग्छ । बजारमा च्याउ सरी उम्रेका मोबाइल पसल छन् ।

कतीले त दिन भर एक वटा सामान नबेची पसल बन्द गरेका पनि छन्। आफ्नो मानिस लामो समयपछि पसलमा आएको देखेर पसले खुशी हुँदै स्वागत गर्छ ।
ग्राहक ः के छ खबर सन्चै हुनुहुन्छ ?
पसले ः ठिकै छ । सन्चै नै भन्नू पर्यो ।
ग्राहक ः ब्यापार, ब्यबसाय राम्रै होला क्यार ?
पसले ः (लामो सास तानेर फाल्दै) खै के नराम्रो भन्नू गुजारा चलेकै छ ।
ग्राहक ः केको गुजरा मात्र चल्नु नि यत्रो पसल गर्नु भएको छ । राम्रै कमाइ गर्नुभएको छ । कतिवटा घडेरी किन्नु भयो ?

(झट्ट सम्झे झै गरेर) ए अ साच्चै, केटाकेटीको यो अनलाइन क्लासले पनि दिक्कै बनायो । पैसो नभएको बेला । एउटाले नर्सरीमा पढ्दै छ, त्यसलाई पनि मोबाइल चाहियो ।अर्को ७ क्लासमा पनि पढ्दैछ उसलाइ पनि चाहियो । ठूलो १२ मा पढ्दैछ त्यसलाइ त झन् चाहिने नै भयो । त्यही भयर एउटा मोबाइलले नपुगेर आफन्तकहा नै जाउ कि भनेर हजुरलाई सम्झेको नि । हजुरले मिलाएर पनि दिनुहुन्छ ।

पसले ः ठिक छ। हजुर आउनुभयो खुसी लाग्यो । बरु कुन, कति सम्मको मोबाइल चाहिएला केटाकेटीलाई ?
ग्राहक ः यसो धेरै महँगो ता किन्न पनि सकिँदैन। केटाकेटी उचाका छन् । लामो समय खप्दैन पनि । यसो २० देखि २५ हजारसम्मको सामसुङ, रेडमी, ओपो कुन राम्रो हुन्छ ?
पसले ः (२०÷२५ हजारसम्म मूल्यका मोबाइल देखाउँदै) हेर्नुस् त, कुन राम्रो लाग्छ हजुरलाई ?
ग्राहक ः (यौटा मोबाइल हातमा लिँदै) यो मोबाइल मन पर्यो कति होला मूल्य ?
पसले ः अहिले यो मोबाइल खुबै चलेको छ बजारमा । भन्न त २५ हजार भन्नू पर्ने हो । यसो सटर भाडा मात्रै जोडेर भनेको तेईस हजार दिनु । मलाई जम्मा तीन प्रतिसतमात्रै राखेको छु ।ब्रान्डेड समान हो।
ग्राहक ः यही मूल्य त त्यहा तल पसलमा यसो बुझेको उसले पनि भन्दै थियो झन् तपाईं आफ्नै भनेर आएको अलि मिलाउनुस् ।
पसले ः आफ्नै भनेर आउनु भयो । साह्रै गाह्रो छ ।
पसले मनमनै कुरा गर्छ कति घटाउनु ।थोरै नाफा राखेर बोलेको ।दिऊ आफू नांगो ।नदिऊ इष्ट बांगो।लामो सास फेर्छ।
ग्राहक स् के सोच्दै हुनुहुन्छ रु यसो मिलाउनु ।हजुरलाई सम्झेर आएको के फाइदा भयो र रु
पसले ः ठिकै छ २०० रुपैयाँ कम गरेर दिनु न त अरुलाई २३ हजार एक रुपैयाँ पनि कम हुन्न ।
ग्राहक ः यत्रो २३ हजारको मोबाइल किन्दा पनी जम्मा २ सय मिलाउनु भयो । आफ्नो मान्छे भन्नू मात्रै । यो ता अलि भएन ।
पसले ः (ग्राहकलाई सम्झाइबुझाइ गर्दै) सोचे जस्तो छैन गुरु । मैले नाफा राखेकै छैन । सटरभाडा तिर्नै पर्यो । हजुर आफ्नै भएर विश्वास गर्नु हुन्न ।
ग्राहक ः ल जे भयो भयो छोडिदिनु होस् । २२ हजार ५ सय गर्नुहोस् ।
पसले ः (मनमनै सोच्दै पैसो पनि छैन । राखेर मात्रै के गर्नु । ढुकुटी पनि खप्टिएको छ । घरभाडा नदिएको पनि २, ३ महिना भयो । अरु सामान राख्न नपाएर पसल रित्तै जस्तो भएको छ । ठिकै छ फाइदा २ सय भय पनि पैसा अन्त चलाउनु पर्ला ।) हुन्छ त नि लैजानू । फेरि फेरि पनि आउनु होला ।

ग्राहक ः आइहाल्छु नि। ल यसमा खोल सोल पनि हालिदिनु ग्यारेन्टी पनि होला त्यो पनि दिनु ।
पसले ःमोबाइलमा खोल राखेर वारेन्टी भरेर ग्राहकलाई दिदैँ ल लिनुस् मोबाइल ।
ग्राहक ः (एक छिनपछि यसो पर्स निकाल्दछ र पैसा गन्न सुरु गर्दछ । गन्दै जादा १५ हजारमात्र निकाल्दछ ।) ओहो, मसँग अहिले त १५ हजारमात्र रहेछ । यो लिनू, बाँकी रहेको पैसो १, २ दिनमा दिन्छु ।
पसले ः (ठूलो र लामो श्वास फेर्दै) मोबाइल बाकी त हुँदैन । साह्रै गाह्रो हुन्छ । (मनमनै सोच्दै फिर्ता गरौ भने पनि कसरी गरौ । खोल राखेको छ वारेन्टी भरेर ठिक्क पारेर प्याक गरेको मोबाइल जाडोमा पनि पसिना छुट्ला छुट्ला जस्तो हुन्छ।)
ग्राहक ? चिन्ता नलिनु के । यहाँ आज भयको पैसो सकिएछ, १, २ दिन ता हो नि । म पठाइदिन्छु । हजुरले मलाइ नपत्याउनु भयको हो र ?
पसले ः (निनाउरो मुख लगाउँदै मनमनै) नखाउ भने दिनभरीको सिकार, खाऊ भने कान्छा बाउको अनुहार) पैसा चाडै पठाइदिनुहोला है।
ग्राहक ः ल ल चिन्ता नगर्नु म पैसा छिटै पठाइ दिन्छु । (ग्राहक ले मनमनै कुरा गर्छ यत्रो २२ हजार ५ सयको मोबाइलमा पक्कै पनि ५, ७ हजार त फाइदा खाएकै होला ।)
पसले ः चाडै पठाइ दिनु ल ।
ग्राहक ः हस हुन्छ चिन्तै नगर्नु।
पैसा फिर्ता हुने आशमा तीन हप्तासम्म कुर्छ पसले । पैसा आउँदैन । यता पसल रित्तिदै गएको छ । फोन गर्न पनि अफ्ट्यारो लाग्छ उसलाई । एक महिनापछि फोन गर्छ । तीन चोटीमा बल्ल फोन उठ्छ।
पसले ः खै हराउनु भयो त ?
ग्राहक ः हराएको छैन । कति आत्तिनु भएको ?
पसले ः गाह्रो भएर हो ।
ग्राहक ः ल ल हुन्छ ।
पसले ः कहिले हुन्छ ? भोलि हुन्छ कि पर्सि हुन्छ ?
बोल्दा बोल्दै फोन काटिन्छ । फेरि फोन गर्दैन पसले। केही दिन पछि ग्राहककै फोन आउँछ ।
ग्राहक ः हेर्नु न त्यो मोबाइल त नर्सरीमा पढ्ने नानीले चलाउदा खसालेर फुट्यो । त्यसको ग्यारेन्टी छ नि है ? कहाँ लाने हो कि त्यही ल्याउनु पर्दछ ?
पसले ः कम्पनीको ग्यारेन्टी होइन वारेन्टी हो । त्यही पनि फुटेको, पानीमा परेको सामानको वारेन्टी हुन्न हजुर ।
ग्राहक ः (रिसाउदै) कस्तो ढाट कम्पनी रहेछ है । मोबाईल फुटेको पानीमा परेको ग्यारेन्टी नदिए के को ग्यारेन्टी भनेको होला । मोबाईल बिग्रने नै त्यही भयर हो ।
पसले ः त्यो बाकी रहेको पैसा कहिले पठाइदिनु हुन्छ ?
ग्राहक ः ल ल पठाउछु । फेरि त्यो मोबाइल बनाउनु पर्यो । कम्पनीले दिदो रहेनछ ।
पसले ः छिटो पठाइदिनु न है ।
ग्राहक ? ल ल तपाइको पैसो खाइदिने जस्तो गर्नु भयको छ र ?

रिसाउँदै फोन राख्छ ।

पसले ः (टाउकोमा हात राख्दै मनमनै) पैसा फिर्ता आएको छैन ।मोबाइल बिग्रीसक्यो । राम्रै भएको सम्बन्धमा पनि दरार ।बोलचाल बन्द । यस्तै यस्तै समस्याका चपेटाहरु बिचबाट गुज्री रहेको छ बर्तवान ब्यबसाय ।

(लमिछाने पोखरा उलेक्ट्रोनिक्स व्यावसायिक समिति सदस्य हुन् ।)