कविता : मालिक म दास हुँ

मालिक म दास हुँ
दास
मालिकविना कसरी हुन्छ ?
म टुहुरो भए मालिक
हजुर आउनुस मलाई दास बनाउनुस
साष्टाङग दण्डवत नगरी, चाकरी नबजाई
मेरो घरबारीको पहिलो फल हजुरलाई नख्वाई
कसरी मिल्छ ? मैले र मेरा परिवारले खान
म वर्सौ देखि भोकै छु मालिक
हजुर आउनुस मलाई दास बनाउनुस

मेरा छिमेकीेले
खेतबारीका सिमानामा ताक पारे पनि
उब्जनी र पाखुरीमा हक मारे पनि
मालिक
हात खुट्टा भएका लुला लंगडा हौ हामी
मुख भएका वोली नफुट्ने अवाक हौ हामी
दुइ सय साठी वर्ष देखिको
हजुरको हुकुम पालना गर्ने रगत
हाम्रा शरिरमा बगेकै छ मालिक
हजुर आउनुस हामीलाई दास बनाउनुस

हाम्रा घर परिवारमा आँखा लगाए पनि मन्जुर छौं
सडकमा हुइकाएर हाम्रा शरिरमा गाडी कुदाए पनि मन्जुर छौं
देउता, मन्दिर गजुर जम्मै बेचे पनि
दरवारमा तरवार जति चले पनि
ख्वामित हजुरको पैतालाका धुलो टिको शिरोपर
मालिक आउनुस हामीलाई दास बनाउनुस

आफुले आफुलाई छान्न नसक्ने बहादुर नेता हौ हामी
पैतला भएका तर घुडा टेक्ने बहादुर छौ हामी
पाउ परेर, हात थापेर तक्मा भिर्ने
विचित्रका स्वाभिमानी हामी
मालिकको पात्लाको हकदार हामी
मालिक
हामी वर्षौ देखि भोकै छौ
मालिक हजुर आउनुस हामीलाई दास बनाउनुस