कविता : धाइराको फूल

जून जस्तै हुनु मैले कहिले भने र ?
आज तिमी जून जस्तै बन्ने कुरा गर्छौ
मलाई अस्ताउने जूनभन्दा
सारा धर्तिलाई उज्यालो बनाउदै खस्ने तारा नै मन पर्छ
बेसारे शितलता भन्दा
एक झुल्को उज्यालो नै सहि
छोरी तिमी बेसारे जून होइन चेतनाको तारा बन्नु ।

फेरि उहीँ गुलाफको कुरा नगर छोरी म सँग
अक्सर फूलहरु मन पर्दैन मलाई
तिमीलाई थाहा छ नि छोरी
फूल सँगै
मन्दिरको कुरा आउँछ
देवताको कुरा आउँछ
मालाको कुरा आउँछ
थरीथरीका घाँटीको कुरा आउँछ
यी बेसारेफूलहरु
जहाँ जुनसुकै बेला
जस्को सिरमा पनि बसिदिन्छन्
जस्को घाँटीमा पनि सजिदिन्छन्
बरु फूलनै बन्नु छ भने धाइराको फूल बन
तिमीलाई थाहा छ नी छोरी !
कि थाहा छैन ?
धाइराको फुल देवतालाई चड्दैन
धन्न यी मान्छेहरुले
धाइराको फुल चोखो राखिदिए
साच्ची छोरी
कुनै बेला फूलहरुको इतिहास लेखियो भने
धाइराको फूलको बेग्लै इतिहास लेखिने छ
हो छोरी
यतिबेला म धाइरिङ्गमा छु
हेरिरहेको छु धाइराको फूल

सम्झिरहेको छु तिमीलाई।