१४ बर्षको उमेरमा गीत रेकर्ड देखी प्रवासी जीवन र हालको सफलता सम्मका गायक समिर आचार्य

बि सं २०४५ साल असोज ५ गते बुवा डा. गोविन्द आचार्य र आमा शिला आचार्यको सन्तानका रुपमा दाङमा जन्मिएका समिर आचार्य नेपाली सांगीतिक क्षेत्रका स्थापित गायक हुन् । नेपाली लोक साहित्यमा पहिलो विद्याबारिधी गरेका डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य । सांगीतिक पृष्टभुमी बोकेको परिवारमा जन्मेका उनले कक्षा ९ मा पढ्दाताका नै गणेश सुबेदीको रचना र आफ्नै बुवा गोविन्द आचार्यको संगीतमा रहेको ‘ओठमा लाली’ बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रा सुरु गरेका हुन् ।

पछिल्लो समयका ‘मेरो दुनियाँ बेग्लै छ’, ‘पिच रोड’, ‘चट्ट सलाम’ ,’घिन घिन बज्यो बादलु’, ‘होईन भन्देउन माया’ लगायतका अत्याधिक चर्चामा रहेका गीतहरुका गायक समिर आचार्य हाल अष्ट्रेलियामा रहँदै आएका छन् ।

बाल्यकालमा चकचके र जिद्धी स्वभावका थिए समिर । यो स्वाभवले उनले गरेका बाल सुलभ बदमासीहरु आजको जिम्मेवार गायक सम्म आईपुग्दा उनि भित्र ज्यादा त संगीत प्रेम नै थियो भन्ने भान हुन्छ । उनि सानैबाट मादल र सारंगीको धुनमा हराईरहेका हुन्थे । घरको सांगीतिक र साहित्यिक पृष्टभुमीका कारण घरमा आवत-आवत भै रहने बुबाका समकालिन साहित्यकार र संगीतकर्मी र संगीत माहौल उनको कलिलो मस्तिष्कका लागि गहिरो छाप बनेको थियो । ताल, धुन र स्केलमा उनि त्यो उमेरमा पनि अब्बल थिए । यसो हुँदा उनलाई बिद्यालय र गाउँघरमा हुने सांस्कृतीक कार्यक्रममा गीत गाउन लगाईन्थो, बुवाकै पदचाप पछ्याउँदै सांगितिक लयमा बगिरहेका बालक समिरको आवाजले त्यो समयपनि उत्तीकै प्रशंसा बटुल्ने गर्दथ्यो । उनका प्रेरणा मादल सारंगी र ति समयका गीतहरु हुन् जसले गाउनका लागि उनलाई प्रेरित गरे ।

आजको सफल गायक हुन्छु हुन्न संग भन्दा पनि संगीतलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार सिकेका उनले कक्षा ९ मा पढ्दा म्युजिक नेपालबाट रेकर्ड गरेको गीत ‘ओठमा लागि’ गाउँदाका दिनहरुलाई सम्झँदै समिर भन्छन्, ‘जीवनमा पहिलो पटक हेड फोन लगाएर गाउँदै थिएँ, डर पनि लागिरहेको थियो तर गीत गाउँदा मैले बिगार्नु हुँदैन भन्नेमा एकदम सचेत थिएँ, त्यसैले पनि होला २ टेक मा नै मैले आफ्नो गीत पुरा गरें । केटाकेटी मन खुसीले फुर्फुर भयो ‘सबैले राम्रो गायौ भन्दा ।’

‘नरोए प्रिय म मरें भने’, ‘बिर्षिएउकी मायालु काफल खाएको’, ‘मरेको लासलाई नराख घर’, ‘रापतीको झरना’, जस्ता गीतका गायक संगीतकार हुन् उनका बुबा डा. गोविन्द आचार्य । नेपाली लोक साहित्यमा पहिलो बिद्याबारिधी गरेका उनले नेपालका विभीन्न जात जातीमा रहेका लोकसंस्कृतीको अध्यन तथा अनुसन्धान गर्दै आएका छन् । ३० वटा भन्दा बढि लोक गीतका एल्वम र १० भन्दा बढि पुस्तक उनका प्रकाशित कृतीहरु हुन् । बुवाको यो नाम समिरका लागि अवसर र चुनौती दुबै सावित भयो । अरुले जस्तो संगीत क्षेत्रमा आउन उनले ठुलो संघर्ष गर्नु परेन किनकी त्यो आधार उनका बुवाले बनाईदिएका थिए तर एउटा सबैले सम्मान गरेको गायक-संगीतकारको छोरालाई बुवाको नामको लाज राख्नकै लागि पनि राम्रो गाउनु पर्ने थियो । कतिपय अवस्थामा पुराना संगीतकर्मीका छोरा-छोरीले झेलिरहेको एउटा सत्य हो, राम्रो गाए फलानाको छोरा पो त यत्तीको त गाउनै पर्यो नि भन्ने र नराम्रो गाए त झन् त्यस्तो मान्छेको छोराले के गाएको यस्तो भन्ने मानिसहरुको भिडमा समिर पनि थिए । त्यसैले पनि उनले संगीतलाई संधै गहिरो साधनाकै रुपमा हेरे र जुनसुकै गीतलाई पनि सम्मानका साथ गाउँदै आए ।

सानैमा गीत रेकर्ड गराएर पनि केहि बर्ष उनि यो क्षेत्रबाट अलग भए । पठाईका लागि अष्ट्रेलिया जानु परेपछि उनि भित्रको गाउने रहर केहि समयलाई बिथोलियो तर उनि भित्रको संगीत मोह उनिबाट कहिल्यै अलग हुन सकेन । सन् २००८ मा + 2 सकेर थप अध्यनका लागि अष्ट्रलिया जाँदै गर्दा समिरलाई लागेको हुँदो हो त्यो नौलो परिवेषमा मेरा गीतहरुको यात्रा कसरी कायम रहला । नयाँ देश नौलो अनुभव अल्लारे उमेर र पढाईको जिम्मेबारी । यि सब थिए उनिसंग तर सबैभन्दा ठुलो कुरा उनि भित्रको संगीत मोह थियो । ७ बर्ष रोक्किएको आफ्नो गायनलाई उनले सन् २०१२ बाट फेरी निरन्तरता दिए । सन् २०१२ ‘तरज’ नामक उनको पहिलो एल्वम बजारमा आयो ।

‘ नेपाली संगीत बजार नबुझेका कारण पनि ”तरज’ एल्वमको सोचे जसरी प्रमोशन गर्न सकेनन् र उनका गीतहरु सबै स्रोता माझ पुग्न सकेन । तर उनले यसलाई गतिलो अनुभव सम्झेरै आफ्नो यात्रालाई निरन्तरता दिईरहे र उनको दोस्रो एल्वम ‘बढा गज्जब’ बजारमा आयो सन् २०१४ मा । त्यसपछि उनका प्रशंसक बढ्दै गए । उनको गायन पछि बिस्तारै त्यहाँ रहेका नेपालीहरुको रोझाई बन्यो र उनि स्टेजहरुमा गाउन थाले । प्रशंसकहरुबाट उनको माग हुन थालेपछि एक प्रकारको उत्साह र दायित्व पनि महशुष भयो समिरलाई ।

यि दुबै एल्वमबाट सोचेजस्तो सफलता हासिल नभएपनि जस जसले उनको आवाज सुने तिनीहरु बीचबाटै समिरको प्रशंसा र कार्यक्रमका लागि अनुरोध हुन थाल्यो । उनलाई यो पनि थाहा भयो कि अहिलेका स्रोता दर्शकको झुकाव कस्ता खाले गीतहरुमा छ ।

स्रोतामाझ उति परिचित हुन नसकेपनि नेपाली संगीतकर्मीबाट उनको गायकीको प्रशंसा भएको थियो । फलस्वरुप २०१५ मा आनन्द अधिकारीको शब्द र सिखर सन्तोषको संगीतमा ‘हैन भन्देउन माया’ बोलको युगल गीत बजारमा आयो र उनको आवाज मन पराउने स्रोताको संख्या पनि ह्रवात्तै बढ्यो । यो गीतले उनलाई संगीत क्षेत्रमा स्थापित गरिदियो ।

उनि भन्छन्, गायक भएपछि जस्तो सुकै गीतहरु गाउनु पर्छ दर्शकको माग अनुसार । तर पनि म आफु सम्म आईपुगेका गीतहरुलाई अध्ययन गर्ने गर्छु, कसरी राम्रोसंग शब्दका भावहरुलाई निभाउन सकिन्छ भनेर सचेत रहन्छु । संगीत भनेको महासागर हो जहाँबाट जति पानी निकाले पनि सकीदैन । कुरा यति मात्र होकी तपाईले एक अन्जुली पानीलाई हत्केलामा लिएर त्यसलाई कुन रंग घोलेर अरुलाई देखाउनु हुन्छ । संगीतमा नयाँ नयाँ प्रयोग हुन्छ जस्लाई मन भीत्रको ल्यावमा प्रयोग गरीन्छ ।

एउटा सफल संगीतकर्मी बन्नको लागी लगनसीलताको निकै धेरै आवस्यकता रहन्छ भन्ने समिर आचार्य संगीतमा नलागेको भए के बन्नु हुन्थ्यो भन्ने प्रश्नमा भन्छन् ,’सायद बिजनेस तिर लाग्थें होला । गीत नै गाएर मात्र पुग्ने अवस्था मेरो हकमा कमै रहन्छ हाललाई । किनकी म नेपाल भएको भए मेरो आवाजमा गीतहरु बाक्लो संख्यामा रेकर्ड हुने सम्भावना पनि रहन्थ्यो होला तर यतिबेला म अष्ट्रेलिया छु । त्यो हुँदा अहीले पनि विजनेसलाई नै अगाडी बढाउन खोजीरहेको छु ।’

नेपाली संगीत बजारबारे उनको घारणा यस्तो छ ‘नया नेपाली गीतहरु समय संगै फरक फरक शैलीका आइरहेका छन् र यो युग परीवर्तन संगै परीवर्तन हुने कुरा हो । मैले अघी भनेको जस्तै संगीत प्रयोग पनि हो त्यसै अन्तर्रगत संगीतमा नयाँ नयाँ प्रयोग भइनै रहेका छन् । नेपाली मौलीक गीत संगीत भनेको लोक भाका नै हो न यो सकीन्छ न मेटीन्छ । पहीलाको बजार भन्दा नीकै ठुलो भएको छ नेपाली सांगीतीक बजार । एक जना कलाकार विश्व भ्रमण गर्छ आफ्नो गीत लीएर अहीले र संसारका गीत संगीतका जानकारी लीने गर्छ र नेपाली गीत संगीतमा पनि संसारको रस पाइन सुरु भएको छ जुन मेरो नजरमा राम्रो कुरा हो ।

अहीलेका युवा पुस्ताहरुमा गीत संगीतको मोह अत्याधीक रहेको छ उनीहरुले राम्रो नराम्रो जजमेन्ट पनि गर्दछन् । संगीत भनेको मेडीटेसन पनि हो र जीवन बाच्नको लागी यो जरुरी पनि छ यदी कसैले गीत सुन्दैन भन्छ भने या त्यो निर्जीव हो नत्र त्यस्तो हुन सक्दैन । म देशबाट टाढा बसेपनि मेरो हरेका गीतहरु नेपाल र नेपालीकै लागी हुन्छ ।

नेपाल बाहिर रहेर पनि उनि पछिल्लो समय ब्यस्त गायकका रुपमा चिनिन्छन् । लकडाउनकै समयमा पनि उनका नयाँ गीतहरु सार्वजनिक भै रहेका छन् । ‘घाँगरा चोली’, ‘ढुम्का’, ‘रेल गाडी’ लगायतका पछिल्ला गीतका कारण समेत चर्चामा रहेका उनि चाँडै नै ‘भुर्भुर पुतली’ बोलको गीत रिलिजको तयारीमा छन् ।

गायक समिर आचार्यले कुराकानीको अन्त्यमा आफ्ना स्रोता दर्शकलाई यसरी संबोधन गरे, ‘मेरा दर्शक श्रोताले मबाट जुन अपेक्षा गर्नु हुन्छ म सधै त्यसै बाटो तर्फ लाग्नेछु । मेरा सम्पूर्ण दर्शक श्रोता मलाई माया गर्ने सबैलाई म तपाईहरुले बनाएको मान्छे हो मेरा हरेका सांगीतीक कोसेलीहरु तपाईहरुकै लागी हुनेछ, यदी जान अन्जानमा म बाट कुनै गल्ती भएको छ भने माफी चाहन्छु हजुरहरुको सल्लाह सुझाव सधै नै पर्खेर बस्नेछु ।’

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।