जब नायक भुवन केसीले पहिलो भेटमा नै मलाई ‘तँ’ भने……

पछिल्लो समय चलचित्र क्षेत्रका दुई ठुला विवादले सिंगो नेपाली सामाजिक सञ्जाल र सञ्चार माध्यममा  प्रभाव जमायो । ‘दिपा-राजेश’ विवाद दिपा श्रीको अन्तरवार्तामा अभिब्यक्त राजेश हमालप्रतिको धारणा थियो भने ‘भुवन-सम्राज्ञी ‘ विवाद महिला कलाकारमाथीको दुव्र्यवहार थियो । संजोगले प्रत्यक्ष चिनजान र परिचय सहितको भेटघाट राजेश हमालसंग पनि मेरो एक पटक मात्र भएको छ र भुवन केसी संग पनि । यौनजन्य नियतको दुब्यवहार विवाद  भएकाले यस पटक म भुवन केसीसंगको भेटको अनुभव लेख्दैछु..

कुरा ३ बर्ष पहिलेको हो । अमेरिकाको कोलाराडो स्थित डेनभरमा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण आयोजना हुँदै थियो । ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका र नेपाल फिल्म सोसाइटीको संयुक्त आयोजनामा भएको यस अर्वाडको पहिलो संस्करणबाट नै म यो बिषयमा अपडेट रहेको थिएँ ।

त्यस समय म कोलोरोडोबाट सञ्चालित अनलाईन पत्रिका बिआरटी नेपाल डटकममा कार्यरत थिएँ । ग्लोवल फिल्म अवार्डको दोस्रो संस्करणका संयोजक यस पत्रिकाका सञ्चालक शैलेश पोखरेल स्वयं भएकाले दोस्रो संस्करणको समाचारको करिव सम्पुर्ण जिम्मेबारी हामीले नै लिएका थियौं । म नेपालमा भएकाले मेरो जिम्मेवारी सम्भव भएसम्म यहाँबाट अवार्डका लागि अमेरिका जाने सबैको कार्यक्रमप्रतिको प्रतिकृया र जानकारीको लागि छोटो भिडियो क्लिप्स तयार पार्नु रहेको थियो । म आफैंलाई पनि यस अवार्डमा बोलाईएकाले अमेरिकन एम्बेसीको अन्तरवार्ता सम्मको प्रोससमा थिएँ । जे होस् म स्वयं एक प्रकारको दौडधुपमा नै थिएँ । जसरी हुन्छ अवार्ड भब्य हुनुपर्छ भन्ने थियो उत्साह ।

हामीले कृष्ण मल्ल, अर्जुन जंग शाही, मदुकुमार श्रेष्ठ, माहादेव त्रिपाठी लगायतका भिडियो कसैको घरमा नै पुगेर तयार पारेउँ भने कसैको उहाँहरुलाई अनकुल पर्ने स्थानमा ।  अव पालो थियो सदावहार नायक भुवन केसी र उनका छोरा नायक अनमोल केसीलाई भेट्ने । भुवन केसीको म भन्दा पनि मेरो बुवा ठुलो फ्यान हो । ममी पनि काठमाडौं र भक्तपुरमा लामो समय बसेकाले उनका धेरै चलचित्र सिनेमा घरमै पुगेर हेरेकाले ममीलाई पनि भुवन केसी मनपर्ने कलाकार । यसर्थ म सानैबाट उनको फ्यान बने स्वतह: । उनका धेरै भन्दा धेरै चलचित्र हेरेको मेरा पनि मनपर्ने कलाकार उनि । तर भेट भएको थिएन परिचय आदनप्रदान शैलीले ।

म मैतिदेवी बस्ने भएकाले भुवन केसीको निवास नजिकै पर्दो रहेछ । अघिल्लो दिन साँझ उनलाई फोन गरेँ, ‘भुवन सर नमस्ते’ भनेर मैले कार्यक्रमको जानकारी र आफ्नो परिचय सहित उनको समय मागें ।

जवाफमा भुवन केसीले मिठो लवजमा भनें ‘नानु पुरानो बानेश्वर थाहा छ नी ?’

हजुर थाहा छ

‘त्यहाँबाट सिनामंगल तिर जाने बाटोको दायाँ साईटमा १० \१२ घर पर एउटा दुध डेरी छ त्यहाँ तिर सोध्दा नि भन्दिन्छ जसले नी । तिमी ८ बजेपछि आउ ।’

काभ्रेली या यस्तै केही थियो त्यो दुध डेरीको नाम । जे होस् उनले मलाई नानु र तिमी भने । बोली यस्तो थियो कि कुनै नायक पत्रकारसंग होईन चिर परिचित आफु भन्दा कम उमेरकी सानी केटीसंग बोल्दै छ ।

एक मन रिस पनि उठ्यो कस्तो मान्छे होला कमसेकम बहिनी तपाँई त भन्नु । म कुन उमेरको हुँ कत्रो हुँ त्यसै नानु । तर त्यो एक झिल्को मेरो अभिमान जस्तो थियो, उनका केटी बिबाद सुन्दै आएकाले उनि राम्रो बोल्ने रहेछन् भन्ने अनुमान लगाएँ मैले ।

भोलीपल्ट उनले दिएको लोकेसन अनुसार उनको घरछेउ पुगें, मैले सोधेको पसलमा ४\५ जना प्रौड उमेरका मानिसहरु चिया पिउँदै थिएँ । एक्लै गएको थिएँ खै के ठानेर घर देखाउने भन्दा पनि मेरो परिचय माग्न थाले । जे होस् घर पत्ता लाग्यो । तल पुगेर फोन गरें ‘माथी छु म’ भने पछि म उनको घरमा उक्लिएँ ।

मैले नमस्कार गर्ना साथ उनले नहाँसी सोधे ‘घर पत्ता लगाउन गाह्रो त भएन नी ?’

‘भएन सर’ मैले छोटो जवाफ मुस्कुराएरै दिएँ ।

‘यहिँ लिउँ होला है ?’ उनले एकदम परिचित जसरी मलाई उनको सिटिगं रुम देखाएर भने ।

‘हुन्छ’ भन्दै मैले भित्र जान जुत्ता खोल्दै थिएँ अर्को झड्का लाग्यो ‘छोरा जुत्ता खोल्नु पर्दैन’ ।

जुत्ता म खोल्दै थिएँ तर छोरा भनिएको थियो मैले संगै रहेको अर्को बन्द कोठामा आँखा पुर्याएँ अनमोललाई भनिएको होला भनेर ।

‘तँलाई भनेको मैले जुत्ता खोल्नु पर्दैन ।’ एकदमै अप्रत्यासीत संबोधन थियो यो मेरो लागि । म पहिलो पटक भेटिएको पत्रकार, यो देशका चर्चित नायक बढो सजिलोसंग मलाई ‘छोरा’ र ‘तँ ‘भनिरहेछन् ।

कपाल फुलेका समेत प्रायले मलाई सुष्मा जि, सुष्मा बहिनी तपाँई, भन्दै आएको मलाई समकालिन साथीले समेत तिमी एकदमै कम भन्छन् तँ भन्ने त स्कुले साथी समेत छैनन् मेरा भने यहाँ पहिलो भेटमै कोही बढो गज्जवले मलाई यो संबोधन गरिरहेछ ।

भित्र पसेपछि उनले अनमोललाई बोलाए । उनि घरमा अनमोललाई ‘भुन्टु’ भन्दा रहेछन् या त्यहि दिन मात्र भनेका हुन् म जान्दिन । अनमोलसंग पनि प्रतक्ष्य नजिकबाट पहिलो भेट थियो यो । अनमोल आफैंले नमस्ते गरे। मैले टेलिभिजन र चलचित्रमा देखेको भन्दा प्रतक्ष्य देख्दा अनमोल धेरै राम्रो लाग्यो मलाई । सुन्दर र सालिन । यो मेरो  मात्र  अनुभव हो, त्यो पनि जम्मा १ भेटको । उनि निकट ब्यक्तीलाई थाहा होला उनि कस्ता छन् भन्ने बारे अझ बढि

अव हामी ३ जना भयौं भुवन केसी, अनमोल र म त्यो कोठामा । ‘मेरो घाँटी दुखेको छ बोल्न गाह्रो भएको छ, अनमोलको मात्र लिउँ है ?’ उनले मलाई सोधे ।

माथि भनेजस्तै उनि मसंग यसरी बोल्थे मानौं म उनको चिरपरिचित मान्छे हुँ । यो पनि सामान्य नै हो म जस्ता मान्छे उनले लाखौ भेटेका छन् भने यस प्रकारको बोली खाष ठुलो नै भएन ।

बाबुको ठिक बिपरित पाएँ अनमोल। मुस्कान नै जवाफ जस्तो, एकदम कम बोले उनि । मेरो क्यामेरा ट्राईपोडमा राख्दै गर्दा भुवनले फेरी भने ‘तँ नर्भस भको छस् के हो ?’ म मनमनै हाँसी रहेको थिएँ उनको यो आत्मियतामा, एकपक्रारले एउटा कथा नै लेखिंदै छ जस्तो ।

मैले अनमोलले बोल्नु पर्ने कुरा एउटा पानामा लेखेर दिएँ १\२ पटक उनले बोले पछि भुवनले भने ‘यसो गरौं फुच्चु अनमोलले नेपाली भन्दा ईंलिसमा राम्रो भन्न सक्छ ईंलिसमै भनुँ हुँदैन ?’

एक त म आफैंमा मान्छेका स्वभाव अध्यनन गर्न रुचाउने मान्छे मेरा लागि भुवन फरक कलाकार थिए । म हिजोबाट आज सम्म ‘नानु’, ‘छोरा’, ‘फुच्चु’ भै सकेको थिएँ र साथमा अधिकारपूर्वक ‘तँ’ पनि ।

नभन्दै अनमोलले ईंलिसमा एकै पटकमा कार्यक्रमको बारे राम्रो बोलिदिए । अब यो काम सक्कियो । मेरो योजना सम्भव भए भुवन केसीको अन्तरवार्ता पनि लिने थियो । मैले त्यो समय पनि ‘पुराना तस्विर’ स्तम्भ फेरी सुचारु गर्ने सोचेको थिएँ । भुवनको घाँटी दुखेको छ भन्ने थाहा थियो, उनको आवाज विग्रीएको थियो तै पनि भनें, ‘भुवन सर खाषमा म तपाँईको ईन्टरभ्यु पनि लिन आएको हुँ तपाँईलाई गाह्रो रहेछ के गर्ने ?’

 ‘यसो गरौं उताबाट फर्किएपछि एउटा टाईम मिलाएर लिउँला हुँदैन ? ईन्टरभ्यूको कन्सेप्ट बुझेर होला उनले यो पनि भने ‘अल्ली लामै समय लिएर गर्दा राम्रो हुनसक्छ, हामी उताबाट फर्किए लगत्तै गरौं ।’ उनको यो स्वभाव पनि कमसेकम मेरा लागि राम्रो थियो, उनि आफ्नो निर्णय संगै स्विकृती सुचक शब्द पनि जोडिरहेका थिए । मैले ठानें सायद उनि म संग मात्र होईन सबैसंग यहि शैलीमा बोल्छन् ।

निस्कन लाग्दै थिएँ । ‘छोरा खाना खाएर जा न त ‘ फेरी उनले भित्र पस्दा जसरी नै भने मलाई छोरा ।

‘तँ’ त अव नर्मल भै सकेको थियो । उनले जतिपटक मलाई तँ भनेपनि उनको ‘तँ’ रिसाईहाल्नु पर्ने खालको थिएन , लवज र हेराईमा कहिँ कतै उनको हेपाई या गलत आकर्षण नजर नआएपछि उनलाई ‘किन मलाई तँ भन्या किन छोरा, फुच्चु भन्या’ भनेर रिसाउनु पर्ने कारण मैले देखिन । उल्टो उनि मेरा बुवा नजर आए मलाई । मेरो बुवा र बुवाको साथी सिताराम अंकल पछि मलाई यसरी सजिलै छोरा भन्ने पहिलो ब्यक्ती थिए उनि ।

‘होईन मेरो काम छ म अर्को पटक आउँछु’ मैले यसरी नै भनें जसरी यो संबोधन गर्ने अविभावकलाई भनिन्छ । अनमोल संगै थिए उनलाई ‘हस् अनमोल जी म जान्छु’ भनें हुन्छ भनेर उनले फेरी हात जोडे उहि सालिन मुस्कानका साथ । म त्यहाँ बाट निस्किएपछि बाटोभरी सोच्दै आएँ ।

भुवन केसी सदावहार रोमान्टीक नायक, केटी बिबादका एक पर्याय कलाकार नै हुन् उनि । उनि बिबादित हुँदा सुरु-सुरुमा मलाई पनि लागेको हो, चरित्र खराव भएको कलाकार हो क्यारे, पछि उनि रोमान्टीक जीवनशैलीका नायक हुन् भन्ने अड्कल काटें मैले ।

आज प्रतक्ष्य भेटेरै उनिबारे अर्को अड्कल काट्ने मौका मिलेको थियो । म एउटा कथाकार पनि हुँ, कविता लेख्न मन पराउने मान्छे मेरा लागि भुवन केसी केवल एक मिठो बोल्न जान्ने कलाकार बाहेक महाभयंकर केही अनौठो कुरा नजर आएन । उनका महिला बिबादबारे पनि स्पस्ट भएँ म केही हद सम्म । उनि शब्दमा आत्मियता मिसाएर बोल्न जान्ने मान्छे रहेछन् ।

एक समय गायक बन्न हिँडेको मान्छे, नायक बन्यो उसमा शब्दलाई कसरी कलात्मक बनाउने भन्ने शैली थाहा रहेछ । अर्थात यो नै उनको कलाकारिता भित्रको कलाकारिता हो । जस्तो कि म स्वयं पनि म निकट साना र ठुला केटी साथीलाई पनि बाबा, कालु, नानी जे पनि भन्छु, आफुलाई यहि संबोधनले गलत सावित गरिदैंन भने केटालाई भन्न सक्छु, केटाले भन्दा सामान्य हुने केटीले भन्दा असामान्य भन्ने नै हुँदैन नारी पुरुष समान भनेपछि ।

म सानो देखिन्छु, लुक्स नै सुन्दर युवती भन्दा पनि किशोेर उमेर समुहले मन पराउने खालको छ । त्यसकारण पनि हुन सक्छ म संग टिनएजर र साना केटाकेटी एकदम छिटो मिल्न सक्छन् । यहि लुक्सले मलाई भुवन केसीले छोरा भने, फुच्चु भने तँ भने । लामो चिनजान भएको भए उनले बाबा पनि भन्थे यो त निस्चित नै छ ।

मेरो ठाउँमा एउटी सुन्दर युवती भएको भए उनले छोरा नभनी ‘नानु’ ‘कान्छु’ पनि भन्न सक्थे । यो उनको शैली रहेछ, जसको यो कलामा कोही महिला प्रभावित हुन्छन् , यसमा खरावी के भयो र ? सबैका आ-आफ्नै शैली छन् यहाँ कुनै नायक ५ पटक भेट्दा र परिचय गर्दा पनि नमस्ते फर्काउन समेत गाह्रो मान्छन यि नायक पहिलो भेटमै क्लोज हुँदा रहेछन् । यहाँ नेर मैले आफुलाई भनिएको छोरामा अनमोलको स्थान देखिदिएँ, फेरी यो भेटघाटले निरन्तरता पाएको भए संबोधन के के बन्थ्यो त्यो म जान्दिन तर म उनको बोलीबाट प्रभावित पक्कै भएको हुँ । उनको आसय खराव भएको संकेत पाएको भए म त्यहीँ भन्ने थिएँ, ‘ भुवन सर मलाई यो संबोधन मन परेन’ ?

उनि गलत यस अर्थमा पनि भएनन् कि त्यती आत्मियता देखाएका उनले पछि फेरी दोहोर्याएर मलाई फोन गरेनन् मैले गरेको भए उठाउन सक्थे, भेटौं भन्न नि सक्थे  या नभन्न नि सक्थे । यि मान्छे केटी खोज्दै हिड्ने भन्दा पनि आफ्नो प्रभाव स्थापित गर्न सक्ने मान्छे हुन् मेरो एउटा अनुभवमा । जो, कोही नजिक हुन आए नजिक हुन्छन् , मन परे बोल्न खोज्छन्, टाढा बस्न चाहे जबरजस्ती गर्दैनन् पनि होला । नायक हुन् अर्को कुरा मिल्ने संग बात मार्न प्रसस्तै भेटिन्छन् उनलाई । यो उनको चरित्र भन्दा पनि स्वभाव जस्तो लाग्यो मलाई । चन्चल मनका रोमान्टिक नायक जो चलचित्रमै जस्तो आफ्नो जीवनमा पनि देखिन्छ बेला बखत ।

यहाँ भुवन केसीले त मलाई ‘छोरा’ भने अरे यार भन्दै फुर्कनु पर्ने आवश्यकता नि थिएन । उसो त उनले नै मलाई बिर्षिसके होलान् पक्कै पनि । माथी भने जस्तै यो उनको स्वभाव हो उनि को संग के भनेथें, कुन संबोधन गरें उति सिरियस भएर याद नै गरेर बस्ने खालका मान्छे पनि होईनन् । धेरैमा नहोला तर यो पनि एक भिन्न र पृथक स्वभाव नै हो हामी लेखकका नजरबाट हेर्दा । यसलाई चरित्रहिन भन्न मिल्दैन ।

उनि यसरी बोल्दा रहेछन् र पो युवतीहरु उनिप्रति प्रभावित हुँदा रहेछन् । एउटा हिरोको कलाकारिता उसको स्वभावमा रहिनै रहन्छ चाहे त्यो रिल लाइफमा होस् या रियल लाईफमा । जसरी अभिनय फरक हुन्छ त्यसरी नै स्वभाव पनि भिन्न भिन्न हुन्छ कलाकारको । तर साँच्चै नै कलाकारहरु एक प्रकारको लहडी हुन्छन्, साहित्य संगीत र कलाकारितामा रहेकाहरु भावनाले सोच्ने हुँदा पनि मनमौजी नै हुन्छन् एक हदसम्म । मान्छे प्रभावित होस् आफुबाट भन्ने रहन्छ यि ३ क्षेत्रका मान्छेमा चाहे यो कुरा गलत हो भनेर मै माथि किन प्रश्न नगरियोस् । कथा लेख्दै गर्दा म आफैं पात्रको चरित्रमा प्रवेस गरेको हुन्छु कयौं पटक र भेटघाटमा समेत म उसैको क्यारेक्टरमा कसो कसो पसिनै रहेको हुन्छु । त्यसैले पनि भेटेका सबैसंग म प्रति एकै प्रकारको धारण रहँदैन । सामान्य म त यस्तो छु उनि त चर्चित कलाकार ।

मलाई कुनै आफुभन्दा जेठो पुरुषले साथी जसरी तिमी भन्छ भने मैले पनि उसलाई तिमी भनिदिन्छु । आश्चर्य के लाग्छ भने जव उसले तिमी भन्दा सम्म सबैलाई सामान्य लाग्छ मैले उसलाई तिमी भन्ना साथ ‘लौ यिनिहरुबिच त भयंकर आत्मियता रहेछ, फिजिकल रिलेसन नै होला, नत्र त यत्रो उमेरको मान्छेलाई कसरी तिमी भनि’ भनेर महाभयंकर धारणा बनाउछन् यहि क्षेत्रका मान्छे थरी थरीका । यति धेरै सोच्नु पर्ने के छ यसमा ? उनले छोरी, बहिनी, भतिजी, भान्जी, चेली ठानेर तिमी भनेको भए पो तपाँई भन्नु नै पर्छ नत्र साथीको रुपमा भएपछि तिमी भन्नु कुन चाहिँ ठुलो कुरा हो र यसलाई अनैतिक ठानिहाल्न । मलाई ५\ ७ बर्षका बच्चा देखी १८ \२० बर्षकाले नि ‘सुष्मा तिमी’ भन्छन् मलाई यसमा नराम्रो लाग्दैन भने यहि संबोधन निकटताका आधारमा मैले आफु भन्दा ठुलालाई गर्दा केटी भएकै आधारमा म प्रति अमर्यादित धारण त बनाउन सकिन्छ तर यो मेरो टाउको दुखाईको बिषय नै होईन ।

जव नारी पुरुष समान भनिन्छ भने कसैले तिमी कति राम्री, बाबा, नानु जे भनेपनि यसलाई  अपमान ठान्नु पर्ने आवश्यकता म देख्दिन । जसरी हामी महिलाले ‘तपाँई कति राम्रो’ भन्दा पुरुष मुस्कुराउन सक्छ हामी पनि उनिहरुले यसरी भन्दा चित्त नबुझे पनि ‘सरी मलाई तपाँईले यसरी भनेको राम्रो लागेन’ भनेर मुस्कानले जवाफ दिन सक्छौं कमसेकम सेलिब्रेटीलाई, किनकी उनिहरुको पनि आफ्नै ईज्जत छ यति शब्दले नै पनि पुग्न सक्छ यदि साँच्चैनै आफ्नो अस्तित्व बुझेको मान्छे हो भने ।

हामी नारी किन यति कमजोर ठान्छौं आफुलाई ? कसैले फिजिकल रिलेशन राख्छु भन्ना साथ मलाई हेप्यो भन्ने ? हाम्रा अंगमात्र संवेदनशिल र लाज हुन् ? उसका चाहिँ होईनन् ? उसले भन्यो, उसको अंग नांगो देखाउन चाहन्छु भनेर उसको पो लज्जा र ईज्जतको कुरा हो यो, मर्दागीं नै सुम्पन तयार छु भन्दैछ, नारी कुन अर्थमा अपमानित भै यो प्रस्तावले ?

एक पटक नागरिक दैनिकमा नै होला सायद पुराना संगीतकार र गायकले नयाँ महिला गार्यिकाहरुलाइ यौन दुब्यवहारमा परेका कुरा बाहिर आएको थियो, केही चर्चित महिला कलाकारले समेत उठाएका थिए यो कुरा । यहि चर्चाकै समय एकजना पुराना पत्रकारसंग भेट भयो कार्यक्रममा । एकदम भद्र शैलीका ति पत्रकारले मलाई भने ‘सुष्मा जी राम्री केटी देखेपछि आकर्षित जो नि हुन्छ, उसो त महिला पनि त राम्रो पुरुषसंग प्रभावित नै छन् । हामीले पनि भनियो होला कतिलाई घुम्न जाउँ न भनेर जाने नजाने दोस्रो ब्यक्तीको कुरा हो नी होईन र ?’

उहाँको यो कुरा एकदम सहि थियो । हो त शारिरिक मात्र किन मानसिक आकर्षण पनि हुन्छ, अरुका होलान् नहोलान् झुट र सत्य के बोल्छन् म जान्दिन मेरै फेसबुकमा पनि २\४ जना आत्मिय पुरुष मित्र छन् । गफका शिलशिला मिठा लागे भने कवि मन भएको मान्छे म घण्टौं गफ गरिपनि दिन्छु आफ्नो फुर्सद हेरेर। यौन मनोविज्ञानमाथी कलम चलाउने मान्छे भन्ने ठानेर नि, श्रीमतीसंगका सम्बन्ध, यौन प्रतिका धारण पुरुष शरिरको कमजोरी समेत सियर गर्दिन्छ्न कतिले यसमा मैले ‘वई के सोचेर बोलिस्’ भन्नु पर्ने हो कि के हो म जान्दिन ।   यदि मेरै लेभलको या म भन्दा उच्च या प्रशिद्धी कमाएको पुरुष मित्र आफ्ना कुरा सुनाउने अधिकार राख्छ भने म सुन्ने अधिकार किन नराखुँ ?

म यति मात्र सोच्छु यस बिषयमा कोही कुरा गर्न चाहन्छ भने यो त राम्रो कुरा हो नि । कुरा नगरेर कुण्ठा पालेरै त दुर्घटना भएका छन् भने उनिहरु सभ्य र सलिन रुपमा समस्या सुनाउँदा म अपमानित भएँ, मै संग सेक्स गर्न लाग्यो भन्ने म किन ठानुँ ? राम्रो लाग्दा सम्म बोल्छु, चित्त नबुझें ईग्नोर गरिदिन्छु । यहि गरेकै र बोलेकै भरमा मलाई चरित्रहिन भन्न मिल्छ ? उसैपनि म शरिरको अंगमा चरित्र देख्ने मान्छे नै होईन । जाबो प्रजनन अंग सबै सजिव प्राणिमा हुन्छ ।

अरु कुरामा चाहिँ समानता चाहियो समानता चाहियो भन्ने जाबो यौनका बिषयमा कुरा गर्न थालेपछि चाहिँ ‘आपुई यसले मलाई के सोचेर बोलेको’ भन्दै भाग्नु ?  मेरा नजरमा यो केवल प्रजनन प्रकियाका अंग माथीको छलफल हो त्यो बाहेक केही होईन । समानताको वकालत जति गरेपनि मुख्य समस्याको उद्यगम नै यौन असमानता हो । त्यसपछि मात्र सुरु हुन्छ शिक्षा, रोजगारी आदी । यौन असमानता मुल जड हो यसैबाट सुरु भएको हो छोरी स्कुल नपठाउने, साथीको घरमा नपठाउने, केटा साथीसंग हिडडुल गर्न नदिने आदी ईत्यादी भने पहिले यो समस्या मिलाउँ अनि अरु त आफैं मिलिहाल्छ नी ।

सतर्क हुनु राम्रो कुरा हो कतिपय अवस्थामा ब्यक्तीको नियत सफा नै भएपनि उसका अघिल्ला घटनाक्रमले बनाएको ईमेज अनुसार उसको चारित्रिक स्तर मापन गर्ने हाम्रो सामाजिक संरचनाले उसलाई हेर्ने दृष्टी नकारात्मक भै दिन पनि सक्छ । यो कुरा संधै सबैमा लागु नहोला तर सकारात्मक दृष्टी पनि परिवर्तनको एउटा ठुलो संवाहक हो ।

कला संवद्ध क्षेत्र नै खुल्ला सोचको फिल्ड हो यहाँ माया प्रिती, डेटिङ मात्र होईन सेक्सकै प्रस्ताव नि आईदिन सक्छ, यदि चित्त बुझ्दैन भने करिअर भन्दा ठुलो मेरो आत्मसम्मान हो भनेर तत्काल नै बिरोध गरौं । के थाहा त्यो बिरोधले अझै पो तपाँईलाई राम्रो मान्छेसंग मात्र काम गर्ने वातावरण बन्छ कि, यो ग्रामिण भेगकी केही नजानेकी नबुझेकी केटीमाथी भएको ब्यवहार होईन, शिक्षित र प्रसस्त सम्भावना भएकी युवतीमाथीको ब्यवहार हो, यसको प्रतिकार गर्ने क्षमतालाई मजबुत बनाउन सिकौं । समय बितेपछि  ‘किन काम गरेउ त यस्तो ब्यवहार गर्नेसंग ? किन पहिले बोलिनौं ‘जस्ता प्रश्न आउँछन् यो निस्चित हो । कलाकारिता क्षेत्र आफैंमा रोमान्सको बिसाल संसार हो । यहाँ अनेक सोच, नियत, मानसिकता र हैसियतका मानिस भेटिन्छन् । यदि हामी बिरोधबाट अधिकार खोज्न थाल्छौं भने समानता कहिल्यै हुँदैन नारी पुरुषमा । बैचारिक लडाईं लडौं ता की कुनै समय आफुलाई गलत प्रस्ताव नै राखेको थियो कसैले भने अर्को पटक भेट्दा उसलाई लज्जाबोध होस् ।