“बाढी पस्दा जता उच्च ठाउँ छ उतै भागियो । पहिरो जाँदा जता सम्म छ उतै दौडिइयो । राजनैतिक संकटकाल आयो, घरमा लुकेर बसियो । फेरि कालान्तरमा ठूलो भुकम्प आयो , घर छोडेरै खुला चौर खोज्दै भागियो। कहिले के, कहिले के !
” हुँदा हुँदै अहिले फेरि नौलो रोग पनि भित्रीयो । घर घरमै आफैले लक्ष्मण रेखा कोरेर बस्नु पर्यो । ” रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो ” भन्ने उक्तीले पनि बदलिएर नयाँ रुप लियो । “भाइरसले आक्रमण गर्नुभन्दा कोठामै थुनिएर बस्नु बेस ” । फेरि “एकता नै बल हो” भन्ने भनाईमा पनि अचेल पटक्कै मेल खाएको छैन।”
यस्ता कुरा सोच्दा सोंच्दै कहिले चामलका गेडा कहिले तोरीका गेडा गनेर पनि समय बिताउन बाध्य भएको चञ्चल प्रसाद पनि परिस्थितिले बाँधिएर निष्क्रिय बन्यो । हर चिजलाई जितेर अघि बढ्न खोज्ने उसको सोंचलाई पनि आजभोलिका आधुनिक प्रकोपहरुले प्रतिस्पर्धा गरेर उसलाई हराइसकेको छ। कुनै कुरामा पनि धैर्य गर्न नसक्ने उसको मानवीय गुणमा अहिले सहनशिलता र धैर्यताले बास गरेका छन् ।
अचेल भने उसले यस्तो सोंच मनमा लिएको छ –
“अखिर हामीहरु सबै सचेत प्राणी नै त पर्यौं , परिस्थिति
अनुसार चल्नै पर्यो । ज्यानको बाजी त अनाहकमा
जानीजानी कसले पो थाप्छ र ?”




