कविता : अतीत

तिम्रो आगमनको प्रतीक्षामा
आल्हादित बनिरहयो मन
कहिले सुनाखरी सरी लहरियो त
कहिले शीतसंगै सेताम्मे
फिजिए यादहरु।

तिम्रो आगमनको प्रतीक्षामा
भन्ज्याङ्गमा तिमीलाई पर्खी
गाइरहे तिम्रै गीतहरु
शिरैभरी सिउरिएँ
रातै लालीगुराँस
तिमीले सिउरिदिए जस्तै।

तिम्रो आगमनको प्रतीक्षामा
नूतन यामहरु फेरिए
कहाँ खोजिनँ तिमीलाई ?
जून तारालाई सोधें
मन्द मन्द पवनलाई सोधे
नीलो गगनसंग सोधे
कहि देखेकी तिमीलाई ?

तिम्रो आगमनको प्रतीक्षामा
श्यामश्वेत भइसके
तिम्रा तस्बिर नयनभरी
निर्जीव प्रायः बनिसक्यो जीवन
तर
तिम्रो सामीप्यताको कल्पनाले
मात्रै पनि सल्बलाउछन्
यी अवयवहरु
बौरीन्छु म एकाएक
तिमी आफैँ भन
म कसरी भूलूँ मेरो अतीत ?

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।