सर्प र न्याउरीको खेल

त्यति बेला सर्प र न्याउरीको सम्बन्ध निकै राम्रो थियो । जंगलमा ती दुईको मेल भएपछि कसैको केही जोर चल्दैन थियो । अरू त अरू जंगलका राजा सिंहसमेत उनीहरूको मेल देखेर डाह गथ्र्यो ।

सर्प र न्याउरीको मेलले मानिसलाई फाइदै थियो । घरको अन्न खाइदिने र कपडा काटिदिने मुसालाई नियन्त्रणमा लिने यही सर्पन्याउरी जोडी थियो । न्याउरी मुसा जातकै भएकोले मुसा भएकै ठाउँतिर चर्न निस्कन्थ्यो । पछि पछि सर्प लाग्थ्यो । गाउँका मुसा न्याउरीदेखि डराउँदैनथे । हामीजस्तै त हो नि भनी नडराई न्याउरी छेउछाउ खेल्न निस्कन्थे । यता न्याउरीले काल नजिकै ल्याइरहेको छ भन्ने पत्तो पाउँदैनथे मुसाले । मुसाको हूलमा न्याउरी पस्दानपस्दै एक दुई मुसा सर्पले निलिदिन्थे ।

यिनीहरूको मित्रता देखेर सबैभन्दा डाह गरुडले गर्थे । सर्पले मनपरी मुसा खान थालेपछि गरुडले आहार पाउनै मुस्किल हुन्थ्यो । त्यसैले गरुड यिनीहरूको मित्रता तोड्न प्रयासरत थिए । ‘न्याउरी र सर्पको सम्बन्ध तोड्ने गतिलो उपाय भनेको गाउँकै मुसा प्रयोग गर्नु हो’, एक दिन गरुडले सोच्यो । पहाडको अग्लो ढुंगामा बसिरहेको गरुड उड्दै मुसा खोज्दै गाउँ पुग्यो । अनि बथान नजिकै पुग्यो । मुसाहरू डराउँदै भाग्न थाले । ‘तिमीहरू नडराओ, आज म तिमीहरूलाई सर्पबाट बच्न सकिने उपाय बताउन आएको हुँ’, गरुडले भने ।

हुन त गरुड पनि मुसाको शत्रु नै हो । तर, धेरै पीडा भने उनीहरूले सर्पबाटै पाइरहेका थिए । मुसाहरू चनाखो भएर गरुडको कुरा सुन्न लागे ।

‘हेर मुसा हो, तिमीहरूलाई थाहै छ न्याउरी र सर्पको मिलेमतोमा मुसा नाश पार्ने अभियान चलिरहेको छ, त्यसैले तिमीहरूले मेरो कुरा मानेमा सर्पबाट बच्न सक्छौ’, गरुड बोल्यो ।’कस्तो उपाय, बताउनुस् न गरुड दाइ’, फुच्चे मुसा बोल्यो ।

‘सुन, यहाँदेखि केही परको गाउँमा एक किसान परिवार बस्छन्, उनीहरू निकै गरिब छन्, उनीहरूलाई दैनिक खाना पनि निकै धौधौ हुन्छ । ती गरिब परिवारको सेवा गरेमा तिमीहरू सर्पबाट बच्न सक्छौ’, गरुडले उनीहरूलाई विश्वस्त बनाउन खोजे ।

‘मानिसले नि हामीलाई कहाँ बस्न दिन्छन् र, बडाबडा बिरालो पालेका हुन्छन्, धराप थापेका हुन्छन्’, बूढो मुसा बोल्यो ।
‘तिमीहरू ढुक्क होऊ, त्यो किसान परिवारलाई म सम्झाउँछु, आजैबाट तिमीहरू त्यो मानिसको घरमा बस्न थाल’, गरुड पक्का कुरा गरी त्यहाँबाट उड्न खोज्यो ।

‘पर्खनुस्, हामीले मानिसको सेवा कसरी गर्न सकिन्छ, के मानिसहरूले हाम्रो सेवा विश्वास गर्छन् र ? ‘, चुच्चे मुसाले शंका व्यक्त गरे ।

‘चुच्चे, तिमीले एकदमै राम्रो कुरा सोध्यौ, मैले पनि भन्नै पो भुलेछु, किसानलाई सेवा गर्ने तरिका म सिकाइदिन्छु’, गरुड खोक्दै बोल्यो, ‘धान बटुलेर ती मान्छेको भकारी भरिदेऊ, मकै भरिदेऊ, कोदो भरिदेऊ, अनि तिमीहरूलाई मानिसले देउताझैं मान्न थाल्नेछ ।’

गरुड किसान परिवारको झुप्रोमा पुग्यो । परिवारको नाइकेलाई भेटेर मुसाले सहयोग गर्न चाहेको कुरा सुनायो । यसको बदलामा ती नाइकेले मुसाको सुरक्षाको बन्दोबस्ती लिनुपर्ने भयो । झुप्रोमा बस्ने किसान परिवारलाई खानपिनको बन्दोबस्ती गर्न धौधौ हुन्थ्यो । गरुडले किसानलाई भन्यो, ‘मुसाको रक्षा गरे बसीबसी खाना पाउनेछौ ।’ यसको बदलामा गरुडलाई दैनिक मासु खुवाउनुपर्ने जिम्मा किसान परिवारमा आयो । किसान परिवारका बिरालो घरमा नराख्न मनाए । गरुडको सर्त नाइकेलाई मन पर्‌यो ।

मुसाहरू किसानको झुप्रोमा आउजाउ गर्न थाले । मुसाले घरमा धान थुपार्दै गए । मकै ओसार्न थाले । कोदो बटुल्न थाले । झुपडीमा अन्नको रास भर्न थालेपछि किसानको सुखका दिन सुरु भयो । मुसाहरू पनि किसानको घरमा सुखसँग बस्न थाले । गरुडलाई विभिन्न जंगली जनवार मार्दै मासु खुवाउने काम गर्थे किसान परिवार ।

एक बिहान परिवारका नाइकेले घरको ढोकानजिकै न्याउरी र सर्प पक्रे । दुवैलाई बेग्लाबेग्लै पिँजरामा राखियो । मुसाकै जासुसीमा उनीहरू पक्राउ परेका थिए । ‘अब यिनीहरूलाई एउटा खेल खेल्न लगाऊँ, जसले गर्दा हाम्रो परिवारलाई पनि रमाइलो होस् । यिनीहरूबीचको सम्बन्ध पनि बिग्रोस्’, नाइकेले मनमनै भन्यो ।

किसानले न्याउरीलाई छुट्टै लगेर धम्क्याउँदै भन्यो, ‘हेर तिमी निकै बुद्धिमान् छौ, तर सर्पजस्तो दुष्टसँग मित्रता गाँसेर हिँडेका रहेछौ, मलाई तिमीहरू मिलेकोमा कुनै रिसराग छैन, तर मलाई तिमीहरूको एउटा खेल हेर्न मन छ, यो खेलमा तिमीले सर्पलाई मार्नैपर्छ, मारेनौ भने तिमीलाई मारिदिन्छु ।’ यता सर्पलाई पनि यसैगरी धम्क्यायो । जसरी पनि न्याउरीलाई मारेर मुसालाई झैं खान धम्की दियो ।

न्याउरी र सर्प संकटमा पर्‌यो । वनमा दुवैका ससाना बच्चा थिए । आफू मारिए ती बच्चाको बिजोग हुने थियो । न्याउरीसँग अन्तिम उपाय बाँकी थियो- सर्पलाई मारेपछि उपचार गरी ब्यूँताउने । न्याउरीले किसानको कुरामा सहमति जनायो । यता सर्पले पनि आफूले जिउँदै निल्ने र केही बेरमा पेटबाट निकाले न्याउरी जिउँदै रहने अन्तिम उपाय बाँकी रहेको निष्कर्ष निकाले ।

ठूलो चौरमा न्याउरी सर्प खेल सुरु भयो । वरिपरि परिवारका सदस्य लाठी र हतियार लिएर उभिँदै हेर्न थाले । नजिकै मुसाहरू पनि रुचिपूर्वक सर्प र न्याउरीको लडाइँ हेरिरहेका थिए । न्याउरीले सर्पलाई एकैछिनमा तीन टुक्रा पारिदियो । परिवारको सदस्य र मुसाहरूले परर ताली बजाए । निकै मज्जा मानेर नाइकेले न्याउरीलाई स्याबासी दिए । साँझमा न्याउरीसँग बिदा मागेर सबै परिवार घर फर्के । यता न्याउरीले औषधि लगाइदिएर सर्पलाई ठीक बनाइदियो ।

सर्प निकै रिसाएका थिए । सर्पसँग न्याउरीले भेट्ने निकै प्रयास गरे । तर, रिसाएका सर्पले भेट्नका लागि समय नै दिएनन् । सर्प केही दिन जमिनभित्रै बसे । केही समयपछि उसले यो घटना आफ्ना सबै साथीलाई सुनाइदिए । अब उसो न्याउरीलाई कुनै ठाउँमा पनि सर्पले सहयोग नगर्ने घोषणा नै गरे । सर्पले बेलाबेला न्याउरीका बच्चा मारिदिन थाले ।

न्याउरीले धेरैपटक सर्पसँग मित्रता गाँस्न चाहेको कुरा सुनाए । तर, सर्पले कहिल्यै मानेनन् । त्यो बेलादेखि न्याउरीले र सर्पको मेल कहिल्यै हुन सकेन । सर्पले जहिले पनि आफ्नो फुल जमिनभित्र लुकाउनुको कारण पनि यही झगडा भएको कथन रहेको छ ।