आँधीखोलाको बजेट ४६ करोड


आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले ४६ करोड ६ लाख ६० हजार बराबरको बजेट गाउँसभामा गरिन् ।

आँधीखोला गाउँपालिकाले पूर्वाधारको विकाससँगै कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा क्वारेन्टाइन व्यवस्थापन को साथै रोजगार विहीन नागरिकलाई लक्षित गरी रोजगार र कृषिमा जोड दिदैँ नीति कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ ।

कृषि उद्योग पर्यटन एवम् श्रम मार्फत रोजगार सिर्जना गर्न ३ करोड ३४ लाख वजेट छुट्याएको छ । कुल बजेटको ४० प्रतिशत अर्थात् करिव १७ करोड वजेट भौतिक पूर्वाधार क्षेत्रमा विनियोजन गरेको आँधीखोला गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकिय भवनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पूर्वाधार विकासको वजेटमध्ये सबै वडा कार्यालय सम्म पुग्ने बाटो स्तरउन्नती एवम् पिच गर्ने नीति तथा कार्यक्रम रहेको छ । गाउँपालिकाको वडा न ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउनन्तीका लागि बहुवर्षिय कुल रु १० करोडमध्ये आगामी आर्थिक वर्षको लागि रु ४ करोड बजेट विनियोजन भएको छ । वडा न १ पञ्चमुल सिरुवारी जोड्ने सडक र वडा न ३ मा फुलबारी पुवाँडाडा सडक खण्डको स्तरउन्तीको काम हाल तिव्र गतिमा भइरहेको छ भने वडा न २ को वडा कार्यालय जोड्ने सडकको स्तरउन्नती तथा पिचको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

वडा न १ र ३ मा नयाँ वडा कार्यालय भवन बनि सकेको छ भने हाल वडा न ४ मा काम भइ रहेको छ । त्यस्तै आगामी आर्थिक वर्ष वडा न २ को वडा कार्यालय भवन निर्माण गर्न वजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै अत्याधुनिक सुविधा भएको सपिङ कम्प्लेक्स सहितको बहुउद्देशिय सभाहल सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको कूल बजेट मध्ये चालुतर्फकोआर्थिक, सामाजिक,सांस्कृतिक,सामाजिक, सुशासन, न्याय तथा समानता, लैङ्गिक तथा समावेशिकरण एवं कार्यालय संचालन तथा प्रशासनिक तर्फ रु ७ करोड ३७ लाख, पुजीँगत खर्च तथा पूर्वाधार विकास, निर्माण तर्फ रु १८ करोड ५५ लाख र शशर्त कार्यक्रम तर्फ २० करोड १४ लाख वजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको शिक्षा क्षेत्रमा कुल वजेटको ३३ प्रतिशत अर्थात् १४ करोड ५० लाख वजेट बिनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ३ करोड २८ लाख वजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत भएका गौरवका आयोजनाहरूलाई पूर्ण रुपमा सम्पन्न गर्ने वजेटले लक्ष्य लिएको छ। कोरोना रोकथाम, नियन्त्रण र उपचार एवम् क्वारेन्टाइन व्यवस्थापनको लागि रु ४० लाख बजेट विनियोजन गरेको छ ।

श्रमिकको लागि काम तथा रोजगारीको लागि ८१ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । सिंचाइ खानेपानी , काठेपोल विस्थापन लगायत सामाजिक न्याय र समानता, समावेशिकरण,आर्थिक, सामाजिक , सास्कृतिक क्षेत्रको विकासमा वजेटले जोड दिएको छ । नीति तथा कार्यक्रम र बजेट आज नै पारित भएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं