कोरोना कहरमा करदातालाई पोखरा महानगरको छुट


पोखरा महानगरले कोभिड १९ को महामारीका कारण चैत ११ देखि भएको लकडाउनबाट प्रभावित व्यवसायीलाई विभिन्न तवरले छुट दिएको छ ।

चैत ११ देखि जेठ मसान्तसम्म भएको बन्दाबन्दीको कारणले नगरको आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव पारेकाले करदातालाई यो ३ महिनाको घर भाडा तथा वहाल कर छुट पछि तिर्ने सुविधा दिएको छ ।

यो रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिकभित्र मिलान गर्न प्रस्ताव गरिएको छ । महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान गर्ने भएको छ ।

अन्डरग्राउन्ड पार्किङसहित निर्माण भएका घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था र भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेबलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट

पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइनेछ । पूर्ण रुपमा पार्किङ भवन बनाएमा राजश्व छुट दिइने बजेटमा प्रस्ताव छ ।

महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिन प्रस्ताव गरिएको छ । अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिने भएको छ ।

लकडाउन अवधिमा घर धनीहरुले घर भाडा मिनहा गरेमा सो अवधिको वहाल करमा छुट दिइने भएको छ । महानगरका नियमित करदाताहरुलाई कोभिड १९ को कारण व्यवसामा परेको असरलाई मध्यनजर गर्दै निश्चित मापदण्ड तयार गरी सहुलियतको व्यवस्था दिइने भएको छ ।

पोखरा महानगरले ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ ।
महानगरका उप्रमुख मञ्जुदेवी गुरुङले बुधबार सातौं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।