को हुन् ओशो ?

जगतमा सम्बुद्ध युगपुरुषहरुको उपस्थिति  

मानव सभ्यताको शुरुकालदेखि संसारको ईतिहास हेर्ने हो भने यो जगत कहिल्यै पनि सम्बुद्ध चेतना बिहिन रहेको छैन, हरेक युगमा कोहि न कोहि युगपुरुषको जन्म भएकै हुन्छ जसले देश,जाति,भाषा र लिङ्ग आदि मानिसहरुले लगाएका साघुरा घेराबाट माथि उठेर संसारभरीका मानवमात्रै होईन कि चराचर जगतका सबै प्राणीहरुको कल्याण मित्रको रुपमा कार्य गर्दछन् । बिभिन्न युगमा जन्मेका शिव, मत्सेन्द्रनाथ, गोरखनाथ, कृष्ण, महावीर, बुद्ध, जीसस, मोहम्मद, कवीर, मीरा, रावीया, मन्सुर, फरिद, रैदास, स्वामी रामकृष्ण, बिवेकानन्द, महर्षी रमण, शिवपुरी वावा, परमहंश योगानन्द आदि जस्ता महापुरुषहरुले आÏनो ध्यान र प्रज्ञाले स्वयंलाई त परमात्मा स्वरुप वनाए नै, यिनीहरुको जन्मले यो धर्ती नै धन्य भयो । 

आदि शिवको जन्मको समय खासै यकिन भएको छैन, कसैले दश हजार बर्ष अगाडी भनेका छन् भने कसैले नब्वे हजार वर्ष । तर एउटा कुरामा सबै एकमत छन् कि उनको जन्मचाहिं यहिं हिमालयको कुनै क्षेत्रमा भएको हो । शिवले हाल तिब्बतमा पर्ने हिमालयको खण्ड कैलाश पर्वत देखि नेपाल र गढवाल हिमालयका क्षेत्रहरुलाई आÏनो साधनास्थली वनाए । संसारभरका जुनैसुकै देशका हिन्दूहरुका लागि शिव आराध्यदेव हुन् र आजसम्मको मानव इतिहासमा ध्यानका प्रथम गुरु शिवलाई नै मानिएको छ, उनलाई आदि शिव वा आदिनाथ पनि भनिन्छ । शिवको परम्परामा अर्का एक प्रशिद्ध योगी भए गुरु गोरखनाथ । गोरखनाथका गुरु थिए मत्सेन्द्रनाथ, जसको बारेमा कथन छ कि उनि आदि शिवबाट नै दीक्षीत थिए । उनिहरुको जन्मको बारेमा अनेकौं किम्बदन्तीहरु प्रचलनमा छन् । एकाथरी इतिहासविदहरु उनि करीव  पैतिस सय देखि चार हजार बर्ष अगाडि जन्मीएका हुन् भनेर भन्छन् भने कतिपयले उनी सात हजार बर्ष देखि दश हजार बर्ष अगाडी जन्मेका हुन् भनेका छन् । नेपालको पाटनको बुगंमतीमा मत्सेन्द्रनाथका जन्म भएको भनेर पनि किम्बदन्ती छ । मत्सेन्द्रनाथले नाथ योगीहरुको प्रथा शुरु गरे र भनिन्छ गोरखनाथलाई योगमा पारंगत वनाए । गोरखनाथले नेपालको पाटनमा बाह्र बर्ष ध्यान गरेको लोककथा हामीकहा प्रचलित छ । समाधीको उपलब्धी सहज होस् भनेर गुरु गोरखनाथले योग र ध्यानका अनेक बिधीहरुको प्रतिपादन् गरे ।  हाल नाथ सम्प्रदायका योगीहरुको परम्परा नेपाल तथा भारतका हिन्दू मन्दिरहरुमा जीवितै छ । 

करीव छब्बीस सय वर्ष अगाडी नेपालको लुम्बीनीमा जन्मेका कपीलबस्तुका राजकुमार सिद्धार्थ गौतम गयाको जंगलमा बुद्धत्वको उपलब्धी पश्चात गौतम बुद्ध वने र हजारौं ब्यक्तिहरुलाई ध्यानको मार्गमा पथ प्रर्दशन गरे । ब्यक्ति एक्लैले साधनाको मार्गमा अगाडी बढ्न कठिन छ भन्ने बुझेर बुद्धले सामुहिक आवासका बिहारहरु निर्माण गरे र सामुहिक ध्यानको प्रयोग गरे । उनको जिवनकालमा नेपालका तराई क्षेत्र र हालको बिहार र उत्तर प्रदेशमा फैलिएको उनको शिक्षणले अहिले विश्वका धेरै मुलुकमा हागा बिगा फैलाएको छ र समकालिन समयमा उनि जत्तिकै आदर गरिने ब्यक्तित्व शायदै कोहि छन् । नेपालमा जन्मीएका सिद्धार्थ, बुद्ध बनेपछि बिश्वकै जगतगुरु बने भन्दा फरक नपर्ला । त्यस्तै, महावीर, जीसस्, मोहम्मद, कवीर, रैदास, नानक, मीरा, फरिद, रामकृष्ण, महर्षी रमण, परमहंश योगानन्द, शिवपुरी वावाजस्ता गुरुहरुले मानव चेतनाको बिकासमा जीवन आहूती गरे त्यसैले पनि उनिहरु जन्मेको देश, भेष र भाषाको सिमाना तोडेर संसारमा समादरणीय भएका छन् । 

ओशोको जन्म उनको क्रान्तिकारी जीवन

एक्काईसौं सताब्दीको विज्ञान तथा प्रविधिको अत्यन्त प्रतिस्पर्धात्मक आधुनिक युगमा आध्यात्मले सहि दिशा निर्देश नपाएको होकि भन्ने अवस्थामा समकालिन आध्यात्मिक गुरुहरुमा सबैभन्दा चर्चित ओशोको अभ्युदय भयो । सम्बुद्ध पथ प्रर्दशकहरुको अभावमा परम्परागत बिधीहरु र सम्प्रदायहरुमात्रले ब्यक्तिहरुको आध्यात्मिक रुपान्तरणको सम्भावना न्यून बन्दै गएको अवस्थामा जन्मेका ओशोले युग सुहाउदा बिधीहरु रचना गरे र आधुनिक युगको मनुष्यलाई तनावमुक्त भई आनन्दित रुपमा बाच्ने कला सिकाए । 

ईस्वी सन् १९३१ डिसेम्बर ११ शुक्रबारको दिन भारतको मध्य प्रदेशको कुचवाडा भन्ने गाउँमा एक बालकको जन्म भयो । माईतीघरमा सन्तान जन्माउने सामाजिक प्रचलन अनुसार माता सरस्वतीले  बालकलाई मातापिताको घरमा जन्मदिएकी थिईन् । रजनीश चन्द्रमोहन नाम दिईएका ति बालक कालान्तरमा आचार्य रजनीश, भगवान रजनीश अनि ओशो नामले विश्व प्रशिद्ध भए । 

बालक रजनीशले वाल्यकालको प्रथम ७ बर्ष मावली हजुरबुवा र हजुरआमाले उपलब्ध गराएको प्रेमपूर्ण र स्वतन्त्र माहोलमा मावली घरमा बित्यो । ७ बर्षको उमेरमा हजुरबुवाको मृत्यु पछाडी भने उनि बुवाको पारिवारिक गाउ“ मध्यप्रदेशकै गाडरवाडा भन्ने स्थानमा फर्केर आए । आफ्नो बाबुआमाका ११औं सन्तान मध्ये जेठा ओशो  बाल्यकालदेखि नै निडर, निर्भिक तथा साहसी थिए । १०० फिट उचाईको पुलबाट बर्खे भेलले मात्तिएको नर्मदा नदिमा हामफाल्नु र पौडी खेल्नु उनको लागि सामान्य जस्तै थियो । स्कुल पढ्न भर्ना हुदाको पहिलो दिनमै हेपाहा शिक्षकको विरुद्धमा आवाज उठाउनु देखि लिएर उच्चशिक्षा पढदै गर्दा कलेजको अवैज्ञानिक शिक्षा पद्दतिको विरुद्धमा उनले सधै  बिद्रोहको हात उठाए । पछि गएर चर्चित आध्यात्मिक गुरु बनेपछि पनि जीवनको अन्तिम श्वाससम्म बिश्वमा जरागाडेको धार्मिक पाखण्डताको पर्दाफास गरिरहे र त्यही विद्रोहको उपहार स्वरुप अकालमै ज्यान गुमाए । 

पुर्वजन्मका संस्कार तथा यस जन्मको गहन साधनाले २१ बर्षको उमेरमा सन् १९५३ मार्च २१ को मा मध्यप्रदेशको जवलपुरमा विद्यार्थी छँदा नै उनमा सम्बोधी घटिसकेको थियो तर उनले त्यससमयमा आफ्नो सम्बोधीको वारेमा सार्वजनिक रुपमा केहि बोलेनन् र आफ्नो उच्च शिक्षाको अध्ययन जारी राखे । ओशोले सन् १९५७ मा २६ वर्षको उमेरमा गोल्ड मेडलिष्टको रुपमा साईकोलोजी बिषयमा एम.ए.को डिग्री लिएपछि शिक्षण पेशा अंगाले । उनले शिक्षणको साथसाथै भारतका विभिन्न स्थानहरुमा प्रवचन तथा ध्यान शिविरहरुको आयोजना गरी तनावमुक्त जिवन जीउने कला सिकाउन शुरु गरे । त्यस बखत उनी आचार्य रजनीश भनेर चिनिन्थे । आध्यात्मका प्यासीहरुको लागि कल्याण मित्रको रुपमा पथ प्रर्दशन गरिरहेपनि आफूलाई गुरुको रुपमा भने स्थापित गर्नै चाहेनन् आचार्यले । आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए । सन् १९६९ को अन्त्यतिर आचार्य सदाको लागि जवलपुरबाट बम्बे आए र वुडल्याण्ड नाम गरेको अपार्टमेण्टको कोठालाई आफ्नो निवास बनाए । सन् १९७० को अप्रीलमा आचार्यले एक्काईसौं सताब्दीको मनुष्यको लागि एक क्रान्तीकारी बिधी — डाईनमिक ध्यान रचना गरे जुन ध्यान बिधी अशरिर मन र आत्माको स्वास्थ्य उपलब्धीको लागि अचुक औषधीको रुपमा स्थापित भएको छ । 

एकदिन अचानक, सन् १९७० को सेप्टेम्बर २६ तारिखको दिन आचार्य रजनीशले सत्र वर्ष अगाडीनै आफुले बुद्धत्व पाईसकेको घोषणा गर्दै, भारतको हिमाञ्चल राज्यको मनालीमा संचालित ध्यान शिविरमा दश जना साधकहरुलाई दीक्षा दिई एक नविन ध्यान आन्दोलनको सुत्रपात गरे । आचार्यले आफ्नो अभियानलाई नव–सन्यास भनेर नाम दिए । सन् १९७१ को समयतिर आचार्यलाई शिष्यहरुले श्रद्धापुर्वक भगवान भनि सम्बोधन गर्न थाले, भगवान अर्थात स्वयंलाई चिनेको सम्बोधी प्राप्त ब्यक्ति । रजनीशले भने “ भगवत्ता मेरो मात्र होईन संसारका सबै प्राणीहरुको जन्मसिद्ध अधिकार हो ” ।

बम्बैको धुलो र धुवायुक्त प्रदुशित वातावरणले भगवान रजनीशको कोमल स्वास्थ्यमा असर पार्न थालेपछि उनका परम भक्तहरुले बम्बे भन्दा स्वच्छ वातावरण र हरियाली भएको पुना शहरमा एक घर किने र सन् १९७४ मार्च २१ को दिन सोहि स्थानमा भगवान रजनीशले पहिलो आश्रम स्थापना गरे । गुरुको प्रेम उर्जाले लवालव भरिएका शिष्यहरुको अग्रसरतामा विश्वभरी आश्रम तथा ध्यान केन्द्रहरु खुल्न थाले । नेपालमा पनि भगवानका प्रथम नेपाली शिष्य स्वामी आनन्द अरुणले आफ्नो एक तल्ले घरको कोठामा आशिष रजनिश ध्यान केन्द्र स्थापना गरे । 

सात बर्षको पुना प्रवास पश्चात् सन् १९८१ मा भगवान रजनिश अमेरीका पुगे र तिन बर्षभित्रै अमेरीकाको ओरेगन राज्यमा १२६ बर्गमाईलको एउटा बन्जर क्षेत्रमा “रजनीश कम्युन” को निर्माण गरे जुन देखेर सारा बिश्वनै चकित भयो । “ एक बिश्व एक मानव समाज ” को  यस अद्भूत प्रयोग रजनीशपूरम नामले प्रशिद्ध भयो र त्यहाँ संसारभरका बिभिन्न देशबाट आएका ५००० जना साधकहरु नियमित रुपमा बस्न थाले । अमेरीकी सरकारले पनि रजनीशपुरम्लाई एक नगरको रुपमा बिधीवत कानुनी दर्जा दियो । त्यस वखत ओशोका नवसन्यासी शिष्यनै रजनीशपुरम नगरको मेयर चुनिन्थे भने “गुणतन्त्रको प्रयोगले ( गुणतन्त्र : ब्यक्तिको बिज्ञता र गुणको आधारमा काम दिईने बिधी ) त्यसनगरका प्रशासनिक र बिकासका कामहरुले उच्च स्तर छुन थाले । यसले गर्दा रजनीशपुरम् अमेरीकामैं एउटा आदर्श नगरको रुपमा स्थापित भयो । भगवान रजनीश र उनका शिष्यहरुले उदहारण देखाईदिए कि नवसन्यासीले पुरातनकालका जोगीहरुले जस्तै मागेर खाने या समाजदेखि पलायन गर्ने होईन कि समाजमै बसेर यो संसारलाई अझै सुन्दर पार्न सक्दछन् । 

रजनीशपुरम् कानुनतः रुपमा अमेरीकाको शहर थियो तर आध्यात्मिक रुपमा त्यो एउटा बिश्व बन्धुत्वको नमुना नगर थियो । रजनीशपुरमका निवासी न कुनै देश न कुनै सम्प्रदायका थिए, उनिहरु थिए एक सम्बुद्ध सद्गुरुको मानव कल्याणकारी भिजनका सहयात्रीहरु । भगवान रजनीश अमेरीकामा बसेको करिब ४ बर्ष पुग्दानपुग्दै विश्वभरी उनका करीव ५०० आध्यात्मीक केन्द्रहरु खुलीसकेका थिए जसमा जर्मनी, फ्रान्स, अष्ट्रेलिया, ब्रिटेन जस्ता देशहरुमा आफ्नै बिमान र बिमानस्थल भएका कम्युनहरु समावेश थिए । उनको कार्य ध्यान आन्दोलनको रुपमा संसारभर आगोसरी पैmलिरहेको थियो । दैनिक तिन सयको करीव संख्यामा पश्चिमी देशका साधकहरु ध्यान आन्दोलनको नवसन्यासमा दीक्षीत भईरहेका थिए । यो देखेर पश्चिमी धार्मीक अतिवादीहरुलाई लाग्यो कि भगवानले नवसन्यासको रुपमा पूर्विय धर्म फैलाउदै छन् । त्यसैले उनीहरुको षडयन्त्र स्वरुप १९८५ अक्टोवरमा रोनाल्ड रेगनको अमेरीकी सरकारले भगवानलाई भिसाको म्याद सकिएको सामान्य बहानामा गिरफ्तार गर्यो, १२ दिनसम्म जेलमा राख्यो अनि अमेरिकाबाट जर्वजस्ती निर्वासन गरिदियो र जर्वजस्ती भारत फर्कन बाध्य पार्यो ।  त्यहि समयमा धार्मीक अतिवादीहरुले आफ्ना एजेण्टहरु भगवानको संगठनमा घुसपैठ गराए । अनि तिनै एजेण्टहरुले सन् १९९० को जनवरी १९ मा ५९ बर्षको उमेरमा पुना आश्रममा ओशोको हत्या गरिदिए । त्यतिले मात्रै नपुगेर अतिवादिहरुले ओशोका संसारभरि स्थापित ५०० वटा केन्द्रहरुमध्ये अधिकांश केन्द्रहरु प्रपञ्च गरेर बन्दै गराईदिए । ओशोको अस्वभाविक मृत्युको घटनाक्रमहरुलाई केलाएर  हिन्दूस्तान टाईम्सका पुना सम्पादक अभय बैद्यले WHO KILLED OSHO ? भन्ने पुस्तक लेखेका छन् जसले ओशोमाथि भएको षडयन्त्रलाई उजागर गरेको छ । 

हिमालय ओशोलाई अत्यन्त मन पर्ने स्थान हो । उनले भनेका छन् कि जीउनको लागि तथा शरीर छोडनको लागि हिमालय भन्दा उत्तम स्थान संसारमा अर्को कुनै छैन । अमेरीकाबाट फर्केपछि उनले भारतको हिमालयक्षेत्र मनालीमा आश्रम स्थापना गर्ने प्रयास पनि गरे तर राजीव गान्धीको भारतीय सरकारले पनि आफ्नो देशका आध्यात्मिक बिभूतिलाई चिन्न सकेन र बिभिन्न बहानाले सताईरह्यो अनि गिरफ्तार गर्न खोज्यो । यस्तैमा, स्वामी आनन्द अरुणको प्रयासले सन् १९८६ को जनवरी ३ मा भगवान रजनीश नेपाल आए । नेपाल तथा नेपालीहरुको सौभाग्य थियो कि ओशो जस्ता सद्गुरुले नेपाली माटोमा टेके अनि नेपालीहरुको दूर्भाग्य कि ओशो ४७ दिनमात्र नेपालमा बस्न पाए । पोखराको फिष्टेल होटल नेपालका राजदरवारको स्वामीत्वमा थियो र त्यहि भगवानले आफ्नो कम्युन बनाउन चाहन्थे । नेपालका तत्कालिन राजा बिरेन्द्रको पनि भगवान प्रति प्रेम थियो र उनि पनि चाहन्थे कि भगवान पश्चिम नेपालको कुनै पनि क्षेत्रमा आश्रम बनाएर बसुन् । तर अतिवादिहरुले षडयन्त्र गरी भगवानलाई नेपालमा बस्नै दिएनन् । नेपालबाट जादाजादै भगवानले स्वामी आनन्द अरुणलाई काठमांडौको नजिकै कम्युन स्थापना हेतु आवश्यक निर्देश दिएर गए । स्वामी अरुणले एक अचम्मको रहस्य खोल्दै भन्छन कि, ओशो शरीरमा रहँदाका चार बर्षसम्म जति प्रयास गरेपनि आश्रमको लागि स्थान पाउनै सकिएन तर ओशोको महापरिनिर्वाणको तत्कालै कम्युनको लागि उपयुक्त स्थान भेटियो  र सन् १९९० मार्च २१  सम्बोधी दिवसको दिन काठमांडौको बालाजुबाट ५ किलोमिटरको दुरीमा रहेको गोलढुङ्गामा ओशो तपोवनको स्थापना भयो जुन । 

मानव सभ्यतालाई ओशोको देन

ओशोले परम्परागत आध्यात्मीक शास्त्रहरुमा जमेको धुलो हटाई तिनीहरुलाई एक नवीन परिभाषा दिए । ध्यानका प्रथम गुरु भगवान शिवले देवि पार्वतीलाई सिकाएका ध्यान बिधीहरुको ग्रन्थ “बिज्ञान भैरव तन्त्र”का ११२ वटा बिधीहरुको सुक्ष्मतम् ब्याख्या आधुनिक युगमा ओशो बाहेक कसैले गर्न सकेका छैनन् । त्यस्तै भगवान बुद्धको “धम्मपद” को ब्याख्या कुनै पनि बुद्धिष्ट बिद्वानको लागि चुनौती र समाजलाई अनुपम उपहारै हो । ओशोले अष्टाबक्रको “ महागीता ”, भगवान कृष्णको “ गीता दर्शन ” साथै गोरख, कवीर, नानक,मीरा, फरिद, रैदास आदि ७० वटा सन्तहरुका ग्रन्थलाई साधनामय ब्याख्यासहित हामीसामु पस्किदिए र बिभिन्न कालखण्डका युगपुरुषहरुलाई हामी समक्ष पुनः उभ्याईदिए । सामान्यतयाः कुनै गुरुहरुले अरुलाई प्रशंसा गर्दै अर्कैको हराईसकेको ग्रन्थलाई ब्याख्या गरिदिएर आफ्नै खुट्टामा बन्चरो हान्दैन । यसको लागि असिमित ज्ञानको खानी अनि स्वयंप्रति अटल आत्मबिश्वास र बसुदैव कुटुम्बकम्को भावना ह्दयमा भरिएको हुनुपर्दछ । ओशोले गरेकोे जस्तै यस किसिमको निश्वार्थ कार्य मानव ईतिहासमा कुनैपनि गुरुले गरेको  देखिदैन् । 

ओशोभन्दा पहिला ध्यान योगी, भिक्षु अथवा गुरुहरुको सानिध्यमा रहने केहि सिमित ब्यक्तिहरुको लागिमात्र उपलब्ध थियो र यस्तो ठानिन्थ्यो कि ध्यान सामान्य मानिसको पहू“चको बिषय होईन । ओशोले यी सबै पुराना मान्यतालाई टुप्पीदेखि उल्टाईदिए । उनले करीव ६०० वटा ध्यानबिधीहरुको रचना गरे र आधुनिक मनुष्यको लागि सुहाउ“दो डाईनमिक, कुण्डलिनी, मिष्टिक रोज, नोमाईण्ड लगायतका ध्यानबिधीहरुलाई सबैका लागि  सार्वजनिक गरिदिए । यी ध्यानको प्रयोग गरेर एक सामान्य सांसारिक जीवन बिताउन चाहने ब्यक्तिले पनि तनावमुक्त र आनन्दित जीवन जीउन सक्दछ । यो ओशोको मानव सभ्यताको लागि सबैभन्दा ठूलो देन हो । 

ओशोले नविनतम सन्यासको अवधारण ल्याए जगतमा । उनले भने कि अव नयाँ सन्यासीले विगतको सन्यासीले जस्तै परिवार छाड्नु पर्दैन, सांसारिक जीवनको त्याग पनि गर्नु पर्दैन, मात्र जीवन जिउने दृष्टिकोण परिवर्तन गरी, संसारप्रतिको मोह छाडी ध्यानपुर्ण जीवन जिउन शुरु गरेपुग्छ र यदि ईमान्दारीपुर्वक साधना गर्ने हो भने संसारमै रहेर सम्बोधी पाउन सकिन्छ । ओशोले नया“ मनुष्यको नाम दिए जोर्वा दि बुद्ध । जोर्वा चाहिं भौतिक सम्बृद्धिको प्रतिक अनि बुद्ध ध्यानको उच्चतम अभिब्यक्ति । ओशोले भने कि नवसन्यासीको साधना संसारदेखि पलायन गर्ने होईन कि यहिं रहेर यो भौतिक जगतमा अझ सुन्दर र सम्बृद्ध बनाउनु छ अनि स्वयंको चेतनालाई बुद्धको जस्तै उचाईमा पुर्याउदै हरेक ब्यक्ति भगवान हुन सक्छ । मानीसको लागि योभन्दा उच्चतम उपहार के हुन सक्छ ? 

एकल साधनामा ब्यक्ति कहिलेकाहिं कमजोर हुन्छ । ओशोले आÏनो अनुभवले यो देखे कि एकल साधनाले भन्दा सामुहिक साधनाले ध्यानमा प्रभावकारी असर गर्दछ । साधकहरुको सहकार्यले साधनाको जगतमा ढाडस मिल्दछ भनेर ओशोले सामुहिक आवास सहितको कम्युनको अवधारणा ल्याए । ओशोले जीवनकालमै बिश्वभर ५०० वटा साना ठूला ध्यान केन्द्रहरुको निर्माण गरे र केन्द्रहरुलाई बुद्धक्षेत्रको नाम दिए । बुद्धक्षेत्र अर्थात साधनाको मार्गमा सहयोगी उर्जाक्षेत्र । यो , आध्यात्मको जगतमा भगवान बुद्ध पछि सवैभन्दा ठूलो क्रान्तीकारी प्रयोग हो ।

अन्त्यमा

ओशोलाई अतिवादिहरुले असमयमै हत्या गरिदिए र उनका बुद्ध क्षेत्रहरु तत्कालिन रुपमा नष्ट गरिदिए । तर स्वामी आनन्द अरुणको गुरुभक्ति र समर्पणले नेपाल जस्तो सानो र गरीब मुलुकमा करीव ११० वटा बुद्धक्षेत्रहरु कम्युनहरु तथा ध्यान केन्द्रहरु स्थापना भएका छन् । स्वामी आनन्द अरुणको एक सुन्दर कविताको रुपमा ओशो तपोवन अहिले बिश्वमै सबैभन्दा सक्रिय ओशो केन्द्रको रुपमा बिकशित भएको छ । पोखराको दोबिल्लामा ओशो उपवन, लुम्बीनीमा ओशो जेतवन जस्ता अन्तराष्ट्रिय स्तरका कम्युनहरु स्वामी अरुणले स्थापना गरेका छन् । त्यस्तै स्याङ्गजा वालिङ्ग, धादिङ्ग, डुम्रे तनहू, बिराटनगर, कपिलबस्तु वाडगङ्गा लगायतका स्थानहरुमा मध्यम स्तरका कम्युनहरु पनि निर्माण भएका छन् । सव मिलाएर नेपालमा करिब १०५ वटा ओशो केन्द्रहरु समेत संचालित छन्, अनि बर्षेनी धेरै नया केन्द्रहरु अस्तित्वमा आउदैछन् । अमेरीकाको क्यालिफोर्निया राज्यको सान डिएगोमा ओशो निर्भाणा आश्रम  लगायत बिश्वका धेरै मुलुकमा स्वामी अरुणले खोलेका जम्माजम्मी २०० वटा जति ओशो केन्द्रहरु संचालित छन् जहाँ सद्गुरु ओशोको ध्यान , प्रेम, करुणा र उत्सवको स्वाद पाउन सकिन्छ । स्वामी आनन्द अरुणले तपोवन निर्माण गरेपछि उत्साहित भएर भारत साथै बिश्वका अन्य मुलुकहरुमा ओशोका शिष्यहरुले ओशो आश्रम र केन्द्रहरु खोल्ने अभियान तिव्र बनाएका छन् जसमा नया दिल्लीको ओशो धाम, रिषकेशको गंगाधाम देहरादूनको ओम बोधीसत्व कम्युन आदि केहि चर्चित नामहरु हुन् । अतिवादिहरुको चरम षडयन्त्रको वावजुद ओशोले शुरु गरेको क्रान्तीकारी ध्यान आन्दोलन स्वामी अरुणको अथक प्रयासले जीवन्त रुपमा संसारमा पुनः स्थापित हुदैछ । 

जय ओशो । जय अरुण स्वामीजी ।।

www.oshoupaban.com / facebook : Swami Yoganand (लेखक ओशो उपवन कम्युन पोखराका ध्यान तथा तनाव ब्यवस्थापनका प्रशिक्षक र पेशाले ईन्जिीनियर हुन )