लकडाउन डायरी : तलाउजस्तो जिन्दगी कहिले बग्ला !

विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्याता पनि हो। लकडाउन वाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय । आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ । व्यापार, ब्यावसाय, कलकारखाना, स्कुल, कलेज, बैंक सबै बन्द छन् । यससँगै विद्यार्थी, मजदुर, र अन्य मानिसको दैनिकी सबै बिग्रिएको छ।

वसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेको न्यानो घाम । घामको स्पर्श पाएर रमाइरहेको धर्ती । आहा, कति रमणीय छ यो मौसम ।

हरेक दिन बिहान ६ बजे मोबाइलमा बझ्ने आलारमको टोनसँगै मेरो दैनिकी सुरु हुन्छ। बन्द कोठा रङिन भिताहरु अनि भित्तामा कोरियका सुन्दर चित्रहरुले मलाई नै हेरे जस्तो लाग्छ। त्यो भित्ताको रङ अनि माथि टागिएका सुन्दर फोटो फ्रेम, कति राम्रा। हेर्छु अनि एकछिन तिनै तस्बिरहरुसँग कुरा गर्छु। भनिन्छ नि, बिहानको समयले दिन दर्साउछ, हो हामिले दिन कसरी काट्छौ भन्ने कुरा हाम्रो बिहानीले नै देखाउँछ। त्यसैले सधैझै उठेर नुहाईधुवाई सकेपछि सूर्यको किरणसँगै रमाउदै सिसाको कपमा चियाको चुस्की लिदै दिनमा के गर्ने भन्ने कुराको परियोजना बनाउदैमा बित्छ १, २ घन्टा।

चियाको स्वाद लिदै मनमा अनेकै सपना बुन्दै फूलहरुमा पानी राख्ने गर्छु। सोच्छु हरेक सजीवलाई आखिर बाच्नका लागि खानेकुरा आवश्यक पर्ने रहेछ। विडम्बना प्रकृतिको यो मनोहर छटालाई चोरेको छ कोभिड १९ नामक भाइरसले । चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश, महादेशको सीमा नाघिसकेको छ । सागर महासागरका छालमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गराएको छ । शक्तिशालीहरुलाई घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकिदिएको छ । विश्वका ७ अरब मानिस घरभित्रै थुनिएका छन् ।

केही समयपछि मेरो खाना खाने समय हुन्छ, अनि परिवारसँग बसेर मिठो गाफमा रमाउदै खाना खान्छु। गफमा ब्यस्त हुँदा त खानाको स्वाद नै पत्तो नहुदो रहेछ। खाना सकेपछि एकछिन मोबाईलमा फसबुक, युटुब, हेर्ने गर्छु । फेसबुकमा मानिसले राखेका कुराह नियाल्छु अनि सोच्छु साच्ची नै मानिसहरुको दैनिक जीवन परिवर्तन भएको रहेछ । कोहि मिठ खानेकुरा बनाएको तस्बिर देख्छु । कोहिका आफ्नो परिवारसँग बसेर कैद गरिएका तस्बिरहरु देख्छु। मानिसहरु एक किसिमले खुसी नै छन् तर पनि भित्री मनमा पीडा त अवश्य नै छ। तर पीडालाई बिर्सिदै बाच्न त परि नै हाल्यो ।

शक्तिशालीहरुलाई घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकिदिएको छ । विश्वका ७ अरब मानिस घरभित्रै थुनिएका छन् ।

यतिकैमा १, २ घन्टा बित्छ अनि बन्द कोठामा बसेर कापी र कलमसँगै एकछिन समय बिताउछु । उसो त म केही नयाँ लेख, साहित्यमा रमाउने मान्छे अनि अहिले त झन समय पाएको छु तेसैले दैनिक केही नयाँ कुरा लेख्ने प्रयास गर्छु। चित्रमा पनि मेरो रुचि भएको हुनाले कपीदेखि भित्तासम्म पनि केही चित्र कोर्छु कहिलेकाही। यसो गर्नाले समय गएको पत्तै हुँदैन, आखिर समय बिताउनु न छ। यतिकैमा दिउँसो खाजा खाने समय हुन्छ। सबै जना बसेर दिउसोको चिया खाजा खान्छौ। खाजा सकेपछि अनि म आफ्नै संसारमा फर्किन्छु।

साँझको समयमा चराहको चिरबिर आवाजसँगै डुब्न लागेको घामसँगै रमाउन खोज्छु। सिसाको कपमा चिया लिदै घरमाथि छतमा जान्छु अनि ती चरा आफ्नो घरतिर लागेको दृश्य देख्छु अनि सोच्ने गर्छु । आखिर हरेक प्राणीलाई आफ्नो ज्यानको माया त लाग्ने नै रैहेछ । हरेक चिजको आफ्नो एउटा समय हुदो रैछ, बिहान मन्द मुस्कानका साथ उदायको सूर्य पनि दिनको अन्त्य सङै डाडामा गएर ओझेल पर्छ । आखिर के नै रैछ र जीवन ? हामी मानव पनि त येस्तै हौ एकदिन आफ्नो धनसम्पती, जग्गा जमिन सम्पूर्ण छोडेर जानै छ । आखिर सँगै लियर को मर्छन र ? यस्ता कुरा सोच्दासोच्दै चिया खान नै बिर्सिने रैछु। चियाको स्वाद लिनतिर लाग्छु अनि भगवानलाई धन्यवाद दिन मन लाग्छ आजको दिन जसोतसो कटाईदिनुभयो भनेर।

घडीमा ५ बजेको हुन्छ, अनि व्यायमतिर लाग्छु। हातमुख धुन्छु अनि परिवारसँग गफगाफमा बेस्त हुन्छु । येतिकैमा खाना बनाउने समय हुन्छ अनि मन लाग्यो भने कहिलेकाही खाना बनाउनतिर पनि लाग्छु। मन लागेन भने कोठामा आएर बङ्यार्ङ खाटमा मुढो लडाइँ गरेर मोबाईलतिर हेर्छु। समाचार येसो निहाल्छु, कति जना सन्चो भए कोरोनाबाट भन्ने कुराको समाचार हेर्न खोज्छु। येसो गर्दा दिमागमा सकारात्मक सोछ आउने गर्छ। जब हामी कति मरे भन्ने कुरको खोजी गर्न लाग्छौ नि तब हाम्रो दिमागमा एउटा नकारात्मक छाप बस्ने गर्छ तेसैले कति जना सन्चो भय भन्ने तिरको खोजतिर लाग्छु।

आज लकडाउन भएको १ महिना पुग्यो । किताब लेखपढ गर्ने, चित्रकला, रङरोगन, नयाँ लेख लेख्ने, समाचारतिर मेरो बानी भएकालाई खासै यो समय कष्टकर भएको छैन होला भन्ने मेरो अनुभव छ। हरेक दिन मानिस र गाडीको कोलाहलको संगीत बज्ने मेरो टोल अहिले शून्यप्रायः जस्तै छ । भाइरसको महामारी सकिएर प्रकृतिको शाश्वत सुन्दरताको आनन्द लिने दिन कहिले आउँला ? चराको चिरबिर नियाल्न र फूलको सौन्दर्यमा लुटपुटिन कहिले पाइएला ? निर्धक्क सडकमा हिँडेर आफ्नो दैनिकीमा रमाउने दिन कति पर होला ? साथीसँग हातमा हात मिलाएर हिँड्ने दिन कहिले आउँला ? साथीहरुको जमघटमा रमाउने दिन कहिले आउँला ? जमिरहेको तलाउजस्तो दैनिकी कहिले नदी जसरी बग्ला ? मेरो मानसपटल यी नै कुराको खोजमा रङमङरिहेको छ ।

यत्तिकैमा बेलुकाको खाना खाने समय हुन्छ । खाना खाइसकेपछि एकछिन टिभीमा समाचार तिर लाग्छु अनि तेतिकैमा निन्द्रा लाग्न थाल्छ अनि सुत्ने समय हुन्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।