लघुकथा : सूत्र

उसले बाबुले भनेको सम्झियो : छोरा १ मान्छेहरू त यसै पनि मर्छन् उसै पनि मर्छन्, तर जुन दिन ‘होप’ सकियो, त्यसैदिन मान्छे मरिसक्छ । स्वास फेर्दै गर्ला, त्यो अर्कै कुरा हो । यो जीवनको सूत्र हो बाबु ।’

उसले जवाफ दिएको थियो , ‘होप’ पाल्नका लागि त पैसा चाहियो नि । बिनापैसाको होप पाल्नुको के अर्थ हुन्छ र ?

उसका बाबुले भनेका थिए : पैसाको कुरो प्रमुख होइन, प्रमुख कुरा होप हो । छोरा, जीवनमा हरेश नखानू, एउटा राम्रो काम गर्ने योजना दिमागमा पालिराख्नू । त्यही योजनामा बगिरहनू, काम गरिरहनू । त्यसले होप मर्न दिँदैन । भौतिक मान्छे मर्यो भने पनि खास ‘मान्छे’ मर्दैन ।

बाबुका कुरा उसले पत्याएको थिएन ।

ऊ विश्वविद्यालयको अर्थशास्त्रको नामूद प्रोफेसर हो । आम्दानी धेरै छ । जति भए पनि घरकै ‘स्ट्याण्डर मेन्टेन’ गर्नै धौ धौ छ ।

उसका बाबु धेरै पढालेखा थिएनन् । प्लम्बरी गर्थे । सरदर थियो जिन्दगी । उनले आफ्नो आम्दानीको हिस्सा एउटा ‘विपन्न वर्गको स्वास्थ्य केन्द्र’मा दिन्थे । त्यहाँ अस्पताल बनाउने उनको होप थियो । उनको अगुवाइमा अस्पताल पनि बनेको थियो ।

उनमा एकाएक कोरोना भाइरस देखियो । सोही अस्पतालमा उनलाई भर्ना गरियो । सन्तान कसैलाई भित्र पस्न र भेट्न दिइएन । एकाएक उनी दिवंगत भएको फोन आयो । लासलाई सामूहकि रूपमा स्टोर गरियो । र डोजरले उचालेर ठूलो खाल्डामा सामुहिक रूपमा पुर्यो । लास हेर्न, सदगत गर्न वा परम्परा पूरा गर्न पनि सन्तानले पाएनन् ।

माहामारी सकियो । अस्पतालले आफ्नो नाम फेरेर उसका बाबुको नाम राख्यो । उसका बाबु मरेर पनि बाँचे ।

ऊ यतिबेला स्तब्ध भएर बाबु गाडिएको खाल्डोको अगाडि उभिएको छ । बाबुलाई भावुक भएर धेरै सम्झिरहेको छ ।

र, मनमनै गम्दै छ : यहाँ बाबाको नाममा एउटा सुन्दर ‘सिमेन्ट्री’ बनाउन पाए त १

अप्रिल १९ , २०२०

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।