बाल कविता : झारपात

प्रकृतिले दिएको छ थरिथरी जात
ओखती नै हुन्छ साथी वनका झारपात

रुघा लाग्दा तुल्सी पात पकाएर खानु
पेट दुख्दा निरमसी खानुपर्छ जान्नु

जिम्बु खाने दाल झानी सिस्नो खाने झोल
कुरिलो र चिराइतो नि अति अनमोल

भुइँचम्पाले भाँचिएको हड्डी पनि जोर्छ
सिप्लीघानको बोक्रा खाए पत्थर पनि फोर्छ

जन्डिस निको पार्छ च्वाट्टै भुइँअमलाले
राम्रै हुन्छ जडिबुटी प्रयोग गर्न थाले

रिठ्ठा,टिमुर जटामसी,पाँचऔँले जाति
बादुलपाते,रुधिलो नि औषधी हुन् साथी

बाबरी र घ्युकुमारी हुन्छन् हाम्रै घरमा
पहिलेपहिले रोग निको पार्थे यसकै भरमा

जडिबुटी खोजिमेली प्रयोग गर्न जाने
पीर मान्नु पर्ने छैन दुई छाक खाने

झारपात बटुलेर राखे सुकाएर
चित्र पनि बन्छ राम्रो जाने मिलाएर

यसैबाट आय आर्जन गर्ने बाटो बन्छ
फुर्सद मिल्दा झारपात खोजी राख्ने मन छ ।

यो बाल कविता बालबालिकाको साथै विभिन्न झारपातबाट सुन्दर कला सिर्जना गर्नु हुने आदरणीय कलाकार दिदी मिलन शेरचनमा समर्पित गर्दछु ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।