अन्तर्राष्ट्रिय श्रम संगठन आइ.एल.अो.ले कोभिड-19 को कारण आर्थिक मन्दी र वेरोजगारको अवस्था भयावह हुने बताएको छ । नोवोल कोरोना भनिने कोभिड-19 रोगका कारण सन् 2020 को चौँथो महिनासम्ममा विश्वका १९ करोड भन्दा बढी व्यक्तिको रोजगार गुम्ने अनुमान सार्वजनिक गरेको छ। सामाजिक दूरी कायम गर्नकै खातिर संसारका अधिकांश राष्ट्रहरूले लकडाउन जारी राखेका छन् । उद्योग कारखाना, उत्पादन तथा विकास निर्माणका क्षेत्रमा कामकाज ठप्प प्रायः छन् । केही देशहरूले आर्थिक मन्दिलाई कम गर्न खाद्यान्न उत्पादनमा लाखौं डलर सहायता दिने जनाएका छन् । पछिल्लो समय युरोप,अमेरिका तथा खाडी मुलुकमा रोजगारीको मुख्य गन्तव्य बनाएका नेपालीहरू आर्थिक मन्दीको सिकार नहोलान् भन्न सकिन्न । उनीहरू स्वदेश फर्केपछि के गर्ने ? भारतबाट दालचामल खाद्यान्न आयात गरी जीवन निर्वाह गरिरहेका नेपालीले भारतको लकडाउन अवधि लम्बिएमा के गर्ने ? परजीवीझैँ अरु देशको खाद्यान्नमा निर्भर हुनेहो भने देश आत्मनिर्भर बन्ने कहिले ? भारतले वि.सं २०७२ मा लगाएको नाकाबन्दी र अहिले कोरोना भाइरसको कारण भएको लकडाउबाट अधिकांश नेपालीले आत्मनिर्भरताको बाटो खोजिरहेका छन् ।
नेपालजस्तो कृषि प्रधानदेशमा कृषिक्रान्ति विना भविष्य उज्ज्वल देखिँदैन। सरकारले लकडाउनको समयमा कृषि तथा ठूला आयोजनाका काम भने सुचारू गर्न निर्देशन दिए तापनि काम भने हुन सकेका छैनन् । परम्परागत निर्वाहमुखी कृषि जुन जमिन बाँझो नराख्नका लागि गरिन्थ्यो त्यही पेसालाई निरन्तरता दिन पनि हम्मेहम्मे परेको छ । कोरोना भाइरसको कारण पहाडी जिल्लामा अर्मपर्म तथा ज्यालामा जनश्रम पाउन मुस्किल भैसकेको छ । लगाएको हिउँदेबाली भित्र्याउने काम जेनतेन भइरहेको छ । मकैवाली,चैतेधान आदिको लागि रासायनिक मल,बीउ तथा किटनाशक अौषधीको टट्कारो आवश्यकता भने कसरी पुरा हुनसक्छ ? देशलाई आत्मनिर्भर बनाउन र तत्काल देश समृद्ध बनाउन नेपालमा जडिबुटी,वनपैदावर र कृषिमा क्रान्ति ल्याउनुपर्ने देखिन्छ ।
केन्द्रीय तथ्यांक विभागले वर्षेनी निकाल्ने क्षेत्रगत उत्पादनमा आधारित कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले जम्मा २८.१ प्रतिशत योगदान दिएको छ । २०७४/७५ को यस तथ्यांक अनुसार नेपालमा व्यावसायिक कृषि उत्पादन गरी विक्री वितरण गर्ने किसानको संख्यामा कमी आएको छ । विभागले श्रम सर्वेक्षण संरचनामा आफ्नो उपयोग र उपभोगका लागि मात्रै उत्पादन गर्ने काममा संलग्न मानिसलाई कृषिको रोजगारीको परिभाषाभित्र राखेको छैन ।
जसअनुसार कृषि क्षेत्रले २१.५ प्रतिशत मात्र रोजगारी दिएको छ। यस तथ्यांकले कृषि क्षेत्रमा जनशक्ति पलायन भइरहेको देखाउँछ ।व्यावसायिक हिसाबले कृषि पेसा अपनाउन र कृषिमा लगानी गर्न सुरक्षित वातावरण नेपालमा छैन भन्ने युवावर्गको दृष्टिकोण छ । कृषिमा बढी मात्रामा महिला र बृद्धबृद्धा संलग्न छन् । उनीहरूको निर्वाहमूखी कृषि व्यवसायले राष्ट्रिय आम्दानीको ठूलो हिस्सा ओगट्न सकेको छैन । श्रमयुक्त जनशक्तिको अभावमा खेतबारी बाँझो प्रायः हुन थालेका छन् । खेतीयोग्य जमिनमा प्लटिङ् गरी बस्ती बसाउने चलन नेपालमा अत्याधिक बढ्न थालेको छ।
पछिल्लो दशकमा रेमिट्यान्सको लोभमा युवाशक्ति विदेशिन थाले । गाउँका बासिन्दा सहर खोज्दै बसाइँ सर्न थाले । अरू देशले झैँ खेती नहुने जग्गामा बस्ती बसाइ,खेतीयोग्य उर्वर जमिनमा खेती गर्ने योजना नेपालमा छैन तसर्थ गाउँका खेतबारी बाँझिदै गए । जंगल बढेर गाउँ नै झाडीले छोप्नु र मानिसको चहलपहल घट्दै जानुले गाउँ भयानक,एकलासे र निर्जन क्षेत्र बन्न पुगेको छ । चितुवा,दुम्सी,बाँदर,हात्ती,मृगजस्ता जंगली जनावरको विगविगी बढ्न थालेको छ । घरवरपर के बाँझो छाड्नु?भनी सकिनसकी लगाइएका खेतीबाली र पालिएका वस्तुभाउ जंगली जनावरबाट जोगाउन नसक्दा किसानको उठिबास भएको छ ।
कृषिप्रधान देश भनिए पनि नेपालमा कृषिमा आधुनिकीकरणको विकास हुन सकेन । राज्यले कहिल्यै कृषिमा क्रान्ति ल्याउन सकेन बरु पेसा नै पलायन हुन थाल्यो।
विकसित देशहरू कृषि क्रान्तिकै माध्यमबाट अन्य क्रान्तिहरू सफल पार्दै गएका हुन् । जुन देशहरू भोकमरी र प्राकृतिक विपत्तिमा जुधिरहँदा नेपालले कृषि उपज पठाएर सहायता गर्यो आज उनै देशहरू सर्वश्रेष्ठ धनी राज्य बनिसकेका छन् । यता नेपाल कृषि क्षेत्रबाट पलायन भएर दैनिक करोडौं मूल्य बराबरका खाद्य सामग्री अरू देशबाट भित्र्याइरहेको छ ।
इतिहासलाई हेर्ने हो भने लिच्छवि शासन,मल्ल शासन र राणा शासनकालमा समेत नेपालबाट प्रयाप्त कृषिजन्य सामान निर्यात हुन्थ्यो । धान,मकै,गहुँ जस्ता अन्न प्रशस्त उत्पादन हुन्थे । जीवजन्तूका हाडछाला,सिङ,ऊन आदिको निकासी हुन्थ्यो । वनपैदावर,घिउ,जडिबुटी कम्मल,गलैँचा र हस्तकलाका सामानको निर्यातबाट राज्य समृद्ध थियो ।
प्रविधि र कृषि अौजारको प्रयोगले समय श्रम र लागतमा कमी ल्याइ समृद्धि हासिल गर्न सकिन्छ । परम्परागत काठको हलो,गोरु , मियोमा दाइँ,हातले रोपाइँ,कुटोले गोडाइ, दयँराको झँटाइले कृषि पेसा कहिल्यै फस्टाउन सक्दैन । अन्य देशहरूले मेसिनरी अौजारको प्रयोगले क्षणमै सयौं विघा जमिन खनजोत गर्ने,बीउ छर्ने,रोप्न-कुट्ने र भण्डारण गर्ने गर्छन् । हामी भने सबै काम हातैले परम्परागत तवरबाट गर्दैछौं। उत्पादन भन्दा लागत बढी हुन थालेपछि पेसा छाड्नुको विकल्प छैन । कृषि मन्त्रालयमा विभिन्न देशबाट खरिद गरि ल्याइएका कृषि मेसिन खिया लागेर बिग्रिन्छन् । खेत जोत्ने , काटेर झाँट्ने थेसर जस्ता मेसिन व्यक्ति एक्लैले किन्न सक्दैनन् ,राज्यले अनुदान दिदैन,दिइहाले पनि चलाउने र बिग्रेपछि बनाउने जनशक्ति छैनन् । तराईमा यी अौजार चलाउने जनशक्ति महंगो ज्याला दिएर भारतबाट ल्याइन्छ । हाल लकडाउनको कारण उनीहरू नआउँदा त्यहाँका किसानलाई हिउँदेवाली थन्क्याउन हम्मे परेको बताइएको छ ।
हाल नेपालमा दैनिक उपभोग्य सामान, खाद्यान्न तथा विलासिताका वस्तुको आयात बढ्दो छ निर्यात शून्य जस्तै भैसकेको छ । नेपाल-भारत सिमानाकामा नेपालबाट निर्यात हुने कवाडीका सामानका ट्रक मात्रै देख्न पाइन्छ जुन सामान हामी पुनः प्रयोग नगरीकन प्रतिकेजी २/४ रुपैयाँ दरमा बेचेका हुन्छौं । भारत पुगेपछि गालेेर लाखौं रुपैयाँ पर्ने सामान बनाइन्छ र नेपालमै बिक्री गरिन्छ । सिजनमा उखु ,धान,गहुँ पनि केही मात्रामा निर्यात हुन्छन् । जब नेपालमा उखु उत्पादन हुन्छ भारतीय विचौलियाले कृषकलाई पैसा नदिइ निर्यात गर्छन् । नेपालले चिनी फेरि महंगोमा किन्नुपर्ने हुन्छ । मंसिरमा किसानको खेतबाटै भारतीयले धान खरिद गरि लैजान्छन् । नेपालमा खरिदकर्ता नभएको वा राज्यले भण्डारणको व्यवस्था नगर्नाले पछि भारतबाटै महंगो चामल किन्ने चलन नेपालको छ ।
यस वर्ष प्याजको भाउ किलोको दुई सय र लसुन ८ सय पुग्यो। जतिबेला नेपाली कृषकको बारीमा प्याज बिक्रीयोग्य बन्छ त्यो बेला प्याजको भाउ तीस रुपैयाँ केजी पर्न जान्छ । आयातित बिषाक्त आलु साठी रुपैयाँ केजी खाएका नेपालीले नेपाली आलु खन्ने सिजनमा तीस रुपैयाँमा पाए । तर वास्तविक किसानले आलु केजीको मुल्य तीस रुपैयाँ भने नपाएको गुनासो गरे । चाहे सुन्तला होस् चाहे स्याउ या अन्य तरकारी,शीत भण्डारको अभावमा नेपाली कृषकको सामान सस्तो हुन्छ । कहिलेकाहीँ त लागत भन्दा बजार भाउ सस्तो भएकोले नेपाली उपज बारीमै कुहिन्छन् । नेपाली उत्पादनको बजार व्यवस्था धरासायी हुनु र कृषि पेसा पलायन हुनुको मुख्य कारण बजार योजनाको अभाव मुख्य ठानिन्छ । बजार व्यवस्थाको वैज्ञानिक तरिका अपनाउने हो भने न त कृषक र उपभोक्ताको दूरी बढ्छ न त कृषि पेसाबाट कोही पलायन हुनुपर्छ । जबसम्म नेपालमा उत्पादित अर्गानिक कृषि उपज शीतभण्डारण गरी उपभोक्ता सम्म पुर्याउन र उत्पादकलाई सहि मुल्य प्रदान गर्न सकिदैन तबसम्म आर्थिक समृद्धिको कल्पना गर्नु दिवास्वप्ना मात्रै हो।
कृषि उत्पादन बढाउन उन्नत जातका बीउ,बेर्ना,मल,पाडापाडी र बाच्छा पाठा एवं घाँस पानीको व्यवस्था हुनुपर्छ । व्यावसायिक कृषि तर्फ युवावर्गलाई आकर्षित गर्न समय समयमा तालिम, अवलोकन भ्रमण, सर्वेक्षण आदिको पनि व्यवस्था भइरहनु पर्छ । हाल नेपालमा पढाइ कम भएका,अन्य काममा सीप नभएका अन्त जागिर नपाएका व्यक्तिले गर्ने पेसा भनिन्छ कृषि । शिक्षित व्यक्तिलाई कृषिमा ल्याउन सके नयाँ ज्ञान,प्रविधि र पद्धतिको बारे जानकारी आदानप्रदान गर्न सहज हुने थियो । साथै विभिन्न क्षेत्रबाट प्राप्त हुने अनुदान र उत्पादित वस्तुको बजारिकरण सम्बन्धी बढी ज्ञान हुने थियो ।
कृषि क्रान्ति गर्न परम्परागत व्यवस्थालाई धानेर हुदैन । कृषि पेसाका सबै क्षेत्रहरु जस्तै पशुजन्य कृषि (कुखुरा,बाख्रा,भैँसी,गाई,भेडा) रेशम-मौरी,तरकारी,नगदेवाली,फलफूल एवं जडिबुटी जस्ता अत्याधुनिक पेसा रोजेर द्रुतत्तर फाइदा खोज्न सकिन्छ । यस्ता व्यवसायले वर्षभरीलाई काम पनि पुग्ने आम्दानी पनि भइरहने हुन्छ ।धन्यवाद े उसैपनि नेपालमा मनसुनी र मौसमी खेतीपाती मात्रै गर्ने चलन छ । सिचाइँको उचित प्रवन्ध भए वेमौसमी र सदावहार खेती गर्न सकिन्छ । ग्राहकको रोजाईका वेमौसमी वालीका उन्नत बीउ अन्य देशबाट ल्याई परीक्षण गरेर किसानलाई वितरण गर्नु पर्दछ । ती वाली लगाउने पद्धतिबारे तालिम,कीटनाशक अौषधी र रासायनिक मल आदिको प्रयाप्त व्यवस्था हुनुपर्छ । यस्ता कुरामा मौन बसेमा कृषकको क्रान्ति कहिल्यै सफल हुदैन ।
लकडाउन भएपछि नेपाल ल्याउन खोजिएका रासायनिक मलका ट्रकहरू नेपाल भारत सिमानामा अलपत्र परेका छन् । बन्दरगाहमा रोकिएका त्यस्ता सामान तुरुन्तै ल्याएर कृषक समक्ष वितरण गर्न राज्य असमर्थ किन भयो ? किसानले उत्पादन गरेका तरकारी बारीमै कुहिएका,कुखुरा विक्री नभएर खाल्डोमा पुरिएका,दूध बिक्री गर्न नपाएर सडकमा घोप्टाएका समाचारले किसानलाई मात्रै होइन सम्पुर्ण नेपालीलाई दुखी बनाएको छ । विपतका वेला विदेशबाट किनिएका दाल चामल , नुनतेल उपभोक्तालाई पुर्याउनु ठूलो कुरा होइन नेपालमै उत्पादित वस्तुको वितरण व्यवस्था मिलाइदिन सक्नु वास्तविक राहत हो । खाद्यान्न संकट टार्न विश्व नै लागिपरेको वेला नेपालले कानमा तेल हालेर बस्यो भने समृद्धि हासिल गर्ने कसरी ?
कृषि क्षेत्रमा लागेका व्यक्तिको अन्य पेसामा जस्तो मासिक रुपमा निश्चित आम्दानी हुँदैन । श्रम सर्वेक्षणका अनुसार कृषि क्षेत्रमा काम गर्ने व्यक्तिले सातामा अौसत ३६ घण्टा काम गर्ने गरेको पाइएको छ । नेपालका रोजगारीका क्षेत्र मध्ये सबैभन्दा कम घण्टा काम गर्ने क्षेत्र कृषि देखिए पनि कृषिकर्म सँगसँगै किसानले अरू काम पनि गरिरहेको हुन्छ । बारीमा उत्पादित सामान बजारसम्म पुर्याउन दिनभर लाग्ने ठाउँ छन् नेपालमा । यातायातको असुविधा,प्रविधि र अौजारको अभाव, असहज बजार व्यवस्थाले गर्दा किसानले अत्यधिक परिश्रम खर्च गर्नुपर्छ । कृषि क्षेत्रमा रोजगार व्यक्तिको अौसत मासिक आम्दानी रू १२,१८५ मात्र हुने गरेको श्रम सर्वेक्षणले देखाएको छ । मौसम र बजार व्यवस्थामा भर पर्दा वर्षभरी एकनासको काम र दाम नहुने किसान बताउँछन् ।
कृषि क्षेत्रमा अझैपनि लैङ्गिक हिसाबले ज्याला निर्धारण गरिन्छ। सँगै काम गरेका महिला र पुरुष बिच शतप्रतिशत ज्याला अन्तरले कृषिमा मासिक कमाइ थोरै देखिन्छ। नेपालमा अरूको निजी घरमा काम गर्ने कामदार पछिको कम आम्दानी हुने क्षेत्रको रूपमा कृषि क्षेत्र रहेको छ । यस्तो आम्दानीले कृषिमा रोजगार व्यक्तिको जीवनस्तर कसरी सुधार हुनसक्छ ? ज्यादा श्रम न्यून आम्दानीे,महंगो बजारले जीवन निर्वाह गर्न नसकेर नै नेपालका युवा विदेश हानिन्छन् । विदेशमा सातमा ७२ घण्टा काम गर्नुपरे पनि आम्दानी त प्रशस्तै होला भन्ने उनिहरूको ठम्याइ हुन्छ । विदेशमा ऋण काढेर गए पनि केही महिना काम गरे तिर्न सकिन्छ तर कृषिमा लगानी गर्दा प्राकृतिक विपत्ति आइपरे वा वस्तुले उचित बजार नपाए के गर्ने भन्ने त्रास छ युवामा ।
तसर्थ कृषि पेसामा सुरक्षाको ग्यारेन्टी पनि चाहिन्छ । कृषिमा अनुदान,विना धितो ऋण,कृषि विमा,आकर्षक तलव र तालिमको व्यवस्था,प्रोत्साहन भत्ता र सम्मानले सुरक्षाको ग्यारेन्टी दिलाउन सक्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पनि कृषि सहकारी एवं साझेदारी मार्फत कृषि फर्म सञ्चालनमा आएका छन् । सरकारले अनुदान समेत दिने र बराबर स्वामित्व र जवाफदेहीता हुने हुँदा यस्ता फर्म व्यवसायीक बनेर मुनाफा आर्जन पनि गरेका छन् । तसर्थ कृषिमा सहकारीको अवधारणा जगाउनु पनि आजको आवश्यकता देखिन्छ । अहिले बजारमा भैँसीको दूध प्रतिलिटर १२० रुपैयाँ छ । नेपालका ग्रामीण भेकमा प्रशस्त गाई भैंसी पालिने भए पनि दूध संकलन गरी बजारसम्म ढुवानी गर्ने पद्धतिको विकास नभएकोले भारतबाट सहज बाटो अपनाई दैनिक लाखौं लिटर दूध नेपाल ल्याइन्छ । अखाद्य तत्त्व मिश्रित र घृतांश नै नभएको यस्तो दुध न त स्वादिलो हुन्छ न त पौष्टिक नै । सचेत उपभोक्ताले अरू भन्दा महंगो नै भए पनि नेपालमै उत्पादित असल सामान खोज्छ ।
नेपालको हावापानीमा अमूल्य जडिबुटी पाइन्छन् । हिमाली भेगका भेडा,च्याङ्ग्रा र चौरीको दूध पोषणको भण्डार मानिन्छन् । नेपालको कफी र चिया विश्वकै पहिलो रोजाइ बन्न पुगेको छ । हिमालका स्याउ, पहाडका सुन्तला र तराईका खाद्यान्नले उचित भाउ पाउने हो भने कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ । विदेशमा सिकेका सिपले स्वदेशमा कृषिको उज्ज्वल भविष्य देख्ने युवाहरूलाई सरकारले मार्गनिर्देश गरोस् । नोवोल कोरोना भाइरसको सन्त्राशबाट आक्रान्त विश्वभरका नेपाली युवाहरू आफ्नै देश फर्केर,आफन्तमाझ रहेर रोजगार बचाउन र देशलाई समृद्धितर्फ लैजान चाहन्छन् । राज्य वा सेवा प्रदत्त निकायले कसैलाई काखा वा पाखा नगरी कृषिमा प्रोत्साहन,अनुदान,सुविधा र लगानी प्रदान गरुन् । व्यवस्थित बजारीकरणले नेपाल फेरि कृषिमा आत्मनिर्भर भई तेस्रो मुलुकमा सामान निर्यात गरि समृद्धि हासिल गर्न सक्नेछ ।
nirukcashru@gmail.com




