काममा जाँदैनन् बाबा
कमाउन जाँदिनन् अामा
त्यसैले त
नगदमा अाउने दूध
मेरालागि घरमा
कसैले पनि ल्याइदिदैनन्
भन्दिनुस् न !
राहत बाड्ने अङ्कल अान्टीलाई
मलाई नयाँ खेलाैना चाहिँदैन
भर्खर टुकुटुकु
हिड्न लागेका मेरा गाेडालाई
चप्पलकाे रङ्गीचङ्गी पुतली चाहिँदैन
चुइचुइ गर्ने राताे जुत्ता पनि चाहिँदैन
यही पुरानो फ्रक छ काफी
लगाउनलाई
मेरालागि कुनै सपिङ मल खुलिरहनपर्दैन
पैसाको डाेरीमा उडी हिड्ने
याे सहरकाे दूधको चङ्गा
मेरो कलिलो मुखमा खसिदिए
चाैरासी व्यञ्जन चाहिँदैन
घरिघरि सुकिरहने मेराे घाटीले
अामाकाे छाती रसाउँदैन
उनको त अचेल
अाँखा मात्र रसाउँछ
जुन चुसेर म अघाउन सक्दिनँ
म त
स्तन मनग्ये नरसाउने दु:खी अामाकी
दुधमुखे नानी हुँ
राहतको पाेकामा
दालचामल मात्र पाउने
विवश बाबाकी
सानी नानी हुँ
म नजन्मिदै
कयौं वर्ष पहिले भइसकेछ क्यारे
याे देशको जनगणना
जसमा छुटेकाे नामावलीले सायद
मैले राहतमा एक मुठी दूध पाइनँ
अचेल बाकाे अनुहार
बादल लागेजस्तो कालाेकालाे देख्छु
अामाकाे अाँखा पाकेको
गाेलभेडाजस्ताे राताेराताे देख्छु
र चुलाेमा देख्छु
दूधको रित्तो कराही
अचेल दूधको कराहीमा
मेरी अामा
भातकाे धमिलो माड पकाउँछिन्
मेरा बाले कुनै बेला
याे देशको नामुद
क्रान्तिकारीसँग हात मिलाउनुभएकाे थियोे
अब म सानी नानी
माडसँग हात मिलाउन सकिनँ भने
मृत्युसित हात मिलाएर
याे देशको भविष्यलाई
अाफूसँगै लिएर जानेछु ।




