उसले आफ्नो सत्तरीऔँ जन्मदिन भव्यताकासाथ मनाउने विचार गर्यो । यतिन्जेल उसले आफ्नो जन्मदिनमा साना प्राणीदेखि लिएर ठूलाठूला प्राणीको हिंसा गर्दै आफ्ना शुभेच्छुकहरुलाई भोज खुवायो ।
यसपालि भने उसको दिमागमा छुट्टै नयाँ कुरा फुर्यो । अर्को वर्ष मनाउन पाउँछु या पाउँदिन भन्ने सोंचेर केकमा आफ्नै आमाको तस्बिर बनाउन लगायो । वरिपरि ७० ओटै मैनबत्ती बाल्यो र आमाको तस्बिरयुक्त केक काट्न तयार भयो ।
देख्ने,हेर्ने र सहभागी हुनेहरूले आआफ्नै किसिमले प्रतिक्रिया दिए । कसैले भने -“सबै कुरा खायो । अब यत्ती बाँकी थियो ।” कसैले भने -“आमालाई दाजुभाइ मिलेर टुक्राटुक्रा पारेर अघाएन ।अब केक बनाएरै खाने भयो ।
तर ऊ केक काट्ने बेला भावुक भयो र छुरी भुइँमा राखेर हातमा कलम लियो र लेख्यो “आमा जिन्दावाद !! म तिमीलाई टुक्रा पार्न सक्दिन आमा !! अब म तिमीलाई बाँड्न सक्दिन । तिमी सदियौँ सिंगो र सग्लो रहनुपर्छ ।”
एकैचोटि तालीको गडगडाहट हलभरी हुँदै झ्यालढोकाबाट बाहिर निस्कियो ।
२०७६/११/१२




