सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।
नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट्क समको जन्मजयन्ती विशेष समारोह आयोजना गरेको हो ।
कार्यक्रममा प्राडा रामचन्द्र पोखरेलले बालकृष्ण समको नाट्यकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने सरुभक्तको ज्ञान विज्ञानले हात जोड्नुपर्दछ कर्ममा विषयक सम्भाषण रहेको थियो ।
साहित्यकार सरुभक्तले सबैले कर्ममा हात जोड्नै पर्ने कुरामा जोड दिए । नेपाली वाङ्मयका क्षेत्रमा नाटकका रुचि राख्ने स्रष्टा कम भएकाले त्यसलाई बढाउनुपर्ने धारणा राख्दै समको योगदानलाई ओझेल पारिनुका कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।
केही समय अगाडि सेक्सपियर जन्मेको ठाउँ र नाटक लेखेको थिएटर पुगेको स्मरण गर्दै उनले भने– ‘नेपालका सेक्सपियर समको उचित संरक्षण हुन सकेको छैन, हुन आवश्यक छ । र उनको साधनाको थलोलाई साहित्यिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्छ ।’
बालकृष्ण समको नाट्यकारिता विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राडा रामचन्द्र पोखरेलले समलाई नेपाली नाटकको भूतो न भविष्य भएको बताए ।
समका विभिन्न आयामबारे प्रकाश पार्दै पूर्वीय पाश्चात्य शैली मात्र नभएर सुखान्त र दुखान्त दुवैको मिश्रणमा नाटक लेख्ने समलाई मानवतावादी सामाजिक नाटककारका रूपमा चिनाए ।
प्राडा पोखरेलले, संसार नियमित आकस्मिक बाहेक केही नभएकाले हिजो समले भनेको मुटुको व्यथा सबैको व्यथा भएको धारणा राखे ।
जरो टुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले नेपाली नाटकको जरो बालकृष्ण सम भएकाले त्यसको संरक्षणका लागि संस्था अगाडि बढेको स्पष्ट पारे ।
संस्थाका महासचिव मदन भण्डारीले बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी जस्ता क्षेत्रमा कलम चलाए पनि नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । असफल गौतमले नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम नाटककार मात्र नभएर चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक भएको पुष्टयाए ।
जनरल शमशेर राणा र माता कीर्तिराज्यलक्ष्मीका कोखबाट १९५९ माघ २४ गतेका दिन ज्ञानेश्वर काठमाडौंमा जन्मेका सम १० वर्षको उमेरमै कविता लेखी साधनामा लागेका प्रतिभा हुन् । समको १९७७ सालमा लेखिएको तानसेनको झरी प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटक चाहिँ मुटुको व्यथा १९८६० हो ।
यसरी सुरु भएको उनको नाट्ययात्रा मुटुको व्यथा १९८६, प्रह्लाद १९९५, ध्रुब १९८६, अन्धवेग १९९६, मुकुन्द–इन्दिरा १९९४, भक्तभानुभक्त २०००, म २००२, प्रेमपिण्ड २००९, अमरसिंह २०१०, भीमसेनको अन्त्य २०१२, तलमाथि २०२३, तानसेनको झरी २०२६, अमितवासना २०२७, स्वास्नीमान्छे २०३३, मोतीराम २०३३ र ऊ मरेकी छैन हुँदै २०३५ सम्म चलिरह्यो ।
उनका विविध नाटकमध्ये मुटुको व्यथा, मुकुन्द–इन्दिरा र म सामाजिक, अमरसिंह, भक्त भानुभक्त र भीमसेनको ऐतिहासिक, ध्रुब र प्रह्लाद पौराणिक नाटक हुन् भने स्वास्नीमान्छे स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो । अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द–इन्दिरा संयोगान्त, मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड दुःखान्त नाटक हुन् । नाटकका साथसाथै, समका आगो र पानी खण्डकाव्य २०११, चिसोचूल्हो महाकाव्य २०१५, एकाङकीतर्फ बोक्सी १९९९, भतेर २०१०, तपोभूमि २०१४, चार एकाङकी २०२०, माटोको ममता २०२६, बिरामी र कुरुवा २०२७ रहेका छन् ।
यस्तै, नियमित आकस्मिता २००५, मेरो कविताको आराधन उपासना १ र २ २०२३ र २०२९, बालकृष्ण समका कविता २०३८ जस्ता कृति प्रकाशित छन् । यस्ता मुर्धन्य प्रतिभाको २०३८ साउन छ गते निधन भएको थियो ।




