पुष्पराज सरसफाइको क्षेत्रमा काम गर्ने गैर सरकारि संस्थाको र हिरालाल साक्षरताको क्षेत्रमा काम गर्ने सरकारि संस्थाको प्रशिक्षक थिए । दुबै संस्थाको संयुक्त कार्यक्रममा दुबै जना कार्य स्थलतिर पैदल जाँदै थिए । बनको उकालो बाटोमा पुष्पराजले एउटा दर्शनको कुरा सुनाए – आँखा, नाक, कान, जिब्रो, छाला हाम्रा पाँच ज्ञानइन्द्रियहरु हुन । यी अंग बिना हामी जड हुन्छौ । प्रयोग अनुसार यी वरदान र अभिषाप दुबै रुपमा भुमिका खेल्दछन् ।
पुष्पराजले उदारण दिदै गए – पुतली बत्तीमा झुमिएर मर्दछ । माछा बल्छिमा राखिएको आहारा निल्न खोज्दा फस्दछ । मृग कुकुरको घाटिमा झुण्डाएको घण्टिको स्वर सुन्दै बस्दा घेराउमा पर्दछ । भाले कस्तुरी मृगको नाभिमा उमेर बढदै जादा बास्नादार बिना विकास हुन्छ । यही वास्ना खोज्दै भौतारिदा उ मर्दछ । भाले हात्ती पक्रन ठूलो खाडल माथि माटाको ढोई बनाएर राखिएको हुन्छ । यसैसंग लहसिदा खाडलमा पर्दछ । तिनीहरू अगाडि बढदै गए । एउटा ढपक्कै फूलेको बोट देखे । फूल टिप्न पुष्पराज रुखमा के चडेका थिए बोक्राको झुस नराम्रेरी बिझ्यो । तिनीहरू एउटा पोखरी भएको ठाँउमा पुगे । पोखरीको छेउमा बसेर पुष्पराजले हिलो मुलायम माटोको डल्ला बनाए । तर उनको हात हिलो उछ्रेर चिलाउन थाल्यो । हिडदै जादा एउटा लहरामा फलेको पहेलो फलको वास्नाले पुष्पराजलाई तान्यो । फल टिप्दै गर्दा एउटा हरियो सर्प लहरामा बेरिएर बसेको देखे । उनको सातोपुग्लो उड्यो । त्यसपछि उनले एरफोन कानमा जोडि मोबाइलमा भिडियो हेर्दै र गीत सुन्दै अगाडि बढे । उनी घुमेको बाटोको मोडमा एकजना महिलासंग ठोकिन पुगे । ती महिलाले राम्रेरी मिलाएर सभ्य गाली गरिन् । पुष्पराजको बाटोमा हिडदा छेउछाउका झारपात चुडालि मुखमा हाल्ने बानी थियो । एउटा डाठ मुखमा राख्दा किरा समेत चपाउन पुगे । हिरालाल भने उनको पछाडि पछाडि चुपचाप हिडिरहेका थिए ।
तिनीहरू एउटा गाउँमा पुगे ।साँझ परिसकेको थियो । अझ तीन घण्टा हिडे मात्र भनेको ठाउँमा पुग्न सकिन्थ्यो । गाउँको ठूलो घरमा पुगि बाँस मागे । त्यस घरका वृद्ध बाले साँझको पाहुना भनवान सरह हुन्छ भन्दै तिनीहरूको स्वागत गरे । दुबै झोला बिसाएर खाटमा बसे । सामान्य चिनापर्चि भयो । पुष्पराजले ती वृद्धको उमेर सोधे । ती वृद्धले सगर्व अठासी वर्ष फाल्गुणमा पुग्ने कुरा बताए । त्यसपछि पुष्पराजले उनलाई यो ठाउँका मानिस मर्दा लैजाने घाट कति टाढा छ भनि सोधे । ती वृद्ध रिसाएर जवाफ दिए – अघि उमेर सोध्ने अनि घाट सोध्ने । तिमीहरूले यस घरमा बाँस पाउदैनौ । यो घरबाट निस्कि हाल ! तिनीहरू भुइमा राखेको आ-आफ्नो झोला लिएर घरबाट निस्के । मूल बाटोको बान्नोमा पुगि दुबै जना थुचुक्क बसे । हिरालालले पुष्पराजलाई भने – तपाईंले दिउँसो भनेको दर्शनमा “मुख” छैटौं इन्द्रिय पनि थप्नु पर्छ होला । दुबै दोधारे मनले एक अर्कोलाई हेराहेर गरे ।




