ताजा समाचार

पौष २६ गते २०७६

कांग्रेसको नेतृत्वमा कहिले खुल्छ चेत ?

नेपाली कांग्रेस नेतृत्वतहमा रहेका शीर्षस्त नेताहरू बीच यतिबेला निकै ठूलो घम्साघम्सी चलेको छ । नेतृत्वले पार्टीलाई निजीकरणतर्फ उन्मुख गराएको भन्दै संस्थापन इतरका नेताहरू निरन्तर छलफलमा छन् ।

सोमबार मात्रै संस्थापन इतरका नेताहरूको आव्हानमा ४८ जिल्ला सभापतिहरू समेतको भेला गरी पार्टी सभापति शेरबहादुर देउवाले पौष ११ गते गरेका निर्णय नसच्याएसम्म वार्ता नगर्ने पक्षमा उभिएका छन् ।

संस्थापन इतरका नेताहरूको माग सम्बोधन स्वरुप संस्थापन पक्षले चौधौ महाधिवेशनको समय तालिका सार्वजनिक गरिसकेको छ । जिल्ला सभापतिहरू समेत सहभागी भेलाले सभापति देउवाले एकलौटी गरेका विभाग संख्या दोब्बर बनाउने, विधानमा भएका कतिपय बुदाहरू खारेज गर्ने जस्ता विधान विपरित निर्णहरू सच्याउनु पर्ने र पछि गठन भएका विभागहरू विधान विपरीत भएकाले भंग गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

समयमै माहाधिवेशन गर्नु पर्ने पहिलो एजेण्डा तेस्र्याएका रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतको समूहले महाधिवेशनको समय तालिका सार्वजनिक गर्दा र पार्टीका विभाग गठन गर्दा आफूहरूसंग सल्लाह नै नगरी सभापतिले बहुमतका आडमा टिमको राजनीति गरेको आरोप लगाएको छ ।

तर लामो समयसम्म आफूहरूले पर्खेर सहमतिकै आधारमा अघि बढ्ने भन्दा भन्दै सभापतिलाई विभिन्न वहानामा काम गर्न नदिएपछि अन्तिममा आएर यस्तो निर्णय गर्न बाध्य भएको उता संस्थापन पक्षको तर्क छ ।

संस्थापन इतरका नेताहरू देउवाले महाधिवेशनको तालिका सार्वजनिक गरे पनि सोही तालिका अनुसार महाधिवेशन नगर्ने र विभिन्न वहानामा फेरिपनि मिति सार्ने डरले तर्सिएका छन् ।

यसरी आपसमा तर्कवितर्क गरेर गुटका नाममा सिंगो पार्टीलाई सिध्याउने प्रबृति पार्टी भित्र पछिल्लो समयमा निकै पेचिलो बन्दै गएको छ । पार्टीको १३औं महाधिवेशनपछि नेतृत्वको गतिविधि हेर्दा संस्थापन इतरका नेताहरूको आरोप सत्य नजिक पुगेको पक्कै हो ।

तेह्रौं महाधिवेशन पश्चात आएको नेतृत्वले कांग्रेसलाई अब्बल बनाउने सोचका साथ देशमा पहिलो पार्टी बनाउने क्षमता राख्छ भन्ने आम कार्यकर्ताको बुझाइ थियो । ४ बर्षको अवधिमा पार्टीको आन्तरिक संगठन सुदृढिकरण तथा सुद्धिकरण त भएन नै स्थानीय प्रदेश र संघिय निर्वाचनमा समेत एक अर्कालाई कसरी पराजय गराउने र आफुले जितेको महसुस गर्ने भन्ने अभ्यासमा नेताहरू क्रियाशिल रहे ।

स्थानीय तहदेखि संघीय निर्वाचनमा एक आर्कोलाई पैंचो तिर्ने र चुनाव हराउने बाहेक नेताहरूले खासै केही उपलब्धि हासिल गरेनन् । त्यसको प्रत्येक्ष असर तल्लो तहमा रहेर निरन्तर पार्टीमा लाग्ने निष्ठावान र संघर्षशील कार्यकर्तालाई पर्छ भन्ने सोंच समेत नेताहरूको दिमागमा पस्न सकेन ।

यसैको परिणाम हाल आएर सिंगो पार्टी दाह्रा नंग्र्रा निकालेको बाघ जस्तो भएको छ । पार्टी नेतृत्वले महासमितिको निर्णयको खिलापमा उभिएर पार्टी बच्ने भन्दा पनि जोरी हँसाउने कामलाई मलजल गर्छ ।

महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा सबैभन्दा ठूलो किचलो क्रियाशिल सदस्यतामा हुने गरेको छ । अहिलेको रडाको पनि त्यही पुगेर जोडिने हुँदा समयमै यसको समाधान खोजी गरी पार्टीमा एकताको सन्देश दिन सक्नुपर्छ ।

सदस्यता वितरणको समयदेखिनै गरिने गुटको राजनीतिलाई अन्त्य गरी सदस्यता प्रदान वा नविकरण गर्दा लाग्ने शुल्क समेत कुनै नेताको खल्तीबाट नभइ स्वयं सदस्यबाटै अनिवार्य लिने गरी विधानबमोजिम अघि बढ्नु श्रेयष्कर देखिन्छ ।

पार्टीमा भागबण्डाको राजनीति भन्दा पनि सक्षमताका आधारमा नेताहरूलाई पार्टी हाक्ने जिम्मेवारी दिनु उपयुक्त हुन्छ । पार्टी भित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरूलाई ज्येष्ठ नागरिक संगठन गठन गरी जिम्मेवारी दिन सक्यो भने पनि नेता व्यवस्थापनमा केही सहजता आउछ ।

गाउँस्तरमा गरिएका कार्यक्रममा समेत एक गुटले अर्कोलाई नबोलाउने यदी बोलाइहाले पनि नजाने, कार्यक्रम कसरी असफल बनाउने, वर्तमान सरकारको कमजोरी कसैले ओकल्दैनन् । भाषणमा एकले अर्को समूहको विरोध गर्ने र कार्यकर्तामाँझ आफना गुटगत राजनीति छताछुल्ल पोख्ने शिवाय केही गर्ने सोंच नेताहरूमा पलाएकै छैन् ।

नयाँ कार्यकर्ताहरू समेत जनताका माँझमा पुगेर संगठन विस्तारमा भन्दा पनि नेताहरूको घरदैलो चाहारेर नेता हुने प्रबृतिलाई जोड दिदै आएका छन् । भातृ संगठनहरू पूर्णरुपमा अपांग अवस्थामा रहेका छन् । विगत ३ हप्ता अघिदेखि नेविसंघका विद्यार्थीहरू संगठनले नेतृत्व पाउन नसकेकोप्रति असन्तुष्टि पोख्दै अनशनमा छन् ।

नेताहरूले खल्तीबाट जनरजस्ती नेतृत्वमा पुर्याएका भातृ तथा शुभेच्छुक संगठनका पदाधिकारीहरू दैनिक नेताकै ढोके र चम्चे भएर दिन कटाउन विवस छन् । अनि नेताहरू ती कार्यकर्तालाई संगठनको काम भन्दा पनि आन्तरिक गुटका सूचना अधिकारीका रुपमा प्रयोग गर्ने र दैनिक आफ्नो ढोके भएकोमा खुसी व्यक्त गर्छन् अनि कसरी कांग्रेस बलियो हुन्छ त ? पार्टीमा भागबण्डाको राजनीति नै गुटको सबैभन्दा दर्विलो विरुवा हो, जुन आवश्यक नै छैन् ।

नेतृत्वमा पुरानै पुस्ता चाहिन्छ भन्नु पार्टीभित्रको अतिवादी सोंच हो । जसले पार्टी निर्माण हुँदैन । पार्टी निर्माणका लागि नयाँ दृष्टिकोणका साथ योजना चाहिन्छ अनि सक्षमले नेतृत्व लिन दिन सक्नुपर्छ ।

तिनै तहको सरकारमा प्रतिपक्ष पनि निकै सानो भएर खुम्चिँदा समेत ऐया नभन्ने नेतृत्वको प्रबृतिलाई हेर्दा पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा नेताहरूको चेत खुलेको छैन् भन्न सहजै सकिन्छ ।

नागरिक सामु आफ्ना भरपूर एजेण्डा लिएर जानसक्ने योजनाको खाका आज कांग्रेसमा आवश्यक देखिन्छ र त्यो सोच नेताहरूमा हुनुपर्छ । अझैसम्म नेताहरूको चेत नखुल्ने हो भने गुट सिध्याएर पार्टी बचाउनु पर्छ भन्ने कार्यकर्ताहरूले चुनावमा नयाँ ढंगले अभियान चलाउनु आवश्यक छ ।

उल्लेखित विषयलाई मूर्तरुप दिने सन्दर्भमा कैयौं चुनौतिहरू पनि छन् । तथापि यी चुनौतिलाई सामना गर्दै अबको नेतृत्वसंगै पार्टी नेता कार्याकर्ताहरूले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा गम्भीर भएर वहस चलाउनु जरुरी छ ।

अझ भन्दा कांग्रेसको भविष्य आफूभित्र र आफूसहित देश र जनताको भविष्य कांग्रेस भित्र खोज्ने नयाँ पुस्ताका नेता कार्यकर्ताहरूले वहस सञ्चालनसँगै तत्काल व्यवहारमा उतार्दै सक्नुपर्दछ ।

महाधिवेशनमा तलैदेखि ‘गुट त्याग पार्टी बँचाउ’ अभियान चलाउन सक्यो भने मात्र नेताहरूमा चेत खुल्न सक्छ । अनि बन्छ सशक्त कांग्रेस तवमात्र रहन्छ लोकतन्त्र र देश ।