ताजा समाचार

पौष २५ गते २०७६

विपि कोइरालाको ‘गण्डकी’ डायरी

बहुआयामिक व्यक्तित्वका धनी विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्य क्षेत्रमा अग्रपंतिमा छन् । विशिष्ट राजनेता भएर पनि साहित्य जगतमा महत्वपूर्ण योगदान पुर्याउन सक्नु नै वीपी कोइरालाको विशेषता हो ।

तिनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदी आइन्, हिटलर र यहुदी, बाबु आमा र छोरा जस्ता उपन्यासहरू त्यस्तै कथा संग्रह जस्तै : दोषी चश्मा र श्वेतभैरवी र जीवनी ‘आफ्नो कथा’ आदि वीपी कोइरालाका साहित्यिक कृतिहरू हुन् । त्यसैगरी उनको देहावसानपछि प्रकाशित जेलजर्नल र पुनःसुन्दरीजल जेल डायरी पनि प्रख्यात छन् ।

वीपी कोइरालाले २०१६ सालदेखि २०१७ सालसम्म नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेर देशको सेवा गरे । उनलाई नेपालको २२औं प्रधानमन्त्री, सफल राजनेता र प्रसिद्ध साहित्यकारको उपनामले पनि चिन्न सकिन्छ ।

१ सय ९८ पेज भएको वीपी कोइरालाको डायरी वि.सं. २००८ सालदेखि २०१३ सालसम्म नेपालको संक्रमणकालीन अवस्थामा लेखिएको दैनिकी हो । यसमा वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्य र वीपी पुत्र शशांक कोइरालाले भूमिका बाध्नुभएको छ । त्यो समयमा भएका महत्वपूर्ण राजनीतिक घटनाहरू यहाँ समेटिएका छन् ।

काठमाडौंबाट वीपीको राजनीतिक भ्रमण शुरु हुन्छ । नेपाल भारतका विभिन्न जिल्ला र ठाउँहरू (विराटनगर, नेपालगञ्ज, वीरगञ्ज, इलाम, राजविराज, तानसेन, सिराहा, जनकपुर, धरान, धनकुटा, दाङ, पोखरा, बाग्लुङ, महोत्तरी, लमजुङ, तनहुँ, दार्जीलिङ, कलकत्ता, दिल्लि, लखनऊ, पटना, बनारस, पुना इत्यादि) हुँदै युरोप (लण्डन, पेरिस, युगोस्लाभिया आदि) मा पुग्छ । अन्त्यमा भारतको बम्बै आएर भ्रमण टुंगिन्छ । भ्रमणकै क्रममा त्यसबेलाको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रहरूलाई यो पुस्तकले समेटेको छ ।

२०१० चैत्र १, राजा त्रिभुवनको स्वर्गारोहण भएको समय हो । देशले एउटा असल व्यक्तित्व गुमाएको दिन हो । त्यसबेला देशमा दुःखको बादल छाएको थियो र राजा महेन्द्रको सत्ता रोहण भयो । त्यसैगरी २०११ श्रावण १७ गते चीनसँग नेपालले संझौतामा हस्ताक्षर गरेको थियो । त्यसै समयबाट चीनसँग नेपालको द्वौत्य सम्बनधको शुरुवात भयो ।

त्यस समयमा विविध पार्टीहरूको जन्म, विलय भइरहेको थियो । त्यसैबेला नेपाली कांग्रेस एउटा राष्ट्रिय पार्टीको रुपमा स्वरुप ग्रहण गरिरहेको थियो । यी महत्वपूर्ण राजनीतिक घटनाक्रमको संक्षिप्त विवरण यो पुस्तकमा उल्लेख छन् ।

त्यो समयको राजनीतिक अवस्थालाई नजिकबाट नियाल्दा २०१२ साल फागुन र चैत्र महिनामा वीपीले प्रारम्भ गरेको गण्डकी अञ्चलको यात्रा एक महत्वपूर्ण पाटो रहेको छ । त्यो यात्रामा नेपाली कांग्रेसका सभपाति सुवर्ण शंशेर, डा. तुलसी गिरि र विश्ववन्धु थापा सम्लग्न भएको पाइन्छ ।

वीपीको भनाई, ‘बाटो अप्ठ्यारो भएका कारण सुवर्णजीलाई निक्कै गाह्रो भइरहेको थियो । म पनि उत्तिकै थाकेको थिए । बाटोमा देखिएको हिमालको दृश्य मनमोहक थियो ।’

यो राजनीतिक डायरी भए पनि वीपीको लेखन शैलीमा साहित्यिक शब्दको भरपुर प्रयोग भएको छ । त्यो दिनको डायरीको अन्त्यमा जस्टिस होम्सको भनाई पनि रहेको छ, ‘सत्यको सबैभन्दा ठूलो परीक्षा भनेको सोंचको त्यो शक्ति हो जसले बजारको प्रतिस्पर्धामा आफूलाई ग्राह्य बनाउछ ।’ यो वाक्य हामी पाठकका लागि प्रेरणाको स्रोत बनेको छ ।

अप्ठ्यारो भएका कारण सुवर्ण शम्शेर लमजुङबाट पोखरा फर्कएछन् । वीपीसहितको टोली तनहुँतिर लागेछ । रुपाकोटको भाषणले वीपीलाई ठूलो सभाको संबोधन गर्नुभन्दा सानो समुहमा विस्तृत कुरा गर्नु बढी प्रभावशाली हुनेरहेछ भन्ने अनुभव गरायो ।

टुहुरे पसलमा वीपीले एउटा आमसभालाई संवोधन गरेपछि त्यहाँ व्यवधान पुर्याउने कोशिष पनि भयो । त्यो दिन बेलुका सिमपानी स्थित आफ्नै पार्टीका साथी श्रीभद्र खनालको घरमा वीपीको टोलिको बास भएछ ।

त्यसपछि डायरीमा गम्भीर टिप्पणी छ, ‘नक्कै ठूलो घर बनाएका रहेछन्, यसले कुनै कुनै समूहमा उनका लागि निक्कै प्रतिकुल अवस्थाको श्रृजना समेत गरेको रहेछ ।’ भोलिपल्ट भानुभक्तको जन्मथलो चुँदी बेशीको रम्घा हुँदै बन्दीपुरको कार्यक्रममा सहभागी भइ निक्कै व्यवस्त रहेको कुरा पनि डायरीमा व्यक्त भएको छ ।

त्यसैगरी वीपीको टोलिले तरुण दलसँग बैठक गरेको, हरिजन सभामा सामेल भएको, कार्यकर्र्ता यालीलाई संबोधन गरेको इत्यादि कुराहरू पनि यहाँ सामेल छन् । अर्को गम्भीर टिप्पणी पनि छ, ‘बन्दीपुर कम्युनिष्ट पार्टीको ठूलो पकडको क्षेत्र हो । तर अहिले तिनिहरू निक्कै कमजोर भइसकेका रहेछन् । त्यहाँ कांग्रेस नै सबैभन्दा शक्तिशाली रहेछ ।’ त्यसैले यो भ्रमण पनि राजनीतिक दृष्टिकोणले वीपीको लागि निक्कै महत्वपूर्ण रह्यो ।

वीपीको युरोप भ्रमणको मुख्य उद्देश्य पनि राजनीतिक नै हो । युरोपको प्रमुख लोकतान्त्रिक देशहरूको भ्रमणसँगै त्यहाँ देखिएका चित्रकला र मुर्तिकलाको पनि यहाँ बडो रोचक तरिकाले वर्णन गरिएको छ । जसबाट हामीले उनको यो रुचिको विषय पनि रहेछ भनेर बुझ्न सकिन्छ । भ्रमण सँगै उनले आफ्नो बहुमुल्य समयलाई किताव पढ्नमा प्रयोग गरेको प्रचुर मात्रामा भेटिन्छ ।

किताव पढ्दा उनमा निक्कै गहकिलो सोच आउथ्यो । वीपी सोच्छन्, ‘म मानिसका आँशु र हासोमा बाच्ने छु । मानिसको दुःख र डरमा बाच्ने छु । एक मानव हुनुका नताले म अनन्तसम्म मानव जातिसँगै बाच्ने छु ।’ विभिन्न पुस्तकहरू पढेर त्यसको बारेमा आफ्नो दृष्टिकोण राखेको कुरा पनि यो पुस्तकमा चर्चा गरिएको छ ।

यसका साथै उपन्यास, नाटक, राजनैतिक लेखन र चलचित्रका प्रसंगहरू पनि उल्लेख छन् । यसबाट हामी पाठकले के शिक्षा लिन सकिन्छ भन्दा १ सामान्य मानिस विद्वान हुनका लागि अध्ययनको ठूलो भूमिका हुन्छ । त्यसैले सबैले यसलाई निरन्तरता दिनुपर्दछ ।

यसका साथै वीपीको जीवनको व्यक्तिगत र व्यवहारिक पाटाहरू पनि भावुक शैलीमा व्यक्त गरिएका छन् । आफ्नो परिवार, गरिवि, सन्तानहरूको जन्म र आफू त्यहाँ हरसमय उपस्थित हुन नपाउदाको अनुभूति, परिवारमा आफ्नो बढ्दो आवश्यकता, आफ्नो स्वास्थ्यको क्रमशः विग्रदो अवस्था आदि विषय वस्तुहरू पनि यस डायरीमा समावेश छन् । यी सबै समस्याहरूको छाया उनको लक्ष्यमा कहिल्यै परेन । मनभरी घर, परिवार र सन्तानको पीडा बोकेर पनि उनी राष्ट्रसेवामा लागिनै रहे ।

यो डायरीमा उनको राजनीतिक संर्घषमा परिवारले भोगेका समस्या, राजा त्रिभुवन र राजा महेन्द्रसँग नजिकिँदाको अनुभव र आफ्नै ठूलोदाजु मातृकाप्रसाद कोइरालासँगको विग्रदो सम्बन्धको बारेमा पनि चर्चा गरिएको छ । भ्रमणकै क्रममा उनको मनमा निक्कै पारिवारिक कुराहरू पनि उब्जन्थे र त्यसमा उनी निक्कै चिन्तित हुन्थे ।

वीपी भन्थे, ‘करिव १ वर्षदेखि श्रीमती सुशिलाले स्वतन्त्र जीवन बाँचिरहेकी थिइन् । जेठो सन्तान प्रकाश कोइरालाले त मलाई संझदैन होला पनि र म एउटा व्यस्त जीवन बाँचीरहेको छु । नेपालको यो पागल राजनीतिले मलाई कहिले छोड्ला ? के म पुनः मेरी श्रीमतिको समिपमा पुगुला ।’

आफ्नो परिवारलाई समय दिन नपाउदा बेलाबेलामा राजनीति छोडेर कुनै कुटनीतिक जिम्मेवारीतिर लागौंकी भनेर दोधारमा हुन्थे । श्रीमती सुशीलाको बारेमा उनको धारणा यस्तो छ, ‘सुशीला एक असल आमाका रुपमा विकसित भएकी थिइन् । उनमा मातृत्वको गुण प्रचुर मात्रामा थियो । श्रीमतीको भूमिकामा पनि श्रेष्ठ थिइन् ।’

वीपी भारतमा लामो बसाईका साथै स्वतन्त्रता संग्राममा सहभागी भए । यसै कारण उनी जेल पनि परे । नेपालको राजनीतिक समस्या सुल्झाउन भारतका समकक्षी नेताहरूसँग धेरै पटक भेटेको यो पुस्तकमा पाइन्छ । नेपालको समस्यामा भारतले आफूलाई साथ नदिएकोमा दिक्दारी पनि यस किताब पढ्दा बुझिन्छ । तर पनि वीपीले हार मानेनन् र उनले संघर्ष गरिरहे । वीपी नेपाली राजनीतिका धेरै ठूला नेता हुन् । उनको सोचाई, गराई, पढाईले नै उनी सफल भएकोे मान्न सकिन्छ ।

वीपी फरक किसिमले सोच्छन् । एकदिन आफूलाई बुद्धसँग तुलना गर्न पुग्छन् । बुद्ध जयन्तिको दिनमा उनको मनमा निकै गहिरो सोच आयो र भन्छन्, ‘साधारण जनताको एउटा छोरो त्यस्तो गौरवपूर्ण उचाइसम्म उठ्यो, कल्पना भन्दा माथि । आज करिब ३ हजार वर्षपछि पनि करोडौं अनुयायी उनको संझनामा श्रद्धाअर्पण गर्छन् । कति उत्साहवर्धक कुरा । म भने आफ्ना अध्यारा दिन खेपि रहेको छु । यस बेला बुद्धले आर्जन गरेको उचाईले मलाई प्रेरणा दिएको छ ।’

अन्त्यमा यो डायरी पढेर वीपी साहसी, कर्मयोगी, राष्ट्रप्रेमी, कल्पनाशील व्यक्तित्वका रुपमा चिनिन्छन् । साथै आफ्नो पीडा लुकाउने र देशको पीडालाई महसूस गर्ने असल राजनीतिज्ञका रुपमा पाइन्छन् ।

नयाँनयाँ ठाउँ भ्रमण गर्न, पुस्तकहरू पढ्न रुचाउने वीपी कोइरालालाई खुला कितावको रुपमा पनि पढ्न सकिन्छ । यस डायरीमा प्रयोग भएका भाषा आकर्षक र सरल छन् । सबै घटनाहरू रोचक शैलीमा प्रस्तुत भएका छन् । यो डायरी प्रेरणादायी पनि छ । जसले पाठकहरूलाई पढ्न आकर्षित र प्रेरित गर्दछ ।
(लेखिका पन्थी घिमिरे त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजमा एमएस्सी. केमेस्ट्री पढ्दैछिन् ।)