ताजा समाचार

पौष २४ गते २०७६

कानुनमा न्याय, समाजमा सजाय !

मध्य राति खबर आयो, एउटी महिला सडकमा गुहार माग्दै छिन् । प्रहरीलाई खबर गरें । केही साथीलाई फोन गरें, अनि घटना भएको ठाउँमा पुगें । महिला सडकमा थिइन्, अनुहारभरि नीलडाम थियो, बेसाहारा छोरी छेउमै चिच्याउँदै थिइन् । पोखरा ५ मालेपाटनको साताअघिको घटना हो यो । श्रीमान्ले रक्सीको नसामा उनलाई निर्मम तरिकाले पिटेका थिए । त्यतिले मात्र नपुगेर घरबाट निकालेर सडकमा छाडेका थिए । उनलाई उद्धार गरी सामान्य उपचारपछि मानव सेवा आश्रममा लगियो । यस्तो अमानवीय पीडा सहेकी महिलाको पीडा, नाम हामीले सार्वजननिक गरेनौं । न उनले हिंसा भयो, न्याय पाऊँ भनेर उजुरी नै गरिन् ।

यो सानो उदाहरणमात्र हो । यस्ता कयौं उदाहरण छन्, प्रहरीले हिंसाबाट उद्धार गरे पनि पीडक विरुद्ध जरुरी पर्दैनन् । अझ धेरैजसो घटना त प्रहरीसम्म पनि पुग्दैनन् । उनको नाम, उनले सहेको पीडा सार्वजनिक भए उनलाई परिवारमा स्थापित गराउन अझ कठिन पर्ने ठानियो । हामीले उद्धार गर्नुअघि पनि उनले निकै पटक यस्तो दुर्दशा भोगिन्, सहिन् पनि । महिलामाथि हुने हिंसालाई कानुनले दण्डनीय बनाएको छ । यहाँसम्म कि श्रीमतीलाई बलात्कार गरेको मुद्दामा केहीले कारावासको सजाय पनि पाएका छन् । केही अपवादमै सन्तोष मान्ने अवस्था छैन । महिलालाई समान अधिकार दिलाउने उद्देश्यले धेरै कानुन बनेका छन् । तर, अहिलेको परिस्थिति विश्लेषण गर्दा महिलाको अवस्थाबारे यसो भन्न सकिन्छ ः कानुनमा न्याय, समाजमा सजाय ।

नेपाली समाज विविधतापूर्ण छ, सरल छ, सुन्दर पनि छ । अनेक संस्कार, संस्कृति मान्नेहरु मिलेर बसेका छन् । अनेकतामा एकता हाम्रो पहिचान हो । हाम्रो समाजका सुन्दर पक्षहरुमात्र छैनन्, केही कुरुप पक्ष पनि छन् । ती पक्षबारे लामो समयदेखि बहस, छलफलमात्र भएका छैनन् , तीनलाई निर्मूल पार्न ऐन, कानुनहरु पनि बनेका छन् । अभियानहरु चलाइएका छन् । सामाजिक, व्यक्तिगत र राज्य स्तरबाटै पनि प्रयास भएका छन्, ती प्रयास यद्यपि जारी छन् । यी सबैका बाबजुद पनि नेपाली समाजमा अनेक असुन्दर पक्ष अझै विद्यमान छन् ।

महिलामाथिको विभेद अझै जारी छ । नयाँ नेपाल, आधुनिक युग, प्रविधिको दुनियाँ जे जे भने पनि माहिलामाथि अत्याचार नजन्मिँदै सुरु हुन्छ । भ्रूणावस्थामै लिंग पहिचान गरी छोरी भए गर्भपतन गर्ने क्रम बढ्दो छ । अरु त कुरै छाडौं, लिंग पहिचान गर्ने डाक्टरले छोरा भए बढी, छोरी भए कम रकम असुल्ने गरेको देखिएको छ । यसरी लिंग पहिचान गरी गर्भपतन गर्नेको लाममा नबुझ्नेहरु मात्र छैनन्, केही आफूलाई जान्नेसुन्ने दाबी गर्नेहरु पनि छन् । नजन्मिदै सुरु भएको विभेदको शृंखला लामो छ, अर्थात् मृत्युसम्म चल्छ ।

नयाँ नेपाल, आधुनिक युग, प्रविधिको दुनियाँ जे जे भने पनि माहिलामाथि अत्याचार नजन्मिँदै सुरु हुन्छ ।

हाम्रो समाजले महिलालाई सहनुपर्छ भनी सिकाउँछ । केही हदसम्म सहनु, विश्लेषण गर्नु, चिन्तन गर्नु ठीकै पनि हो । यो सहनुको हद अत्याचार पनि सहूँ भन्नेसम्म पुगेको छ । सानैबाट छोरालाई पढाइमा जोड दिने, छोरीलाई घरायसी काम सिकाउने संस्कार छँदै छ । छोरालाई निजी विद्यालय, छोरीलाई सरकारी पठाउनेहरु पनि छँदै छन् । अर्काे विभेदको कारण हो, बुढेसकालमा छोराले पाल्छन्, मृत्युपछि पनि छोराले काजकिरिया, श्रृाद्ध, तर्पण नगरे तरिँदैन ।

सामाजिक विभेदलाई धार्मिक मान्यताले थप टेको दिएको छ । यसकै बलमा नारीमाथि अनेक अत्याचार भएका छन् । तर, यो बुढेसकालको साहारा छोरा नै हो भन्ने मान्यतामा विस्तारै पहिरो जाँदै छ । वैदेशिक रोजगारी, देशमै कामको सिलसिलामा पुरुषहरु घर बाहिर हुँदा घरको जिम्मा बुहारीहरुले उठाइरहेका छन् । छोराबुहारी, नातिनातिनाले हेला गरेकाले जीवनभर छोराका लागि खाइनखाई सम्पत्ति जोगाउनेहरु बुढेसकालमा आँसुको पोखरीमा पौडिइरहेका पनि धेरै देखिन्छन् । धेरै बाआमा, हजुरबा हजुरआमा हेला, वेवास्था सहेर पनि हास्न बाध्य छन् । केही अचाक्ली सहन नसकेर वृद्धाश्रमसम्म पनि पुगेका छन् ।

महिला हिंसामा पर्नु, हिंसा सहेरै बस्नुमा महिलाकै पनि कमजोरी छन् । पीडित भएका बेला नारीले नारीकै साथ पनि पाउँदैनन् । पुरुषले भनेको मान्नुपर्छ, उनीहरुकै खटनपटनमा हिड्नुपर्छ भन्ने मानसिकता छ । परिवार, आफन्त, माइती, साथीभाइ, समाज सबैतिर पीडा सहेरै भए पनि महिलाले परिवार जोगाउनुपर्छ भन्ने मान्यता छ । गल्ती पुरुषको भए पनि केही भइहालेमा महिलालाई दोषी करार गरिन्छ । न्यायको कठघरामा पुग्नुअघि त्यसपछिको जीवनबारे पनि सोचिन्छ नै । श्रीमान्सँग सम्बन्ध विच्छेद गरी एक्लै बस्ने महिलालाई हेर्ने नजर अर्कै छ । यो नजर त श्रीमान्सँगै हुँदा पनि समाजमा केही काम गरे, अधिकारका लागि बोले कुनै न कुनै लाञ्छना लगाएर तेजोबध गर्न सधै उद्दत हुन्छ ।

बुढेसकालको साहारा छोरा नै हो भन्ने मान्यतामा विस्तारै पहिरो जाँदै छ । वैदेशिक रोजगारी, देशमै कामको सिलसिलामा पुरुषहरु घर बाहिर हुँदा घरको जिम्मा बुहारीहरुले उठाइरहेका छन् ।

महिलालाई घर, परिवार, भान्छाको जिम्मेवारी पूरा गरेर बाहिर निस्कने समस्या छ । निस्किइ हाले पनि कुनै न कुनै आरोप लगाइदिए उसको बाहिरी दुनियाँ बुझ्ने बाटो नै बन्द हुन्छ । बाहिर निस्कनुअघि परिवारकै सहमति लिन पनि सजिलो छैन । समाजसेवा, राजनीति, जागिर जस्ता क्षेत्रमा सक्रिय महिला धरैजसोले घरमै संघर्ष गरिरहेका छन् । केहीले संघर्षकै दौरानमा परिवारलाई कुरा बुझाए, केही बुझाउने प्रक्रियामा होलान्, केहीचाहिँ परिवारमा टोकसो पनि झल्दै होलान् ।

अर्काे घातक पक्ष के छ भने महिला अधिकारलाई पुरुषको विरोधी भएको रुपमा व्याख्या भइरहेको छ । महिला अधिकार पुरुषको विरुद्धमा हुँदै होइन, यो त मान्छेले पाउने नैसर्गिक अधिकार हो । पुरुषलाई निषेध गरेर महिला अधिकार सुनिश्चित हुने कुरै छैन । स्त्री र पुरुषकै सहयात्रामा जीवन अघि बढ्ने हो । हाम्रो भनाइ छ ः नारी पुरुष एक रथका दुई पांग्रा हुन् । रथ भनेको पारिवारिक जीवन हो । जसरी रथ राम्ररी चल्न दुवै पांग्रा सन्तुलनमा हुनुपर्छ, बराबरी गुड्नुपर्छ, त्यसरी नै पारिवारिक जीवन सुन्दर, सुखी हुन महिला पुरुष दुवैको समान अधिकार, दायित्व र भूमिका जरुरी हुन्छ ।

उखान बनाएको नेपाली समाजले महिलालाई बराबरी भूमिका भने कतै दिएको छैन । दायित्व भने परिवारमा महिलालाई बढी नै थिएको छ । अर्थात्, दुई पांग्रामध्ये एक पांग्रामा बढी बोझ छ, अर्थात रथ असन्तुलित छ । असन्तुलित रथ राम्ररी अघि बढ्न सक्ने कुरै भएन । जीवनको रथलाई परिवारको राजमार्गमा राम्ररी दौडाउन कानुनमा न्याय, समाजमा सजाय हुने अवस्था अन्त्य हुनै पर्छ । साभार : समाधान