ताजा समाचार

कार्तिक १६ गते २०७६

सेमेस्टर प्रणालीका समस्या र चुनौती के-के हुन् ?

१. पृष्ठभूमि
त्रिभुवन विश्वविद्यालय राष्ट्रको गौरव हो । प्रथम विश्वयुद्धको समाप्तिसँगै त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको प्रारम्भ गरेको हो । नेपालीको बलिदानले गर्दा अंग्रेज सरकारले आफ्ना सेनामा नेपाली युवाहरूलाई भर्ना गर्ने चाहना बढायो ।

अंग्रेज सरकारले प्रधानमन्त्री जङ्गबहादुर राणालाई नेपाली युवा भर्ना गर्न अनुमति मागे तर जङ्गबहादुर र रणोद्दिप सिंहले यस कुरालाई अस्वीकार गरे । रणोद्दिप सिंहको हत्या गरेर प्रधानमन्त्री भएका वीर शमशेरलाई अंग्रेजले खुसी पार्नु थियो, जसले गर्दा नेपाली युवालाई गोरखपुरमा डिपो खोलेर भर्ना गर्न स्वीकृति दिए ।

अंग्रेजी शिक्षाबाट वञ्चित भएका युवाहरू अंग्रेजी भाषामा लेखिएका हातहतियार र तिनको प्रयोगका बारेमा थाहा थिएन । अंग्रेज सरकारले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई प्रथम विश्वयुद्ध सकिनासाथ कलेज स्थापना गर्न दबाब दिन थाले ।

त्यसको परिणाम विसं १९७६ (सन् १९१८) मा तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको नाम जोडर त्रिभुवन–चन्द्र कलेज स्थापना भयो । यसलाई छोटकरीमा त्रिचन्द्र कलेज भनियो ।

यस त्रिचन्द्र कलेजले एक वर्षपछि कलासम्बन्धी विषय पढाइ प्रारम्भ गर्यो । यो कलेजलाई भारतको पटना विश्वविद्यालयसँग सम्बद्ध गराइएको थियो । विसं २०१६ जेठ १३ गते यसबीच विद्यालयलाई ऐन पारित गरी विश्वविद्यालयको विधिवत् स्थापना भयो ।

यो विश्वविद्यालय स्थापना भएपछि विसं २०१८ मा शिक्षाशास्त्र र विसं २०२२ मा विज्ञान विषयको स्नातकोत्तर स्तरको शिक्षण प्रारम्भ भयो भने विसं २०२६ देखि संस्कृत विषयमा स्नातकोत्तर अध्यापनको प्रारम्भ भयो ।

विसं २०१६, २०२८, २०४२ र २०४९ मा यस विश्वविद्यालयको ऐन पटकपटक संशोधन हुँदै गयो । विसं २०१९ देखि राजा महेन्द्रबाट ग्रहण भएको कुलपतिको पद २०६२र०६३ को आन्दोलनपछि प्रधानमन्त्रीमा हस्तान्तरण गरियो ।

विसं २०२८ मा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि प्रशासनिक जनशक्ति पूर्ण गर्न त्रिवि ऐन २०२८ अनुसार त्रिवि सेवा आयोगको गठन भयो । त्यसैले यस विश्वविद्यालयले देशको ९५ प्रतिशतभन्दा बढी उच्च शिक्षाको भार वहन गरेको छ । यसका ६० आङ्गिक र १०८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरू रहेका छन् ।

यो विश्वविद्यालयअन्तर्गतको मानविकी तथा सामाजिकशास्त्र सङ्काय विषयगतरुपमा ठूलो विविधता भएको सङ्काय हो ।

यस सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा अंग्रेजी, नेपाली, हिन्दी, मैथिली, संस्कृत, नेपाल भाषा, अर्थशास्त्र, गृह विज्ञान, इतिहास र नेपाली संस्कृति, इतिहास र पुरात¤व, ललितकला, मनोविज्ञान, भूगोल, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता विषयहरू रहेका छन् ।

देशको आवश्यकताअनुसार यस सङ्कायमा स्नातक तहमा बीसीएजस्ता नयाँ विषय समावेश गरिएको छ । विश्वविद्यालयले नयाँ शिक्षाप्रणाली लागू भएपछि विसं २०३० बाट प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म सेमेस्टर प्रणाली लागू गरेको थियो, तर फितलो व्यवस्थापन र विद्यार्थी आन्दोलनले विसं २०३७ सालमा सेमेस्टर प्रणाली विस्थापन गरी वार्षिक प्रणाली लागू गर्ने नीति लियो ।

समयसँगै सन् २०१७ को शैक्षिक सत्रदेखि काठमाडौँ उपत्यकाभित्र स्नातकोत्तर तह सञ्चालन आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरेको त्रिविले हाल देशभरका सम्पूर्ण क्याम्पस/कलेजहरूमा स्नातकोत्तर तहको कार्यक्रम सेमेस्टर प्रणाली सञ्चालन गरिने भनी २०७४ पुस १९ देखि माघ १९ गतेसम्म भर्ना आवेदन फाराम बुझाउने मिति तोकेको थियो, जसले निम्नलिखित चुनौतीहरू सामना गर्नुपरेको देखिन्छ :

गुणस्तरीय जनशक्तिको अभाव
सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि शिक्षक र कर्मचारीको योग्यता र लगनशीलताले महत्वपूर्ण भूमिका खेल्दछ । धेरै पाठ्यांशहरूमा शिक्षकले आफूले गरेका अनुसन्धानका आधारमा विद्यार्थीहरूलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान दिनुपर्ने हुन्छ ।

त्रिविमा स्नातकोत्तर तहमा अध्यापन गर्नका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह नै कायम गरिएको र अधिकांश शिक्षकहरूमा दर्शनाचार्य (एमफिल) र विद्यावारिधिको योग्यता नदेखिएकाले पाठ्यांशमा तोकिएका व्यावहारिक पक्षलाई राम्ररी सिकाउन सकिने अवस्था चुनौतीपूर्ण छ ।

भौतिक सुविधाको अभाव
विश्वविद्यालयका क्याम्पसहरूमा उपयुक्त कक्षाकोठा, शौचालय, पुस्तकालय, सेमिनार कक्ष, चमेना गृह, आधुनिक सूचना प्रविधिजस्ता कुराहरूको कमी रहेको पाइन्छ । स्नातकोत्तर तहमा नेपालको राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारम्परिक विषयका पाठ्यक्रममा क्रमिक परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिसँग समायोजित हुने नयाँ विषयहरू पनि समावेश गर्दै जानुपर्ने अवस्था छ । त्यस्ता विषयहरूमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था नहुँदा विभिन्न प्रकारका समस्याहरू देखिएको पाइन्छ ।

अभिमुखीकरण तथा तालिमको कमी
निश्चित समयावधिमा कोर्स सम्पन्न गर्नुपर्ने र आन्तरिक मूल्याङ्कनलाई विशेष मह¤व दिइएको सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कनका विभिन्न पक्षहरूका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका लागि अभिमुखीकरण तथा तालिमको व्यवस्था प्रभावकारीरुपमा हुन सकेको छैन । छलफल र अन्तरक्रिया विधिलाई अधिकतम प्रयोग गर्नुपर्नेमा प्रवचन वा व्याख्यान विधिकै बढी प्रयोग भएको देखिन्छ ।

विशेषतः शिक्षकहरूलाई आधुनिक मूल्याङ्कन प्रणालीका बारेमा अभिमुखीकरण तथा तालिमको व्यवस्था नभएका कारणले मानविकीका विषयहरूमा मूल्याङ्कनमा एकरुपता र प्रामाणिकता कायम गर्न गाह्रो भएको छ । त्यसले गर्दा विद्यार्थीहरूलाई आफनो क्षमताअनुसारको ग्रेड प्राप्त गर्न समस्या भएको छ । आजसम्म पनि धेरै शिक्षक तथा कर्मचारीहरूलाई जीपीए/ सीजीपीए जस्ता ग्रेडिङ प्रणालीका आधारभूत विशेषताहरूका बारेमा राम्ररी जानकारी दिन सकिएको छैन । वार्षिक प्रणालीमा रहेकालाई सेमेस्टरमा सहभागी गराउन निकै चुनौतीपूर्ण देखिन्छ, जसले गर्दा विद्यार्थी संख्या घट्न सक्ने छ ।

पाठ्यक्रम निर्माणमा कमजोरी
कामसँगै सिकाइ रणनीतिअनुरुप यथेष्ट व्यावहारिक कार्ययोजनाविना नै यस सङ्कायमा सेमेस्टर प्रणाली लागू गरिएको हो । सेमेस्टर प्रणालीका मूलभूत सिद्धान्तअनुरुपको पाठ्यक्रम निर्माण गर्नका लागि शिक्षकहरूलाई अभिमुखीकरण तथा तालिमको व्यवस्था नै गर्न सकिएको छैन । त्यसैले, प्रायःजसो विषयमा वार्षिक प्रणालीमा चलेका कोर्सलाई नै सेमेस्टर प्रणालीअनुसार अनुकूलन गर्ने प्रयास गरिएको छ ।

त्यसैले गर्दा आवश्यक कोर्सको निर्माण गर्न नसकिएको, निर्माण गरिएका कोर्स पाठयोजना र मोडेल परीक्षणविना तयार गरिएकाले पाठ्यक्रममा तोकिएको समयावधिमा कोर्स पूरा गर्न ज्यादै गाह्रो भएको र सैद्धान्तिक तथा व्यावहारिक पक्षमा उचित सन्तुलन हुन सकेको छैन ।

करिब १६ पाठघन्टाबराबरको शिक्षण विषयलाई एक क्रेडिट घन्टा मानी कोर्स बनाउँदा पनि सो समयावधिमा कोर्स पूरा गर्न नसकिएका थुपै्र उदाहरणहरू छन् । विषयगत कोड नम्बर र पाठ्यांश भारमा पनि यस सङ्कायमा एकरुपता कायम गर्न सकिएको पाइँदैन ।

शैक्षिक क्यालेन्डर लागू गर्नमा कमजोरी
शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन नै सेमेस्टर प्रणालीको प्रमुख विशेषता हो । शिक्षक र विद्यार्थी दुवैलाई सत्रको सुरू र अन्त्य, आन्तरिक मूल्याङ्कन तालिकाजस्ता कुराहरूको निश्चित समय तालिकाका बारेमा जानकारी हुनुपर्ने र त्यसैअनुसार पठनपाठन कार्यलाई योजनाबद्धरुपमा अगाडि बढाउनुपर्ने हुन्छ । नेपालजस्तो देशमा प्राकृतिक प्रकोप, नाकाबन्दी, हड्ताल र कोर्स पूरा नभएकोजस्ता कारणले गर्दा यस सङ्कायमा शैक्षिक क्यालेन्डरलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको छ ।

मूल्यांकन प्रणालीको प्रभावकारी कार्यान्वयनमा कमी
सेमेस्टर प्रणालीमा प्रत्येक शैक्षिक सत्रमा हरेक विषयमा ८० प्रतिशतसम्म उपस्थित नभएको खण्डमा विद्यार्थीहरूलाई परीक्षामा सामेल हुन नपाउने व्यवस्था गरिएको छ । यस व्यवस्थालाई कडाइका साथ लागू नगरिएमा अपेक्षित गुणस्तर कायम गर्न सकिँदैन ।

स्नातक तहसम्म वार्षिक प्रणालीमा पढेका विद्यार्थीहरूलाई उपस्थिति पनि आन्तरिक मूल्याङ्कनको अभिन्न अङ्ग हो भन्ने कुरा अभिप्रेरित गर्न सकिएको अवस्था छैन । प्रत्येक विषयको आन्तरिक मूल्याङ्कनको भार ४० प्रतिशत र सत्रान्त परीक्षाको भार ६० प्रतिशत रहेको छ ।

यस सङ्कायमा कक्षामा उपस्थिति, प्रस्तुतीकरण, अन्तरक्रिया वा कक्षा सहभागिता, मध्यावधि परीक्षा (लिखित र प्रयोगात्मक), परियोजना कार्य, क्षेत्रकार्य र आवधिक पत्र (टर्म पेपर) जस्ता आधारमा आन्तरिक मूल्याङ्कन गरिने र लामा–छोटा र अति छोटा उत्तर आउने प्रश्नहरूका आधारमा डिन कार्यालयबाट बाह्य परीक्षा लिने व्यवस्था गरिएको छ ।

आन्तरिक मूल्याङ्कन र सत्रान्त परीक्षाको प्राप्ताङ्कमा २० प्रतिशतभन्दा बढी फरक भएमा भाराङ्कित औसतका आधारमा आन्तरिक मूल्याङ्कनमा प्राप्त भएको अङ्कको प्रतिशतलाई समायोजन गर्ने व्यवस्था छ, तर प्रभावकारी कार्यान्वयन गर्न चूनौतीपूर्ण रहेको देखिन्छ ।

प्रोत्साहनमा कमी
लामो समयसम्म वार्षिक प्रणालीमा रहेका शिक्षक तथा कर्मचारीलाई सेमेस्टर प्रणालीमा प्रभावकारीरुपमा काममा लगाउनका लागि उचित प्रोत्साहनको आवश्यकता पर्दछ । नियमित बिदाका बेलामा अतिरिक्त कक्षा लिएबापत आजसम्म पनि अधिकांश विभागले पारिश्रमिक दिन सकेका छैनन्, न त उनीहरूलाई सट्टा बिदाको व्यवस्था दिन सकिएको अवस्था छ ।

यसका साथै आन्तरिक मूल्याङ्कनमा विशेष प्रकारले खटिएबापत प्रोत्साहन भत्ताको व्यवस्था हुन सकेको छैन । प्रोत्साहित शिक्षक र कर्मचारीविना यस प्रणालीलाई राम्रोसँग कार्यान्वयन गर्न सकिन्न । मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा पढ्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिका साथै साना र मझौला खाले अनुसन्धान परियोजनामा संलग्न हुने व्यवस्था छैन ।

आधुनिक सूचना प्रविधिको समायोजनमा कमी
आजको युगमा जीवनका हरेक क्षेत्रमा आधुनिक सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समाजले अन्तर्विषयक विषयहरूको माग गरिरहेको अवस्था छ । उदाहरणका लागि नेपालका १२३ वटा भाषाहरूको छोटो समयमा प्रभावकारीरुपमा अध्ययन अनुसन्धान गर्नका लागि कम्प्युटर इन्जिनियर/वैज्ञानिक, मानवशास्त्री, तथ्याङ्कशास्त्री, कम्प्युटेसनल भाषा वैज्ञानिकहरू एकजुट भएर लाग्नुपर्ने भएको छ ।

त्यसैले, स्नातकोत्तर तहमा ध्वनिविज्ञान, वर्ण्विज्ञान, रुपविज्ञान, वाक्यविज्ञान र अर्थ्विज्ञानजस्ता विषयहरूलाई आधारभूत विषयका रुपमा पढाएर व्यावहारिक पक्ष विशेषगरी भाषाको विश्लेषणमा कम्प्युटर विज्ञानको अधिकतम प्रयोग गर्नका लागि दुवै विषयलाई मिलाएर कोर्सको निर्माण गर्न सक्नुपर्दछ ।

त्यसैगरी, सरकारी कामकाजको भाषाका रुपमा रहेको नेपाली भाषामा स्तरीकरण गर्नका लागि आवश्यक जनशक्तिको अभाव रहेको बेलामा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई नेपालीको पाठ्यक्रममा नै आधुनिक सूचना प्रविधिलाई समायोजन गरी व्यावहारिक ज्ञान वृद्धि भई विद्यार्थीहरू आकर्षित हुने थिए, तर यस्तो अवस्था छैन ।

आंशिक प्राध्यापकमा कक्षाभार बढी
त्रिवि आफैँमा एउटा स्वायत्त शैक्षिक संस्था हो । यसको आफ्नै त्रिवि नियमावली रहेको छ । त्रिविमा प्राध्यापकहरूको आफ्नै स्तर रहेको हुन्छ । आंशिक, शिक्षण सहायक (करार), उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक आदि तह छन् ।

स्थायीलाई हप्ताको १२ घण्टी त कहिले १५ घण्टी पढाउनका लागि र त्यसैमा शोधपत्रको गणना समेत फरक–फरक किसिमले गरेको पाइन्छ । बेलैमा विश्वविद्यालयको त्रिवि सेवा आयोग नखुलेकाले स्थायीहरू अवकाश भइरहने र नयाँ पदपूर्ति गर्न नसकिने हुनाले जटिल समस्या रहेको छ । ८३ प्रतिशतभन्दा बढी कक्षाभार आंशिक प्राध्यापकबाट कार्य गरिरहेको पाइन्छ ।

आंशिकलाई कुनै पनि सुविधा दिइएको पाइँदैन । आंशिक प्राध्यापकहरूले विनासुविधा बढीभन्दा बढी कक्षाभार लिएकोले यो प्रणाली चुनौतीपूर्ण रहेको छ । यस विश्वविद्यालयका पदाधिकारीहरू अवकाश प्राप्त भएर राजनीतिकरुपमा पदमा पुगे पनि कुनै लछारपाटो लगाएको पाइँदैन ।

आफ्नो कुर्सी जोगाउनका लागि कसरत गरेको देखिन्छ । आंशिक प्राध्यापकसँग भएको पटकपटकको सम्झौता हेर्दा विश्वविद्यालयमा राजनीतिको दाउपेच रहेको पाइन्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट थप गरिएको १,४२० दरबन्दी तत्काल लागू भएमा सेमेस्टर प्रणाली सफलतापूर्वक सञ्चालन हुने देखिन्छ ।

२. उपसंहार
त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्नुको विकल्प देखिँदैन । तर पनि नेपालको वर्तमान सामाजिक तथा राजनीतिक परिप्रेक्ष्यमा मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा यस तहमा सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा लागू गर्नका लागि पूर्वाधारमा सुधार, पाठ्यक्रममा समयानुकूल परिमार्जन, परीक्षा प्रणालीमा सुधार, त्रिविको कार्यविधि समयानुकूल परिमार्जन वा परिवर्तन आदि विभिन्न प्रकारका चुनौतीहरू रहेको पाइन्छ । यस्तो चुनौतीलाई प्रभावकारीरुपमा सञ्चालन गर्नु आजको आवश्यकता हो ।

(लेखक वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।)