ताजा समाचार

असाेज १९ गते २०७६

दशैंको आध्यात्मिक पाटो यस्तो छ

नेपालीहरूको लागि दशैं सामाजिक, पारिवारिक र आध्यात्मिकरूपले प्रमुख पर्व हो । सामाजिक सम्बन्ध, सुमधुरता, भातृत्व प्रेम, एक अर्कामा शुभेच्छा प्रदान गर्ने दृष्टिले र आफ्नो संस्कार एवं प्रचलनलाई जीवन्त राख्ने दृष्टिले पनि दसैँ आफैँमा महत्त्वपूर्ण अवसर हो ।

पारिवारिक जमघट, टाढा रहेका परिवारजनसँग पुनर्मिलन र परिवार प्रेम र आशिषसहितको पारिवारिक प्रेमले भरिपूर्ण पर्व हो दशैं । अझ गहिराइबाट हेर्दा आध्यात्मिक गहनतालाई उजागर गर्ने पर्व पनि हो दशैं । आध्यात्मिकतामा बाँच्नुको अर्थ हो आफ्नोभित्रबाट आफैँ सम्राट हुनु, आफैँमा पूर्णताको अनुभूति गर्नु, आफ्नो स्वभावको पहिचान गर्नु । 

वास्तवमा जो पनि अर्को दोस्रो जस्तो हुन चाहँदैन र आफ्नै स्वभावमा रमाउँछ भने त्यो आध्यात्मिक व्यक्ति हो ।

अद्वैत, जहाँ द्वैत छैन, सबैमा समानता देख्ने गुण छ त्यो नै आध्यात्मिकता हो । निर्भयता, संकल्प, स्वीकार र जागरण अध्यात्मका मापन हुन् । कुनै पनि व्यक्ति कुनै पनि वस्तु अर्कोसँग मागेर होइन आन्तरिक सम्पदाको पहिचान गरेर आत्मावान् भएर बाँच्न सक्छ भने उसलाई आध्यात्मिक रसले भरिपूर्ण मान्नुपर्छ । 

पारस्परिक निर्भरता सधैँ जरूरी छ मानिसको जीवनमा तर आफ्नोभित्र रहेको खजाना थाहा नपाएर बाहिर बाहिर खोज्दै हिँडेको हुन्छ भने उसलाई आध्यात्मिक ज्ञान छैन भन्ने बुझ्नुपर्छ । मानिस सुख, शान्ति, समृद्धि बाहिर खोजिरहेको छ तर ती सबै आफूभित्रै छन् भन्ने थाहा पाएको छैन ।

सहकार्य र सहचार्य बाहिर जरूरी देखिन्छ तर व्यक्ति बाहिरबाट गरिब देखिए पनि भित्र गरिब छैन । बाहिर भिखारी नै छ व्यक्ति भित्रबाट भने सम्पन्न छ । यसलाई देख्ने दृष्टि चाहिन्छ । दसैँ त्यो आन्तरिक सम्पदा, समृद्धि, देवत्व, प्रेम, करुणा, अहिंसा, ध्यान, साधना र आराधना जागृत गराउने पर्व पनि हो ।

नवदुर्गा, शक्तिको उपासना र आराधनाको संदेश हो आफूभित्र रहेका नवरुपी रिपुहरूसँग सजग जागृत हुनु । काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, घृणा, अहिंसा र भयप्रति जागृत हुने शक्ति प्राप्त गर्नु शक्ति स्वरुपा दुर्गाशक्तिको आराधनाको संदेश हो । यी रिपुहरू व्यक्तिको बाहिरी अनुहारमा नदेखिन सक्छन् तर भित्र दबिएर बसेका हुन्छन् र ठीक मौकामा विस्फोट भएर सारा सकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छन् ।

सुमधुर सम्बन्धमा दरार ल्याई दिन्छन् र खुसी र सुखी जीवनलाई तहसनहस बनाइदिन्छन् । भित्र के हुनुपर्थ्यो, के बसेको छ त्यसलाई रेचन गरेर फाल्ने र साधनामा डुब्ने एउटा अवसर हो नवरात्रि । रात्रि अर्थात् अन्धकाररूपी तत्त्व जहाँ प्रकाश छैन । 

भित्ररहेका अन्धकाररूपी तत्त्वलाई नष्ट गरी प्रकाशमय बनाउने अवसरलाई संकेत गर्छ नवरात्रिले । बाहिरको अन्धकारलाई त दियो जलाएर प्रकाशमय बनाउन सकिएला तर भित्रको अन्धकार मेट्न थोरै सजगता, सहजता, साधना, ध्यान, आराधना र जागरण चाहिन्छ । यी गुणहरू मानिसभित्र लुकेका सम्पदा हुन् र यी जागृत हुनासाथ जीवनमा शान्ति, प्रेम, करुणा, भातृत्व र सहयोगी भावनाको विकास हुन्छ । अनि आनन्दित जीवन बाँच्न मद्धत पुग्दछ । 

नवरात्रिभर सबेरै उठेर शक्ति पीठको दर्शन गर्न जानुको अर्थ हो ( शरीरमा आलस्य छैन स्फूर्ति प्रकट भएको छ । सहजता र आन्तरिक ऊर्जा प्रवाहित भएको छ । प्रतिकूलताप्रति ख्याल छैन । जताततै अनुकूलताको अनुभूति भएको छ । परिस्थितिप्रति द्विविधा छैन सबै सुबवधा महसुस भएको छ । मानसिकरूपमा शान्ति, प्रशन्नता र प्रफुल्लता व्याप्त छ । आन्तरिक रपमा चित्त शुद्धि र सात्विक वातावरणको आभास छ ।

मन्दिर र शक्तिपीठ गएर पनि शरीर आलस्य छ, मन अस्थिर छ, द्विविधा छ, चंचलता छ भने के अर्थ रहला रु मन्दिर गएर के रूपान्तरण आयो बोध गर्न नसक्दासम्म मन्दिर जानुको तात्त्विक अर्थ पनि त रहँदैन ।

जब यिनको अनुभव हुन थाल्छ तब थाहा हुन्छ शान्ति, सुख, आनन्द मन्दिरमा होइन आफूभित्र नै हुँदारहेछन् । 

अस्तित्वगतरूपमा एकात्मकता र एकरूपताको पहिचान हुनसक्नु र त्यसमा आनन्द लिनसक्नु आध्यात्मिकताको सार हो । कुनै पनि सम्बन्ध, उत्सव, कर्म र परिणामलाई सतहबाट होइन गहिराइबाट हेर्न जान्नु आध्यात्मिकताको बोध हो । देवीको उपासना र आराधनाले सद्चरित्र, सदाचार, नैतिकता र इमान वृद्धि गर्न सकेमात्र सार्थक हुनेछ ।

किनभने यी गुणहरू नै अध्यात्मका प्राण हुन्  । शक्तिपीठ र मन्दिर र जान्छौं तर  एक आपसमा पारस्परिक सहयोग, न्याय, उदारता, शील, संयम र संवेदना जागृत हुन सकेन भने पनि हाम्रो परिश्रम र समय त्यसै खेर गएको मान्नुपर्छ ।

कुनै दार्शनिक मान्यता, अध्ययन, मनन र पारायणबाट मात्र आध्यात्मिकता प्रष्फुटन हुन सक्तैन । तिनलाई ग्रहण गर्ने ग्रहणशीलता र प्रमाणिकता घटित भएको अवस्थामा मात्र अध्यात्मको सुगन्ध फैलिन्छ । त्यसैले नवदुर्गाभर गरिने पूजापाठ र आराधना ‘बहिर्पूजा धमाधम’ मात्र नभएर आन्तरिक गुणलाई उजागर गर्न सक्ने हुनुपर्छ ।

नवदुर्गाभरी हाम्रा रिपुहरुलाई नष्ट गर्ने प्रयासपछि दसौं दिन अर्थात् विजया दशमीको दिन ठूलाबडाबाट अक्षता, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । अक्षता अर्थात् क्षत नहुने, अब ठूलाबडा मान्यजनको आशीर्वाद र शुभेच्छाले कुनै पनि राम्रा र उपयोगी कुरा हुँदैनन् र यसले जीवनभर सकारात्मक ऊर्जा र भरोसा प्रदान गर्छ । शुद्ध माटोमा जौ छरेर उमारिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

उम्रेको जौ औषधीय गुणले पनि युक्त आयुर्वेदिक उपचारको माध्यमको रूपमा प्रयोग गरिन्छ । जमरा पिसेर बनाएको झोल नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर, पेटको रोग , छालाको रोग , वायुविकार तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ भनिन्छ । त्यसैले समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मान्दै जमरा र अक्षता लगाउने प्रचलन वैज्ञानिक र आध्यात्मिक दुवै अर्थमा महत्त्वपूर्ण छ ।

मान्यजनको आशीर्वाद र मार्गनिर्देशनले कुनै पनि कार्य र सम्बन्धलाई खण्डित, क्षय अर्थात् विभाजन गर्दैन भन्ने ठूलो विश्वास छ । त्यसैले त विभाजन, खण्डित र नाश हुने ऊर्जाप्रति विजय प्राप्त गर्ने शक्ति मिलोस् भनी विजयादशमीको प्रसाद ग्रहण गरिन्छ । 

अक्षतारूपी प्रसाद ग्रहण गरेपछि सम्बन्ध, सम्पत्ति, मित्रता, सम्पन्नता र वैभव कहिल्यै क्षत हुँदैनन् भन्ने विश्वास लिइन्छ । देवी दुर्गाको प्रसादस्वरूप निधारमा लगाउने रातो अक्षता मानिसको आस्था, मर्यादा, संस्कृति र पहिचानको सङ्केत पनि मानिन्छ ।

रातो रङ्गलाई शक्ति, प्रेम, उत्साह र सुरक्षाको प्रतीक पनि मानिन्छ । त्यसैले दशैंलाई जति मौलिक पर्व मानिन्छ त्यति नै आध्यात्मिक पर्वका रूपमा पनि महत्त्वका साथ हेरिन्छ । 


Loading...