ताजा समाचार

भाद्र २४ गते २०७६

सम्पादकीय : डेंगुको डर कहिलेसम्म ?

यति बेला नेपाल डेंगु रोगको चपेटामा परेको छ । अघिल्लो वर्ष पोखरामा पनि देखिएको डेंगु रोग अहिले देशका धेरै जिल्लामा फैलिएको छ । यही रोगका कारणले एक मन्त्रीसमेत बिरामी परे । पोखरामा मात्रै १ हजार बढी बिरामी फेला परेका छन् । यसकै कारण ७ जनाको निधन भइसकेको छ । यो रोग नियन्त्रणबाहिर जाने खतरा पनि उत्तिकै छ । विगतमा डेंगु देखिए पनि १ महिनाभित्र हराउने गरेकोमा अहिले भने ४ महिनासम्म कम भएको छैन । विश्व स्वास्थ्य संगठनले विश्वका आधा जनसंख्या डेंगुको जोखिममा रहेको स्पष्ट पारेको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज हुँदा डेंगु फैलिने क्रममा रहेको बताइन्छ । विश्वभरि झण्डै ३ अर्ब ९० करोड जनसंख्या यसको जोखिममा छन् ।

नेपालमा पनि सन् २००४ मा पहिलोपटक देखिएको डेंगु अहिले विस्तार हुँदै पहाडी जिल्लामा समेत पुगिसकेको छ । यो हिमाली क्षेत्रमा प्रवेश गर्ने क्रममा छ । डेंगु इबोला भाइरस जस्तै चुनौतीपूर्ण बनेको देखिन्छ । गत वर्ष भारतमा मात्रै १ लाख मानिस यो रोगबाट संक्रमति थिए । यही क्रम बढ्ने हो भने नेपालमै यो वर्ष १० हजार बढी प्रभावित हुने देखिएको छ । त्यसैले यसको रोकथाम अहिलेको राष्ट्रिय आवश्यकता बनेको छ । सर्वप्रथम सन २००४ मा नेपालमा यसको पहिचान गरिएको थियो । त्यसपछि सन् २००६ मा ९ वटा जिल्लामा विस्तार भएको यो रोग लामखुट्टेको विस्तारसँगै देशव्यापी विस्तार भइरहेको छ ।

लामखुट्टे अत्यधिक हुने ठाउँमा सरसफाइ र लामखुट्टे मार्ने अभियानदेखि संक्रमणको खतरा देखिएका ठाउँमा निःशुल्क शिविर सञ्चालन गरेर पनि यसको जोखिम न्यूनीकरण गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो रोगलाई महामारीकै रुपमा लिने निष्कर्षसमेत निकालिसकेको छ । यो रोगको कारक तत्व डेंगु भाइरस हो, जसका ४ वटा प्रजाति छन् । पोथी लामखुट्टेको टोकाइबाट १ संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । रोग लागेपछि धेरै टाउको दुख्ने, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा साना साना बिमिरा निस्कने, मुख, नाक, गि“जाबाट रक्तस्राव हुने, हाडजोर्नी तथा मांशपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, रक्तस्राव हुने, शरीरमा नीलडाम देखा पर्ने, बेहोश वा अचेत हुने, बढी थकाइ लाग्ने एवं बेचैन हुने आदि लक्षण देखापर्ने गरेका छन् ।

यस्ता लक्षण देखा पर्नेबित्तिकै बिरामीलाई अस्पताल पु¥याएर उपचार सुरु गर्ने व्यवस्था मिलाउन जरुरी छ । त्यसका लागि स्वयं बिरामी, परिवार, छिमेकी र समुदाय जागरुक हुनु आवश्यक छ भने सरकारले देशभरिकै स्वास्थ्य संस्थामा उचित उपचारको व्यवस्था गर्नु पर्छ । रोग जाँचका लागि सरकारले पनि केही सहज बनाएको छ । यसअघि यो रोगका जाँचका लागि आरडिटी किट आवश्यक पर्ने भनिएकोमा अब सामान्य रगत जाँचबाट पनि यो रोग पत्ता लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सकको सल्लाह अनुसार व्हाइट ब्लड सेल काउन्ट, प्लेटलेट काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोगको निदान तथा उपचार गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी सामान्य रक्तजाँच जुनसुकै ल्याबमा पनि हुने भएकाले शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आवश्यक छ । यसको किटको रिजल्ट भरपर्दाे नहुँदा पनि बिरामीले सास्ती भोग्नुपरेको छ । ज्वरो आएका बिरामीलाई डेंगु भयो भनी रिपोर्ट दिएका घटना पनि भएका छन् । डेंगु सर्वसाधारणलाई ठग्ने माध्यम बन्न हुँदैन ।

मूलतः डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै ठूलो उपचार हो । त्यसका लागि आफू बसेको ठाउँ सफा राख्नेदेखि समुदायमा सचेतना जागृत गर्ने काम पनि उत्तिकै जरुरी छ । बेला–बेलामा सरकारले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाउनु पर्छ । सामान्य लापरवाहीले समुदायमा यो रोगको महामारी फैलने खतराप्रति आम नागरिक सचेत हुनुपर्ने आवश्यकता छ । लामखुट्टे अत्यधिक हुने ठाउँमा सरसफाइ र लामखुट्टे मार्ने अभियानदेखि संक्रमणको खतरा देखिएका ठाउँमा निःशुल्क शिविर सञ्चालन गरेर पनि यसको जोखिम न्यूनीकरण गर्नुपर्छ । यसप्रति राज्यका निकाय, सरोकारवाला सबैको ध्यान बेलैमा ध्यान जान आवश्यक छ ।