ताजा समाचार

भाद्र १५ गते २०७६

तीज : सम्बन्धको सेतु

आज हिन्दू महिलाले हर्ष उल्लासपूर्णरुपमा मनाउँदै आएको तीज पर्व हो । तीजमा खासगरी श्रीमान्को दीर्घायु एवं आफ्नो अटल सौभाग्यको मनोकामनाका साथ ब्रत बस्ने र अविवाहित युवतीहरू असल जीवनसाथीको मनोकामना राखेर ब्रत बस्ने, पूजा आराधना गर्ने प्रचलन छ । तीजको अघिल्लो दिन सम्भव हुनेहरू माइतीमा जम्मा भएर मीठो मसिनो खाने सम्भव नहुने दिदीबहिनीहरू एक ठाउँमा जम्मा भएर दर खाएर तीजको स्वागत गर्ने परम्परा निकै लोकप्रिय छ । तीजको सांस्कृतिक पक्षले के महिला के पुरुष सबैलाई आकर्षित गर्छ । तीज पर्वमा महिलाले तीजगीतका माध्यमबाट आफूले भोग्दै आएका पीडा, वेदना पोख्ने, अधिकारका आवाज बुलन्द गर्ने र सबै तह र तप्काका महिला एक ठाउामा भेला भएर सामाजिक एकता र सद्भावको सन्देश प्रवाह गर्ने गरेका छन् ।

वास्तवमा तीजको सत्य के हो भन्ने सम्बन्धमा पनि धेरै प्रश्न उठ्ने गरेको पाइन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले आफूले चाहेको वर पाउनका लागि गरेको कठोर तपस्याको पौराणिक कथा हामीले सुन्दै आएका छौं । तर समाजको सृष्टिकालमा हेर्ने हो भने यस्ता परम्परा देखिंदैनन् । यस कालमा महिला र पुरुषको महत्व समान रहेको पाइन्छ । आदिमकाल मातृ सत्तात्मक थियो । शासन तथा सम्पत्तिलगायतमा महिलाको उच्च स्थान थियो । जब निजी सम्पत्तिको शुरुवात भयो महिला र पुरुषबीच कामको बाडफाँडसंगै उत्पादनका साधन र सम्पत्तिमा पुरुषको कब्जा हुँदै गयो । महिलाको घरको कामलाई महत्व नदिई परिवार र राज्यसत्तामा पुरुषहरू हावी हुँदै गए । धर्म, संस्कार र विभिन्न नाममा महिलाहरूलाई सीमान्तकृत बनाउँदै लगियो ।

यो काममा सबैभन्दा बलियो रुपमा धर्मका हतियार प्रयोग भए । विभिन्न कालखण्डमा अनेक प्रपञ्च रचेर महिलाहरूलाई कमजोर बनाउने धर्म संस्कार उनीहरूमाथि थोपरिंदै आए । तीज पर्वमा पनि यी कुरा देख्न सकिन्छ । त्यसैले अब यस्ता धर्मको आडमा थोपरिएका अन्धविश्वासबाट सबैजना माथि उठ्न सक्नुपर्छ । खासगरी धर्म, संस्कृतिका ज्ञाता पुरुष महिलाहरू स्वयं सचेत हुन आवश्यक छ । यो भनेर ब्रत बस्नै हुन्न, पूजा पाठ गर्नै हुन्न भन्ने होइन, तर यसको अर्थ बुझेर समयअनुसार चल्नु अहिलेको आवश्यकता हो । असल मनोकामना राख्नु आँफैमा गलत होइन, तर मनोकामना पूरा गराउन अन्धविश्वासको बाटो हिंड्नु पक्कै पनि सही होइन । आपसी विश्वास, सहयोग, सदभाव मात्रैले श्रीमान्–श्रीमती दुबैको सम्बन्ध सुमधुर हुन गई परिवारमा सुख, शान्ति र समृद्धि आउने हो । महिलामाथि एकपक्षीयरुपमा अन्धविश्वास थोपरेर होइन, अन्धविश्वासबाट मुक्त हुन सघाएर मात्रै यो उद्देश्य पूरा हुन्छ ।

विवाहपश्चात जन्म घरबाट टाढिनुपर्दा माइती, साथीसंगीबीच छुटेको सम्बन्धको कडी जोड्ने महत्वपूर्ण अवसरका रुपमा धेरै महिलाले तीज पर्वलाई लिने गर्छन् । तर तीजको धार्मिक सांस्कृतिक पक्षभन्दा फरक अहिले तीज भड्किलो बन्दै गरेको, तीजको नाममा विकृति भित्रिएको चिन्ता पनि देखिन थालेको छ । तीज पर्वसँग जोडिएको दर खाने कुरालाई महिनौं अघिदेखि नै भोज भतेर गर्ने, फजुल खर्च र भड्किलो व्यवहार प्रदर्शन गर्ने अवसरको रुपमा तीज मनाउन थालिएकोमा चिन्ता जाहेर हुन थालेको छ । आधुनिकतासंगै भित्रिएका उच्छृंखल गीत र बजारीकरण तीजको मौलिकतामाथि हावी भइरहेकोप्रति चिन्तित हुनेहरूको संख्या पनि बढ्दै छ । यही चिन्ता र चासोले तीजको नाममा भित्रिएका विकृति–विसंगति हटाउन सकोस् भन्ने हामी सबैको कामना हुनुपर्छ । कामनाले मात्रै नपुग्ला चाडपर्वका नाममा भित्रिएका विकृति हटाउँदै यिनलाई सरल बनाउनपट्टि समाजका अगुवाहरू नै लाग्नु पर्छ ।

समाज अहिले संगठित छ । समाजका हर इकाईमा त्यस्ता संगठन छन् । समाजका अगुवाको रुपमा रहेका व्यक्तिहरू विभिन्न समूह, संस्था, टोल विकास संस्थासम्म पुगेर संगठित भएका छन् । यिनै संगठित समूहहरूको आयोजनामा यस्ता चाडपर्व मनाउने प्रचलन पनि बढ्दै छ । चाडपर्वको नाममा भित्रिएका विकृतिको विरुद्ध गम्भीररुपमा मनन गर्ने र समाजमा सही दिशा प्रदान गर्ने सवालमा गम्भीर भएको पाइएको छैन । चाडपर्वका नाममा भित्रिएका विकृति रोक्ने हो भने सामाजिकरुपमा संगठित यी समूहहरूको भूमिका महत्वपूर्ण हुन सक्छ ।

समाजका अगुवाहरू सरल र सहजरुपमा प्रस्तुत हुने हो भने पैसा र पैसाबाट आर्जेको हैसियत उँचो मान्ने प्रचलनमा कमी आउँछ । फजुल खर्च र भड्किलो व्यवहारले समाजलाई अग्रगति होइन, उँधोगति दिन्छन् भन्ने कुरा स्थापित गराउन सकिन्छ । चाडपर्वलाई भड्किलो हुन नदिऔं । सामाजिक सद्भाव र एकताको प्रतीकको रुपमा हाम्रा सांस्कृतिक धरोहर नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्नु हाम्रो दायित्व पनि हो । तीज पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना !

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...