ताजा समाचार

श्रावण ३२ गते २०७६

देश नै आँशुको मार्गमा हिंडिरहेको छ – रवीन्द्र समीर

रवीन्द्र समीर नेपाली साहित्यको चर्चित नाम हो | लघुकथा विधाको पर्याय रहेका रवीन्द्र समीर नियात्रा तथा संस्मरणमा उत्तिकै जमेका छन् | हाल उनको बाह्रौं कृतिको रुपमा मृत्युको आयु ( उपन्यास ) चर्चाको शिखरमा छ | उपन्यास लेखनमा चलिरहेको धारलाई परिवर्तन गरि नयाँ धार तथा संबेदनशील बिषयमा अनुसन्धानमुलक उपन्यास लेखेको कारण मृत्युको आयु पाठकको रोजाइमा परेको छ | मृत्युको आयु अरब गएर काठको बाकसमा फर्किएको युवाको कथा हो | यसै बिषयमा रहेर नेपालदुतले रवीन्द्र समीरसंग गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

मृत्युको आयु किन पढ्ने ?
📖 मृत्यु दर्शन, मृत्यु बिज्ञान, अरबमा निधन भएका श्रमिकको शब ल्याउने प्रक्रिया तथा अन्तिम संस्कारमा भएका कुरीति बुझ्न । मृत्यु सम्बन्धि चिकित्सा बिज्ञान, मृत्यु पश्चात शवमा आउने परिवर्तन, शबको संरक्षण बिधि, पोस्टमार्टम बिधि लगायत मृत्युका तथ्यलाई कथाको पानीमा घुलाउने प्रयास गरेको छु ।

मृत्युको आयु अरु उपन्यास भन्दा के कुराले फरक छ ?
📖अहिलेसम्म उपन्यासको फर्म्याट जसरि बुझिएको थियो, लेखिएको थियो – त्यो भन्दा बिल्कुल फरक शैली र संरचनामा मृत्युको आयु लेखेको छु । लघुकथालाई फूल र ती फूलका थुंगा बुन्दा मालाको रुपमा उपन्यास तयार भएको छ । अब हामीले मौलिक शैली र संरचनामा उपन्यास लेख्ने प्रयोग गर्नुपर्छ ।

मृत्युको आयु लेख्दाको असहज पक्ष के रह्यो ?
📖 मृत्युको आयुका १६६ वटा च्याप्टर लघुकथाको शैलीमा छन् । यसको लागि व्यंग्य मार्फत अन्तिम लाइनमा उत्कर्ष वा अनपेक्षित बिष्फोट गराउने शैली अपनाएको छु । मृत्यु जस्तो निर्मम र संबेदनशील बिषयमा व्यंग्य गर्नु आफैमा खतरनाक काम थियो । मृतकलाई व्यंग्य गर्न मिलेन, शोकाकुल परिवारलाई व्यंग्य गर्न मिलेन । तसर्थ मैले शब ब्यबस्थापन सम्बन्धिका झन्झट, प्रक्रियागत दुख, शबदाह तथा किरियाको बेलामा देखिने मानबिय बिदृपता अनि अन्तिम संस्कारका अबैज्ञानिक परम्परालाई व्यंग गरेर पुस्तक तयार गरें।

उपन्यासको नाम मृत्युको आयु कसरी रह्यो ?
📖 अरबमा कम गर्ने श्रमिकको मृत्युबाट उपन्यास लेख्न सुरु गरें । त्यो शब नेपाल ल्याउन २ हप्ताभन्दा धेरै समय लाग्यो । यो अबधिमा परिवारजन खबरको किरिया बस्नुपर्यो । १५ दिनपछि शब ल्याएर दाह संस्कार गरियो । त्यसपछि १३ दिनको किरियाकर्म सुरु भयो । १३ दिनको किरियाकर्म सकिएपछि यो उपन्यास सकियो । मृत्युको जन्मदेखि सुरु भएर मृत्युको निधनसम्मको अवधि मृत्युको आयु हो ।

विज्ञानले भन्छ – हरेक चिजको आयु हुन्छ । प्राणीको, घरको, सडकको, पृथ्बीको, सुर्यको, सपनाको, कल्पनाको… सबैको आयु हुन्छ भने मृत्युको आयु किन नहुने ? यो पनि अर्को तर्क हो ।
न्वारन गर्ने क्रममा सयौं नामको नापजोख गर्दा मेरो जीवनसाथी दीपाले मृत्युको आयु नामकरण गरिन । त्यो नाम मलाइ एकदम राम्रो लाग्यो अनि त्यहि फाइनल गर्यौं ।

उपन्यास निकै चर्चित तथा लोकप्रिय भयो , आँशुको ब्यापार फापेको हो ?

📖 हाम्रो देश नै आँशुको मार्गमा हिंडिरहेको छ । यति उर्बर जमिन, उत्कृष्ट हावापानी तथा उत्पादनको अत्यधिक माग भएको देशमा काम गर्ने बातावरण नभएर लाखौँ युवाहरु मरुभूमिमा पसिना चुहाउन बिबश छन् । विमानस्थलको एउटा कोरिडोरमा विदेश जाने युवाको लाइन छ भने अर्को कोरिडोरमा काठको बाकसको लाइन छ । हाम्रो राजनीति, योजना, सपना तथा भविष्य नै अनिश्चित छ । तसर्थ आँशुको कथा लेख्न बाध्य भएँ ।
जहाँसम्म चर्चाको कुरा छ, आदरणीय पाठकहरुले यो शैली र बिषयलाई मन पराउनुभयो । त्यो मेरो उत्साहको बिषय हो ।

उपन्यासमा लेखिएका अरबी कानुन, प्रक्रिया, शबको बैज्ञानिक पक्ष तथा आध्यात्मिक पक्ष अधिकारिक हुन् त ?

📖 १०० % आधिकारिक हुन् । यो उपन्यास अरब गएर, चिकित्सा बिज्ञान तथा मृत्यु सम्बन्धि दर्जनौं पुस्तक पढेर, कैयौं पटक आर्यघाट गएर, किरियास्थलमा पटकपटक बसेर तथा दर्जनौं पटक स्व सम्पादन गरेर तयार भएको हो । यसका हरेक शब्द शब्द पुष्टि गरेर तयार भएको हो, उपन्यास ।

यो उपन्यासको लक्षित समुह को हो ?
📖 बिदेशमा श्रम गरेर देश र परिवार पाल्ने लाखौँ युवा, समाजबारे चासो राख्ने हरेक बिद्यार्थी र शिक्षक, नीति निर्मातादेखि हरेक तह र तप्कामा रहेका सबैले पढ्नै पर्ने पुस्तक हो यो । हामी नेपाली कुन स्तरको पीडामा बाँचेका छौं, यो उपन्यासले सम्बोधन गरेको छ ।

अहिले के लेख्दै हुनहुन्छ र? तपाइंको आगामी पुस्तक के हुनेछ रु कहिले आउनेछ ?
📖 अहिले मेरा पुराना पुस्तकहरु सम्पादन गर्दैछु, अर्को संस्करणको लागि । नियात्रा लेखनको नयाँ शैली आविष्कार गर्नको लागि फर्म्याट कोर्दैछु । अर्को उपन्यास लेखनको लागि मान्छेको मन पढ्दैछु ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।