ताजा समाचार

श्रावण १८ गते २०७६

यस्तो पो उद्योग !

- हाते कागजको माग धान्न धौधौ

नेपाली हाते कागजको माग अत्यधिक भए पनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौधौ छ ।

गलकोट नगरपालिका–१०, पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा ३ लाखदेखि चार लाख थान कागजको माग आउने गरेको बताउछन् । ‘मागअनुसार कागज पुर्याउनै सकिएको छैन’, उनले भने, ‘हाम्रोमा जम्मा डेढ लाख थानसम्म कागज उत्पादन हुन्छ ।’

चैतदेखि जेठसम्म दैनिक १ हजार थानसम्म कागज उत्पादन हुन्छ । अघिपछि दैनिक २ सयदेखि ३ सय थानसम्म उत्पादन हुने गरेको सञ्चालक घर्तीले बताए । चर्को घाम लाग्ने याममा कागज छिटो सुक्छ । उनले उद्योग सञ्चालन गरेको २ वर्ष बित्यो । उद्योगमा उनीसँगै ५ जना कार्यरत छन् ।

५ ग्रामको एउटा कागजको मूल्य ५ रुपैयाँ ५० पैसा तोकिएको छ । ‘२ सय थानको १ कोरीको मूल्य रु १ हजार १ सय पर्छ’, घर्तीले भने । वार्षिक झण्डै रु १० लाख बराबरको कागज बिक्री हुन्छ । लागत बढी भए पनि मुनाफा भने कम छ । ‘खर्च कटाएर रु १ लाख ५० हजारदेखि रु २ लाखसम्म बच्छ’, उनले भने, ‘गाउँमै उद्यमी भएर बस्न पाउँदा खुशी छु ।’

उद्योग स्थापनाका लागि तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघलगायत संस्थाले आर्थिक सहयोग गरेका थिए । घर्तीको व्यक्तिगतरूपमा झण्डै रु १० लाख लगानी छ । उद्योग खुलेपछि काम खोज्दै भौँतारिन नपरेको स्थानीयवासी सीता बिकले बताए । बिकसँगै हरिदेवी, धनमाया घर्तीलगायतले उद्योगमा काम गर्छन् । पारिश्रमिक पनि राम्रै थाप्छन् ।

लोक्ता संकलन गर्न वनमा जानेले पनि उद्योगबाट काम पाएका छन् । उनीहरूले दैनिक ज्यालादारीमा काम गर्छन् । वनबाट १ खेप लोक्त ल्याएवापत रु ६ सयसम्म ज्याला पाउँछन् । उद्योगले लोक्ता झिकेबापत सामुदायिक वनलाई प्रतिकिलो रु १० शुल्क बुझाउनुपर्छ ।

स्थानीय लोंगा र जइलुङ सामुदायिक वनबाट लोक्ता ल्याउने गरिन्छ । उद्योगमा बनेको कागज पोखरा, काठमाडौँ, भक्तपुरलगायत शहरमा बिक्री हुन्छ । सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको प्रयोग हुन्छ । बढीजसो हस्तकला व्यवसायीले कागज किन्ने गरेको घर्तीले बताए ।

हाते कागजको माग हेरेर उद्योग सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिका–५, सीपस्थित ‘डुडेलेक नेपाली हाते कागज उद्योग’ का सञ्चालक प्रेमबहादुर रोकाले बताए । उद्योगमा असोजदेखि कागज उत्पादन भइरहेको छ ।

६ जना मिलेर खोलेको सो उद्योगमा आधुनिक प्रविधिबाट कागज बनाउने गरिन्छ । बागलुङ उद्योग वाणिज्य संघले लोक्ता फिट्ने (झोल) बनाउने यन्त्र उपलब्ध गराएको छ । केही वर्षअघिसम्म लोक्तालाई काठको मुंग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो ।

४० ग्रामको एउटा कागजको मुल्य रु ३० पर्छ । कागजको बजारीकरणमा नेपाल हाते कागज महासंघले उद्यमीलाई सघाएको छ । स्थानीय डुडेलेक र अल्बाङ सामुदायिक वनबाट लोक्ता झिक्ने गरिन्छ । लोक्तालाई प्रशोधन गरी कागज निकालिन्छ ।

उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नहुने सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए । ‘लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ’, उनले भने, ‘लगानी र प्रविधि भित्र्याएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ ।’

उद्योगमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । बागलुङको ताराखोला, पाण्डवखानी, लेखानी, तमानलगायत ठाउँमा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् ।

लगानी र व्यवस्थापन अभावमा कतिपय उद्योग बन्द छन् । नेपाल उद्योग वाणिज्य महासंघको ‘१ गाउँ, १ उत्पादन’ कार्यक्रममा पनि बागलुङको हाते कागज छनोटमा परेको थियो ।

वनमा त्यसै खेर गइरहेको लोक्ताको सङ्कलन, उत्पादन र बजारीकरण गर्न सके जिल्लाको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ ।

बागलुङ ‘नेपाली हाते कागजको जिल्ला’ भनेरसमेत चिनिन्छ । बलियो, टिकाउ र किरा नलाग्ने हुँदा नेपाली हाते कागजको प्रयोग बढेको हो ।