1. क्रान्ति
आफ्नै घरको बार्दलीमा बसेर पत्रिका पढ्दै उसले प्राय देख्ने गर्थ्यो कि चोकको त्यो पल्लो कुनामा राखिएको फोहोर फाल्ने भाँडोमा मोटा-तगडा कुकुरहरू थुतुनो जोती-जोती केही चिज खोज्दै खाँदै गर्थे। उनीहरू गाईहरूलाई नजिक पर्न पनि दिँदैनथे, अनि भुकेर उनीहरूलाई भगाइरहन्थे। गाईहरू टाढै बसेर उनीहरूलाई हेरीरहन्थे।
एक दिन उसले देख्यो कि एउटा मोटो-तगडा साँढे त्यहाँ आइपुग्यो, अनि उसले त्यो भाँडोमा आफ्नो कब्जा जमायो। कुकुरहरू उसलाई लगातार भुकिरहन्थे तर उसलाई केही फरक परेन। कुकुर पनि अब खतरनाक तरिकासँग भुकेर उसलाई तर्साउने कोसिस गर्दै भुक्न थाले, अनि त्यो साँढे पनि आक्रामक भयो, अनि आफ्ना तिखा सिंगले कुकुरहरूमाथि प्रहार गर्न थाल्यो। अनि कुकुरको भुकाई बिस्तारै कुईँ-कुईँमा परिणत हुँदै गयो।
आजभोली पुरै भाँडोमा साँढे र गाईहरूको कब्जा छ र कुकुरहरू टाढै बसेर उनीहरूलाई हेरिरहन्छन।
————————————–
2.औकात
गाउँसभाको बैठक सञ्चालन गर्ने क्रममा एक दलित समन्वयकर्ताले बडो आत्मविश्वासपुर्ण कुरा गर्दै गयो। कुराकानीकै बीचमा उसले देख्यो कि गाउँका सबै सदस्यहरू सुकुल ओछ्याएर त्यसैमा बसेका छन्, तर एक व्यक्ति छुट्टै अलग्गै बसिरहेको छ। उसले आदेशात्मक लवजमा उसलाई अरूसँगै आएर बस्न भन्यो।
यो कुरो सुनेपछि गाउँका अरू व्यक्तिहरूले भने – सर हजुर आफ्नो काम अगाडि बढाउनुहोस्। बैठकको कार्यवाही चलिरहँदा उसलाई यो कुरा लगातार खडकिरह्यो। बैठक सकिएपछि उसले ऊसँग यसको कारण सोध्यो अनि थाहा पायो कि ऊ जुत्ता सिलाउने चमार जातिको भएकोले ऊ कहिले पनि सबैसँग बस्न पाउँदैन, जबकि उसको आफ्नो छोरो कुनै अर्को जिल्लामा समन्वयकर्ताको रूपमा काम गर्छ।
अब त्यो समन्वयकर्ताको आफ्नै आत्मविश्वास गिर्दै गएको महसुस गर्न थाल्यो।
————————————–
3. विकल्प
सोह्र श्राद्धको बेलामा उसले आफ्ना पिता-पुर्खाको आत्माको शान्तिको लागि ब्राम्हण भोजको आयोजन गर्ने सोच बनाए। तर उनलाई थाहा थियो कि भोजको लागि मात्र त ब्राम्हणहरू पक्कै आउने छैनन्। अनि फेरि उसले यसको विकल्प खोज्यो र पत्ता लगायो कि यसको विकल्प त कागहरू मात्र हुन्छन्। उसले भोजको सबै खाना कागहरूको अगाडि राखिदियो। कागहरूले का-का गर्दै आफ्ना सबै साथिहरूलाई बोलाए।
कागहरूको बथान देखेर उसको मुखबाट अनायाशै निक्लियो कि वास्तवमै एकदम सही विकल्प रहेछ।
————————————–
4 धन्दावाल (कोठेवाले)
“पुरेत बा, हजुरले हाम्री छोरीको बिहे राम्रोसँग सम्पन्न गराई दिनुभयो। पूजाको सरजामको साथ साथै दक्षिणा स्वरूप यो पाँचसय एक रूपैयाँ राख्नुहोस्।”
“होइन के हो तपाईँ मलाई पाँचसय रूपैयाँमा बिक्ने पुरेत सम्झनुभयो कि के हो? अरू पैसा ल्याउनुस्।”
“ल ठीक छ पुरेत बा, यो छसय रूपैयाँ राख्नुहोस्।”
“छसय रूपैयाँको लागि यति टाढा धाएर आउने नै थिइन नि।”
“त्यसो भए हजुर आफ्नो रेट बताइदिनुस् न त।”
“लौ अब त हामीलाई धन्दावाला जस्तो पो सम्झिनुभयो जो हामीसँग मोल-मोलाई भइरहेछ…कि कसो यजमान?”
“अनि पुरेत बा, हामीले त केही भनेकै छैनौँ। यो त हजुरले आफैँ त भन्नु भएको हो नि।”
भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् ।
भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् । चितवनका एकदेव अधिकारीले आलोकका कथालाई नेपाली भाषामा अनुवाद गरेका छन् ।




