मान्छेले दुःखानुभूति गर्ने अरु कसैको कारणले हैन आफ्नै कारणले हो । बाह्य दुःख हुन सक्छ , त्यसले आन्तरिक पीडा जन्माउन हुदैन वा जन्माउन दिनु हुदैन । मानिसको शरीर, दिमाग, मन र प्राण अक्कड बन्दै जादा दुःखको परिमाण बढ्दै जान्छ ।
मानिस जति रिजिड वा अक्कड हुदै जान्छ उती पिडित हुदै जान्छ । शरीरलाइ लचकदार वा फ्लेक्जिबल बनाउदा जीवन पनि फ्लेक्जिबल हुन थाल्छ । फ्लेक्जिबल शरीर लड्यो भने पनि ठूलो चोट लाग्दैन । योगाभ्यासले शरीरलाइ लचकदार बनाउछ । ध्यानले दिमागलाइ फ्लेक्जिबल बनाउछ । भजन र भक्ति संगीतले मनलाइ फ्लेग्जिबल बनाउछ । अरु प्रति कृतज्ञता दर्शाउने संस्कार पाएकाहरुको जीवन लचकदार हुदै गएको हुन्छ ।
दुई हात जोडर नमस्कार गर्दा वा मान्यजनलाइ ढोग्दा मन दिमाग र शरीर लचकदार हुदै जान्छ । जिवन जिउने कला भनेकै समग्र जीवनलाइ लचकदार बनाउने हो । यसको मलतब पिँदविनाको लोटा बन्ने भनेको हैन । कमिटमेन्ट , स्वयंसेवा र दान दिने स्वभाव सिर्जना गर्दै जादा जीवन आन्तरिक रुपमा ब्यवस्थित हुदै जान्छ । जति जति ब्रह्माण्ड र शरीर एकाकार हुदै जान्छ, त्यति त्यति जिवन आनन्दमय सरस र लचकदार बन्दै जान्छ ।
प्रकृतिको साथसाथै जति जति प्रकृति नजिक हिड्दै जान सकिन्छ, त्यति त्यति यो प्राणमय शरीर आफै आनन्दित हुदै जान्छ । जीवनको लक्ष भनेकै आनन्दमय हुनु हो । गुरुहरूले यी सबै कुरा सिकाउने हैन कि हामी उनको ब्यवहारले, उनको सामिप्यमा सिक्ने हो । गुरुको काम बाधक रहेको अध्यारोलाइ हटाउन उज्यालो दीप बालिदिएर उज्यालो पारिदिने मात्र हो ताकि हाम्रा आँखाले त्यसलाइ देख्न सकियोस् । देख्ने , सिक्ने , भोग्ने त हामी आफैले हो ।
गुरुको अर्थ हुन्छ जसले अध्यारोमा बत्ति बालेर अध्यारोलाइ नास गरिदिन्छन् । गु भनेको अध्यारो र रु भनेको नासगर्ने । अध्यारो नास गरिदिने नै गुरु हो । मानिसले नदेखेको अध्यारोले हो , गुरुले गन्तब्य देखाइदिने हैन । गुरुले त गन्तब्य वा सत्यलाइ छोपेको अध्यारो हटाइ दिने हो ।
जीवनको गृहस्थी चरणमा जीवनयापनका निम्ति मानिसले धन आर्जन गर्नै पर्छ । तर जीवनभरि नै जीवनयापनका निम्ति धनार्जन गर्ने बाध्यता वा लत चढ्यो भने त्यस्तो जीवन नर्क हो, जीवन हैन । शिक्षा भनेको त्यो हो जो हामीले सिकेका सबै बिर्सेपछि जे बाँकी रहेको हुन्छ। गुरुको कृपा पाउदा मात्र शिक्षा वा विद्या टिक्न सक्छ, नत्र विलिन हुदै उड्दै जान्छ।
लेखक नेपाल सरकारका पूर्व सचिब हुन्।




