खोज्दै हिड्छु मनुष्यको दिल हुदो द्यौता बनेको यहाँ ।
भेटेँ पत्थरमा खडा अमुक ती द्यौता बनेको जहाँँ ।
चिन्दैनन् मनुवा सँगै छ उनको द्यौता बसेको मन ।
कैले खुल्दछ पर्खदै छु म यता बिर्को कसेको मन ।. ॥१॥
हौँ सन्तान सबै धरा प्रकृतिका छैनन् कुनै भिन्नता ।
भिन्नै सोच म देख्छु मानव अहो ! बढ्दो छ झन् खिन्नता ।
बन्ला खै ! कहिले ? समान मनुवा चिन्ता पसेको मन ।
कैले खुल्दछ पर्खदै छु म यता बिर्को कसेको मन । ॥२॥
ठूलो जात भनी गरीकन अहम् गर्जन्छ मान्छे कति ।
उस्तै मानव सृष्टिको उपज त्यो तर्कन्छ भान्से जति ।
आमा हुन् धरती धरा र जगती बच्चा बसेको तन ।
के छन् खोट जहाँ बसेँ म भन हे ! बिर्को कसेको मन ?॥३॥
रातो मात्र कहाँ छ रक्त कण यो के तत्व भिन्नै छ र ?
होला भिन्न बिचार आचरण यो के तत्व भिन्नै छ र ?
के हो देह अमुल्य धातु र मुगा स्वर्णै घसेको तन ?
केमा गर्व छ खै ! त नत्र भन हे ! बिर्को कसेको मन ? ॥४॥
पीडा मात्र दिए हिजो दमनको उस्तै छ ऐले पनि ?
पोखेँ आज यहाँँ मसी कलमको यो मर्म बुझ्लान् भनी ।
हेपाहा छ परम्परा विकृतिको छानेर फालौ अब ।
शिक्षाले मन पेट औ हृदयको मैलो निकालौ अब । ॥५॥




