ताजा समाचार

असार १५ गते २०७६

कृषिप्रधान देश, किसानकै कन्तबिजोक

आज असार १५ । धान रोपाइंँ गरी दही र चिउरा खाएर यो पर्व मनाइँदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । असार पन्ध्रका दिन एक पटक हिलो कुल्चनू भन्ने मान्यता पनि छ । यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् । यसरी हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुसी छाउँछ, कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुने जनविश्वास छ ।

रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचार खाजा खाने गरिन्छ । यसले नेपाली समाजमा पूर्वीय परिकारको रुप लिएकाले असारमा दही चिउरा, साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हँुंदा हिउंद शुरुवात भयो भन्ने गरिन्छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेकाले आज धान रोपाइँ र धान संरक्षण सम्बन्धी कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विभिन्न दलका कृषिसंग सम्बन्धित संघसंस्थाले रोपाइँ पर्व मनाउने गर्छन् ।

असार महिना नेपाली किसानका लागि मानो रोपेर मुरी उत्पादन गर्ने समय हो । अहिले किसानलाई खेती लगाउनका लागि चटारो परेको छ । किसान खेतीपातीमा तल्लीन भए पनि पर्याप्त मलजल अभावका कारण चिन्तित भएका छन् । यस वर्ष समयमै मनसुन आगमन नभएकाले पर्याप्त वर्षात् हुन नसक्दा किसानहरू थप मर्कामा परेका छन् । अहिले किसान कहिले वर्षा होला भनी आकाश हेर्न विवश छन् । यो समस्या ६७ प्रतिशत कृषि पेशामा निर्भर किसानका लागि नौलो भने होइन ।
देशमा राजनीतिक परिवर्तन भए पनि कृषि क्षेत्रमा खासै परिवर्तन हुन सकेन ।

कृषकका हकहितका निम्ति सरकारले उचित ध्यान दिएको पाइँदैन । जसका कारण किसानले समस्यामाथि समस्या झेल्नुपरेको हो । आजका दिनलाई नेपाली किसानले महान् पर्वको रुपमा लिन्छन् । किसानले खेतमा सामुहिक रोपाइँ कार्यक्रम गर्ने हिलो खेल्ने र दही चिउरा खाई हर्षोल्लासपूर्वक धान रोप्ने परम्परा कायमै छ । तर समयमै मनसुन हुन नसक्दा रोपाइँसँगै हिलोसम्म खेल्न नपाउने स्थिति पैदा भएको छ ।

जलस्रोतको दोस्रो धनीको नाउँले चिनिने नेपालका किसान पानीको अभावका कारण असार १५ का दिन खेतमा हिलोसम्म खेल्न नपाउने विडम्बनाको अन्त्य कहिले होला ? नेपाल कृषिप्रधान देश भएको हुँदा धेरै जनता कृषिमै निर्भर रहेको पाईन्छ तर सरकारले कृषि क्षेत्रको विकासका लागि आवश्यक बजेट नछुट्याई साना तथा ठूला सिचाइँ आयोजना सम्पन्न गर्न नसक्नुले यस्ता समस्या झेल्नुपरेको हो । यो नेपाली किसानका लागि विडम्बना हो । कृषिको व्यवसायीकरण गर्दै युवा आकर्षण गर्न वैज्ञानिक खेती प्रणाली लागु गर्न कृषिबाट उत्पादित खाद्यान्नको बजार व्यवस्थापन गर्न कृषि अनुदान सर्वसुलभ मलबीउ, औजारको व्यवस्था र ठूला तथा साना सिचाइँ परियोजना साचालन गर्न आगामी दिनमा सरकारले उचित ध्यान पु¥यानु पर्छ । तबमात्र कृषि क्षेत्रको विकास सम्भव छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।