मालिकले लगाएपछि नै
सबैभन्दा मूल्यवान पाेसाक
नाेकरले पनि पाउने हाे लगाउन
पुरानाे नै सही
एक जाेर राम्रो जडाैरी कपडा
मालिकले खाएपछि नै
चाैरासी व्यञ्जन
नाेकरले पनि पाउने हाे खान
जुठो नै सही
बचेखुचेका केही गाँस खानेकुरा
समृद्धिले
मालिकको खल्तीमा विकास गरेपछि नै
मालिककाे खाेल्तीबाट हराउने हाे
पाँच – दसका खुद्रा
र भिखारीले पनि भेट्ने हाे
कहिलेकाही
सय वा हजार रूपैयाँ
सबैलाई थाहा छ
समृद्धिका मालिककाे इतिहास
कसरी राणाजीहरू खुसी हुँदा
अाफ्ना प्रिय नाेकरहरू सामु
चाँदीका असर्फी फ्याकिदिने गर्थे
कसरी शाहजीहरूका
दिल खुस हुँदा
अाफ्ना गलाका सुवर्ण हार नै थुतेर
नाेकरहरूलाई बक्सिस दिने गर्थे
कसरी प्रजातन्त्रवादीहरू
पिए अाफ्नै भाइभतिजाहरूलाई
बनाए पनि
पानी चल्ने छ भने
दयावश पिउनकाे जागिर अरूलाई दिने गर्थे
समृद्धिमा
नाेकरकाे नाेकरीका पनि
निकै निम्न वर्गीय फाइदाहरू छन्
जस्तो कि
बनेपछि चिल्लो र फराकिलो
धुलाम्य सडक
समृद्धिका मालिकका गाडीले मात्र
सुविधा भाेग्दैनन्
सडकछेउ बस्ने मगन्ते पनि
धुलाेबाट हुन्छ मुक्त
जस्तो कि
फेरिएपछि ठूलो कम्प्लेक्समा
सुकुम्बासी बस्ती
फुस्रा जिन्दगीहरूले पनि
चिल्ला मार्वलमा झाडुपाेछा
लगाउँदा लगाउँदै
मालिकका अनगिन्ती सुखभाेगका
दर्शनबाट
अाफूले कहिल्यै नभाेगेकाे सुखकाे
गर्नेछन् अानन्दानुभूति
जब समृद्धि फुल्छ फल्छ लटरम्म
मालिकले खाएर फालेको अाँपकाे
काेया चुसेर
समृद्धिकाे रसानुभूति गर्न पाउनेछन्
तन्नम कंगालहरूले पनि ।




