खाटी बाहुन ( लघु कथा )

तराईमा गर्मी सुरु हुन लागेको थियो । तीस चालीस घरहरु भएको बजार पार गर्दै जादा सानो चिया पसल देखियो । चिया खाने विचारले श्रीकृण्ण शर्मा भित्र पसे । झिगा भन्केका र साहुजीको नाकबाट सिगान निस्केको देखिन्थ्यो । भित्र दुईवटा बेन्चमा चार जना बसिरहेका थिए । शर्मा पनि बेन्चको छेउमा गई बसे । चार जना मध्ये एक जना युवकले उनलाई केही प्रश्नहरु सोधे – काहाँबाट आउनु भएको हो बा ? किन आउनु भएको हो ? काहाँसम्म जानू हुन्छ ? आदि । उनले आफु पहाडबाट आएको बताए । रामजी दासको घर प्रथम पटक जाँन लागेको भने । उनले थप्दै गए- धेरै वर्ष पहिले उहाँले र मैले एउटै लेकको विद्यालयमा पढाएका थियौ । संगै पढाएको मात्र होइन एक वर्ष सम्म त एउटै भान्छा पनि जोडेका थियौ । उहाँलाई जाडो ठाउँ भए पनि नुहाउन र पूजापाठ गर्न कसैले भेट्टाउदैनथे । ए ! रामजी, उसले अहिले पनि पढाउदै छ, ती युबकले भने । साहुजीले पाँच कप चिया लिएर आए । ती युवकले साहुजीतिर फर्केर चोर अौला शर्मातिर घुमाइ ” बा हुन ” भनि आँखा पनि झिक्काए । साहुजी केहि रिसाएर चिया लिएको ट्रे टेबुलमा नराखि उनलाई भने- तिमी त्यो बाहिरको बेन्चमा बस । साहुले भने पछि तिमी बाहिर बस न ती युवकले थपे । अघिसम्म हजुर भनिरहेको युवकले एक्कासि किन तिमीमा झर्यो उनलेले केही बुझन सकिरहेका थिएनन् । भित्रको भन्दा बाहिरको बेन्चमा केहि सीतलो थियो । भित्र शौचालयको दुर्गन्ध फैलिएको मात्र होइन ती बसेका व्यक्तिहरुले दारुको नमीठो गन्ध पनि छोडिरहेका थिए । उनी बाहिरको बेन्चमा बसे ।

एकछिन पछि एउटा सुकिला मुकिला व्याक्ति आए । उनले सानो झोला बोकेका थिए । उनी सरासर ढोकामा पुगि पहिला दर्शन हजुर भनि केही निहुरिएर हात जोडे अनि मुठी कसेको हात अभिवादन भन्दै पालिमा ठोकिने गरि उठाए । त्यसपछि उनी शर्माको छेउमा गएर बसे । उनले आफ्नो परिचय दिए- म हरिभक्त दास, यस वार्डको वार्ड सदस्य हुँ । समतामूलक समाज निर्माण गर्ने मेरो लक्ष्य छ । शिक्षक रामजी दासलाई चिन्नु हुन्छ ? शर्माले सोधे । किन न चिन्नु मेरा काका पर्नु हुन्छ, उनले भने । उनले दुई कप चिया मगाए । साहुले काठबाट बनेको सन्नासोले चियाको कप अठ्ठाएर बहिर ल्याए । ती दासले झोलाबाट दुईवटा स्टिलका गिलास झिकि भुइमा राखे । साथी पनि भैरहने हुदा दुईबटा गिलास ल्याएको बताए । साहुले दुई पटक गरि ती भुइमा थापेका गिलासमा चिया खनाए । त्यसबेला उनले प्लेनको लामो यात्रामा तातोतातो रुमाल र केक चिम्टाले समाइ दिएको याद गरेको हुनु पर्छ । किन साहुका कपमा चिया न खाएको भनि शर्माले दासलाई सोधे । साहुले कप पाल्टिको पनीमा चोपेर मात्र निकाल्दछन्,सफा र चोखो हुदैन, उनले सुस्तरी भने । शर्माले उनलाई कुहिनाले धकेल्दै भने – तपाई पनि कस्तो खाटी बाहुन !