लघुकथाः भूल

भेषराजले दराजभित्र हेरे, ओछ्यानमा हेरे, वल्लोपल्लो कोठातिर हेरे तर कतै पनि घडी फेला परेन । उनले सम्झने कोसिस गरे, टेबलको घर्रा पटकपटक खोले । खोज्दाखोज्दा आजित भएपछि श्रीमती र छोरालाई हराएको ठाउँ देखाउँदै भने, “नुहाउँदा यहीं राखेको थिएँ, अहिले छैन ।”

भेषराजलाई मिटिङमा जान हतार भइरहेको थियो । उनी यत्तिकै त्यतैतिर लागे । “तीन वर्षदेखि व्याट्री पनि नफेरेको, रंग पनि नउडेकोे, अहिले बुच्चै देखियो ।” उनी नीलडाम परेको नाडी हेरेर चुकचुकाए ।

उनले बिहान केदार, बुद्धि, हरि आफ्नो कोठामा आएको याद गरे । उनीसँगै मिटिङ थियो । मनमा कुरो खेल्दै थियो, अचानक बाटोमै कदारसित झ्वास्स भेट भो । उनको हातमा पनि त्यस्तै घडी थियो ।

अनायास भेषराजको मुटु चल्न थाल्यो । “खोसेर लिइहालूँ कि नकराइकन बसौं ।” उनी असमञ्जसमा परे । उनले बुद्धि, हरिलाई समेत चोरैचोर अनुहार देख्न थाले । मिटिङभर केदारकै देब्रे हात झल्झली सम्झिरहे ।

घाम नडुब्दे उनी तनावमै घर पुगे । हत्पत्त श्रीमतीलाई केही भन्न खोज्दै थिए, अर्धाङ्गिनीले हातमा तेस्र्याउँदै भनिन्, “यी लिनुस घडी्, ढोकाको कोशमा रहेछ ।”